म्युचुअल फण्डका ६.६० अर्ब रुपैयाँ बराबरको इकाई बिक्रीमा आउने

0
Shares

शेयर बजारमा ज्ञान नभएका तथा प्रतक्ष्य रुपमा समय दिन नभ्याउने लगानीकर्ताहरुका लागि सामुहिक लगानी कोषका ६ अर्ब ६० करोड रुपैयाँ बराबरको ६६ करोड इकाई बिक्रीमा आउने भएको छ ।

विभिन्न ७ वटा व्यवस्थापकले सो परिमाणको इकाई बिक्री गर्न पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । जसमध्ये दुईवटा खुलामुखी फण्ड रहेको छ भने पाँचवटा बन्दमुखी प्रकृतिको फण्डको इकाई जारी हुन लागेको हो ।

बोर्डका अनुसार ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड आई र एनआईबिएल समृद्धि फण्ड आईआई ले समान १२/१२ करोड इकाई जारी गर्न निवेदन दिएका छन् । एनआईसी एशिया सेलेक्ट ३०, एनएमबि सरल बचत फण्ड इ (खुलामुखी), आरबिबि म्युचुअल फण्ड १, र प्रभु सेलेक्ट फण्डले समान १०।१० करोड इकाई जारी गर्न अनुमति माग गरेका छन् । यस्तै सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीम (खुलामुखी) २ करोड इकाई बिक्रीका लागि अनुमति माग गरेको छ ।

बोर्डका अनुसार एनआईसी एशिया सेलेक्ट ३० ले २०७७ कार्तिक २८ गते इकाई जारी गर्नका लागि अनुमति माग गरेको हो । सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीमले गत मंसिर ३ गते र ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड आई र एनआईबिएल समृद्धि फण्ड आईआई ले गत मंसिर २४ गते बोर्डसँग अनुमति माग गरेकोबोर्डले जनाएको छ ।

यस्तै प्रभु सेलेक्ट फण्डले पुस १५ गते, एनएमबि सरल बचत फण्ड ई ले पुस २३ गते तथा आरबिबि म्युचुअल फण्ड १ ले फागुन ११ गते इकाई जारी गर्नका लागि अनुमति माग गर्दै निवेदन दिएको धितोपत्र बोर्डले जनाएको छ ।

S.N. Name of Scheme Name of Fund Fund Manager No. of Units Amount of Issue Date of Application
1 Global IME Balance Fund-I Global IME Mutual Fund Global IME Capital  120,000,000 1,200,000,000 24/8/2077
2 NIBL Samriddhi Fund – II NIBL Mutual Fund NIBL Ace Capital 120,000,000 1,200,000,000 24/8/2077
3 NIC Asia Select-30 NIC Asia Bank Mutual Fund NIC Asia Capital  100,000,000 1,000,000,000 28/7/2077
4 NMB Saral Bachat Fund – E  (Open End) NMB Mutual Fund NMB Capital  100,000,000 1,000,000,000 23/9/2077
5 RBB Mutual Fund 1 RBB Mutual Fund RBB Merchant Banking 100,000,000 1,000,000,000 11/11/2077
6 Prabhu Select Fund Prabhu Mutual Fund Prabhu Capital  100,000,000 1,000,000,000 15/9/2077
7 Siddhartha Systematic Investment Scheme (Open End) Siddhartha Mutual Fund Siddhartha Capital  20,000,000 200,000,000 3/8/2077
Total   660,000,000 6,600,000,000  
  • म्यचुअल फण्ड के हो ?

नेपाली पूँजी बजारमा रहेका विभिन्न वित्तीय औजारहरूमध्ये एक हो, सामूहिक लगानी कोष अर्थात म्युचुअल फण्ड । पोर्टफोलियो मेनेजरद्धारा व्यवस्थापन र सञ्चालन गरिने म्युचुअल फण्डले धेरै स साना लगानीकर्ताहरुबाट छरिएर रहेको पूँजी संकलन गरी निमार्ण गरिएको संकलित एउटा कोष नै म्युचुअल फण्ड हो ।

सामूहिक लगानी कोष दक्ष तथा अनुभवी विशेषज्ञद्वारा सञ्चालन हुने र निकै सुरक्षित तथा लगानीमा हुने जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ । नेपालमा म्युचुअल फण्डलाई नेपाल धितोपत्र बोर्डले नियमन र निरीक्षण गर्दछ । नेपालमा म्युचुअल फण्ड जारी गर्ने, निरीक्षण गर्ने र व्यवस्थापन गर्ने सम्पूर्ण कार्य म्युचुअल फण्ड नियमावली २०६७ ले निर्धारण गरे अनुसार तथा बोर्डले तोके बमोजिम हुने गर्दछ । नेपालमा म्युचुअल फण्ड, म्युचुअल फण्ड नियमावली २०६७ र म्युचुअल फण्ड निर्देशिका २०६९ बाट नियन्त्रित छन् ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र ऐन २०६३ अन्तर्गत जारी गरेको सामूहिक लगानी कोष नियमावली २०६७ अनुसार सामूहिक लगानी कोष योजनालाई दुई किसिमको अवधारणामा व्याख्या गरिएको छ । एक बन्दमुखी योजना र अर्को खुलामुखी योजना ।

