सुनचाँदीको कारोबार बढ्न थाल्यो,गरगहना बनाउने कालिगढको अभाव

0
Shares

भारतीय तथा बंगलादेशी कालिगढमा आश्रित नेपाली सुनचाँदी बजारमा पछिल्ला दिनहरुमा गरगहना बनाउने कामदारको अभाव झनै बढ्न थालेको छ । कोरोनाका कारण भारत फर्केका कालिगढ लामो समयसम्म पनि फिर्ता नआएपछि अभाव बढ्न थालेको हो ।

नेपाली सुनचाँदी व्यवसायमा करिब ५० प्रतिशत भन्दा धेरै कालिगढ भारतीय र बंलादेशी रहेका छन् । कोरोना माहामारीका कारण काम नभएको र स्वास्थको पनि समस्या हुन सक्ने भएपछि भारत फिर्ता गएका कालिगढ केही कोरोनाको त्रासकै कारण फिर्ता आएका छैनन् भने केही सुन चोरोर भागेका कारण पनि फिर्ता नआएको व्यवसायीको आरोप छ ।

तर, व्यवसायीहरुसंग कालिगढले सुन लगे त्यसैले फर्केनन् भन्नका लागि उनीहरुसंग प्रमाण नभएको अर्को व्यवसायीको भनाई छ । कोरोनाका कारण सुनचाँदीको काम समेत प्रभावित भयो । त्यती मात्र नभई सुन आयात कोटा समेत घटेको अवस्था थियो । धार्मिक तथा सांस्कृतीक कार्यक्रमहरुमा पनि खासै नभएको हँुनाले कालिगढको खासै काम पनि थिएन । साथै यो वर्ष विहेको लगन समेत कम भएकाले पनि सुनचाँदीको कारोबार खस्किएको थियो ।

कोरोनाका कारण लामो लकडाउनमा सुनचाँदी व्यवसायी र कामदारहरु पनि घर भित्र नै बस्नु पर्ने भयो । बाहिरबाट आएका कामदारहरु पनि कहिलेसम्म महामारी कायम रहने हो अनिश्चित भएपछि स्वदेश फर्कन थाले । फकर्नेक्रममा कति कालिगढहरुले आफुसंग भएको सुनचाँदी संगै बोकेर गएको सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बताए । “लकडाउको समयमा इमान्दारिका साथ गएका अधिकांस गालिगढहरु लकडाउन खुल्न साथ आइसकेको अवस्था छ” शाक्यले भने,“तर सुन सहित गएका मध्ये सबै कालिगढ आएका छैनन् ।”

कोरोनाको खोप बनेसंगै धार्मिक तथा सास्कृतीक कार्यक्रमपनि हुन थालेपछि पनि सुनचाँदी व्यवसाय पनि बढ्दै गयो । व्यवसाय सुचारु भएसंगै सुनको माग तथा कालिगढको काम पनि बढ्न थाल्यो । तर, कालिगढ नेपाल नफर्केपछि कोरोनाको त्रास कायमै रहेकाले हो वा सुन फिर्ता गर्नुपर्ने भएर हो भन्नेमा एकिन हुन सकेको छैन् । सुनचाँदी व्यवसायीहरु भने केही इमान्दार कालिगढ फर्केको भएपनि सुन लगेका अधिकासं नफर्केको बताउने गरेका छन् । सुन सहित गएका कालिगढ नफर्कदा जनशक्तीको समेत समस्या देखिन थालेको उनले बताए ।

व्यवसायीहरुले कालिगढ सुन सहित भारत पसे भनेको भएपनि ठोस प्रमाणसहित उजुरी नआएको नेपाल रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनले बताए । “एक दुई पटक गरगहना बनाउँदैमा सुन नै जिम्मा लगाएर काम दिनु व्यवसायी कै कमजोरी हो,” महर्जनले भने,“पछिल्ला दिनहरुमा सुन सहित कालिगढ पलायन भए भन्ने सुन्नमा आएको भएपनि ठोस प्रमाण हामीसँग आइपुगेको छैन ।” कालिगढ सुन सहित भागे भनिए पनि कसले कति सुन लगेको भन्ने प्रमाण नभएको उनले बताए ।

विदेशी कालिगढमा भर पर्नुपर्ने अवस्थालाई सुधार गर्न भन्दै विगत देखि नै दुबै महासंघले अर्धदक्ष नेपाली कालिगढहरुलाई दक्ष बनाउने र विदेशि कालिगढहरुलाई क्रमश प्रतिस्थापन गर्ने नीति लिएका छन् । सो नीति अनुसार महासंघले २०६३ सालदेखि गरगहना बनाउने तालिम सेन्टर सुरु गरेको र अहिले पनि संचालनमा रहेको मणिक रत्न शाक्यले बताए । अहिलेको अवस्थामा करिब आधा कालिगढ नेपालमै उत्पादन भैसकेको समेत उनको दावी छ । स्वेदशी कालीगढ नै प्रयाप्त भएको भए सुन लिएर विदेशीने समस्या नहुने उनको भनाई छ ।

कोरोनाका भाइरसका कारण सुनको माग तथा आपुर्ति नै न्यून हुन थाल्यो । नेपाल राष्ट्र बैंकले पनि सुन आयात दैनिक कोटा २० किलोबाट १० किलोमा सिमित गर्यो । सोही अवधिमा सुनको मूल्य समेत आकाशीएर एक तोलको एक लाख भन्दा माथि पुगेको थियो । कोरोनाका कारण अन्तराष्ट्रिय लगानीकर्ताहरुले सुनलाई सुरक्षीत लगानीको क्षेत्रको रुपमा लिएका थिए ।

तर, कोरोनाको प्रभाव केही कम भएसंगै सुनको मूल्यमा पनि केही गिरावट आयो । अहिले पुन केन्द्रीय बैंकले सुन आयातको दैनिक कोटा २० केजी पुर्याएको छ । सुन आयात कोटा पुर्ववत रुपमा भएपनि माग धेरै भएको हुनाले आपुर्तिमा समस्या रहेको व्यवसायीहरुको भनाई छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।