तेस्रो त्रैमासिक कर असुलीले तरलतामा दबाव, अन्तरबैंक दर ३ प्रतिशत

0
Shares

चालु आर्थिक वर्षको तेस्रो त्रैमास सकिएसंगै बैंकहरुमा तरलता कसिलो अवस्थामा पुगेको छ । सरकारले तेस्रो त्रैमासको कर असुल्न थालेसंगै वित्तीय प्रणालमिा तरलतामा दबाव पर्न थालेको हो।

चैत महिनाको अघिल्लो सातामा ०.४३ प्रतिशत रहेको अन्तर बैंक ब्याजदर गत सातामा करिब ३ प्रतिशत रहेको छ । अन्तर बैंक ब्याजदर बढ्नु भनेको बैंकहरुमा तरलताको दबाव बढ्दै गएको हो । वित्तीय प्रणालीमा अधिक र न्यून तरलताको मापन अन्तर बैंक दरबाट पनि हुने गर्छ।

चैत महिनामा सरकारले राजस्व संकलनमा दवाब दिएसंगै बैंक वित्तीय संस्थाको निक्षेप सरकारी ढुकुटीमा जाने भएकाले पनि तरलतामा दबाव पर्ने भएको हो । चैत महिनाको चौथो सातामा बैंकहरु २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।

पछिल्लो समयमा कर्जाको माग उच्च छ । कर्जाको माग अनुसारको सम्बोधन गर्न नसक्दा बैंकहरुले छनोट गरेर दिन थालेका थिए । कोरोनाका कारण प्रभावित भएको आर्थिक क्षेत्रले गति लिएसँगै बैंकहरुमा कर्जाको माग बढेपछि बैंकहरु पनि कर्जा विस्तारमा आक्रमक भएका हुन् । बैंकहरुले कर्जा विस्तार गर्ने गति चैतकोे चौथो सातामा पनि आक्रामक नै देखिएको छ।

फागुन महिनामा ४० अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले चैत महिनाको चौथो सातामा मात्र २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । बैंकहरुले चैतको एक गतेदखि २७ गतेसम्म ८७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यो अवधिमा बैंकहरुले १२३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।

चैत महिनाको अन्तिमसम्म सरकारी खर्च नवढेको खण्डमा तरलतामा समस्या पर्ने बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले बताए । अहिले बैंकहरुको औसत पूँजी, कर्जा तथा निक्षेप अनुपात पनि दैनिक रुपमा बढीरहेको छ । पछिल्लो समयमा सस्तो ब्याजदरका कारण पनि कर्जाको माग उच्च देखिएको हो।

पछिल्ला दिनहरुमा कोरोनाको दोस्रो लहरको हल्लाले गर्दा आम जनमासनमा त्रास बढेको अवस्था छ । यसले गर्दा आगामी दिनमा कर्जाको मागमा कमी आउन सक्ने जोखिम भने देखिन्छ । चैत २७ गतेसम्ममा वाणिज्य बैंकहरुले कुल ३९ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छन् । यो अवधिमा बैंकहरुले ३५ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।