सुरुसुरुमा बन्दमुखी प्रकृतिका म्युचुअल फण्ड सञ्चालन रहेकोमा पछिल्लो केही वर्ष यता नेपालमा यस्ता योजनाहरूको संख्यासँगै खुलामुखी प्रकृतिको योजनाहरुको संख्या पनि बढिरहेको पाइन्छ ।

एक हजार रुपैयाँ देखि लगानी गर्न सकिने भएकाले थोरै लगानीबाट लाभ लिन म्युचुअल फण्ड आम लगानीकर्ताका लागि उचित माध्यम बन्न सक्छ । फण्ड संचालक तथा व्यवस्थापकले कोषको रकम जुटाउन सर्वसाधारणलाई फण्डको सानो सानो एकाई बिक्री गर्ने गर्छ ।

साधारणतया म्युचुअल फण्डको प्रति इकाई मूल्य १० रुपैयाँ आधार मानेर बिक्री गरीएको हुन्छ । म्युचुअल फण्डमा लगानी गर्ने लगानीकर्ता शेयर बजारमा जस्तो लगानी डुब्ने, नोक्सानी ब्यहोर्नु पर्ने लगायतका डरको अवस्थामा रहनु पर्दैन ।

साथै म्युचुअल फण्डहरुसँग लगानीको विविधिकरण र कर छुट सुविधाले सामान्य लगानीकर्तालाई सहज बनाउँछ । साथमा दोस्रो बजारमा सहज रुपमा खरिद बिक्री गर्न सकिने भएकाले पनि लगानीकर्तालाई सहज हुन्छ ।

म्युचुअल फण्ड कुनै कम्पनीको मातहातमा नभई मर्चेट बैंकहरु अन्तर्गत सञ्चालन हुन्छन । यस्ता फण्डहरुले शेयर बजार, ऋणपत्र, बन्ड र मुद्धती निक्षेपमा लगानी गरी मुनाफा आर्जन गर्ने गर्छन् ।

खुल्लामुखी म्युचुअल फण्डः

खुल्लामुखी म्युचुअल फण्डमा सञ्चालन अवधिको समयसीमा निर्धारण गरिएको हुँदैन । यस प्रकारको फण्डका इकाईको दोस्रो बजारमा कारोबार हुँदैन । अर्थात नेपालको सन्दर्भमा यस्तो फण्डका इकाई नेप्सेमा सूचीकृत हुन जरुरी छैन ।

यस्तो फण्डमा माग गरे अनुसारको इकाईमा अझै थप गरी कारोबार गर्न सकिन्छ । यस्ता फण्डले बिक्री गर्ने इकाईको निश्चित संख्या पनि हुँदैन । लगानीकर्ताले फण्डको इकाई बेच्न चाहेको खण्डमा कोष स्वंयले उक्त समयको खुद सम्पत्तिमा केहि रकम घटाएर कारोबार गराउँछन् ।

नेपालको सन्दर्भमा अहिलेसम्म एनआईबिएल एस क्यापिटलले ‘एनआईबिएल सहभागिता फण्ड’ नामक पहिलो खुलामुखी योजना सञ्चालन गरिरहेको छ । एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा एनआईसी एशिया डायनामिक डेब्ट फण्ड गरी दुई वटा खुलामुखी योजना हाल सञ्चालनमा रहेका छन् ।

बन्दमुखी म्युचुअल फण्डः

बन्दमुखी म्युचुअल फण्ड सञ्चालन अवधि तोकिएर सञ्चालनमा आउँछ । सर्वसाधारणमा इकाई निष्काशन गर्दा नै उक्त फण्ड कति समयका लागि सञ्चालन हुने भन्ने तोकिएको हुन्छ । सर्वसाधारणमा प्रति इकाई १० रुपैयाँका दरले इकाई निष्काशन हुन्छ । सर्वसाधारणमा इकाई निष्काशन भएपछि दोस्रो बजारमा कारोबारका लागि फण्डका इकाईहरु नेप्सेमा सूचीकरण गराइन्छ ।

यस प्रकारको फण्डमा साधारणतया ५ बर्ष देखि १५ वर्षको अवधि तोकिएको हुन्छ । नेपालको सन्दर्भमा धेरै फण्डहरु ७ देखि १० वर्ष अवधिको समयका लागि सञ्चालनमा छन् । अहिले नेप्सेमा १८ वटा बन्दमूखी म्युचुअल फण्डहरु सूचीकृत भई नियमित रुपमा इकाईहरुको कारोबार भईरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ चैत २०७७, आइतबार  १७ : १२ बजे