निर्देशन नमान्ने बीमा कम्पनीहरुप्रति कडाई गर्ने पक्षमा बीमा समिति

0
Shares

बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले निर्जीवन बीमा कम्पनीमा थुप्रै समस्या रहेको भन्दै बीमा समितिको नीति निर्देशन र सुझाव नमान्ने कम्पनीहरुप्रति कठोर रुपमा प्रस्तुत हुने संकेत गरेका छन् ।

मंगलबार सगरमाथा इन्स्योरेन्सको प्रडक्ट लञ्च कार्यक्रममा आफ्नो मन्तब्य राख्दै समितिका अध्यक्ष सिलवालले निर्जीवन बीमा कम्पनीहरुले व्यवसाय थालेको करिब तीन दशक पुराना भइसक्दा पनि नियम, कानुनीको पालना नगर्ने प्रवृत्ति देखिएको भन्दै सुधारिन चेतावनी दिए ।

बीमा समितिले बारम्बार सचेत गराउँदा पनि पहिले केही हुँदैन भन्ने मानसिकताका साथ ऐन तथा व्यवस्थाका विरुद्ध हेपाहा प्रवृत्ति बढेको उनको बुझाई छ । सिलवालले निर्जीवन बीमा कम्पनीहरुलाई अब पनि केही हुँदैन भन्ने सोच त्याग्न सचेत गराए ।

सिलवालले भने “निर्जीवन बीमा क्षेत्रतर्फ ठू-ठूला समस्याहरु, कानून उल्लंघन गरी भईरहेका कामहरु छन् । उधारोमा बीमा गर्ने, प्राइस कटिङ, दाबी भुक्तानी तत्काल नहुने, मिलेमतोमा दाबी भुक्तानी, ठूला भुक्तानीमा अटेर गर्ने समस्या निर्जीवन बीमा कम्पनीमा देखा परेका समस्या हुन् । ”

उनले समितिले तोकेको दर भन्दा तल रहेर कारोबार गर्न हुँदैन भनेर ऐनले व्यवस्था गरेपनि २५ वर्ष पुराना कम्पनीले समेत उधारो बीमा गर्ने अभ्यास देखिएको बताए । जबसम्म पैसा हुँदैन तबसम्म पोलिसी जारी हुन सक्दैन भन्ने व्यवस्था ऐनले गरेपनि केही कम्पनीहरुले रकम नलिगि पोलेसी जारी गर्ने गरेको उनको भनाई छ । समस्या समाधानका लागि ऐन तथा निर्देशिका जारी गरेको तथा अन्तरक्रिया मार्फत पनि उधारोमा बीमा नगर्न निर्देशन दिएपनि निर्जीवन बीमा कम्पनीहरुले मान्ने नगरेको उनले बताए ।  उनले भने “अहिले पनि मिलेमत्तो छैन भुक्तानी हुँदैन, मिलेमत्तो छ भुक्तानी हुन्छ, जहाँ मिलेमत्तो छ समय भन्दा पहिले नै भुक्तानी हुन्छ ।”

कार्यक्रममा सिलवालले बीमा कम्पनीहरु शहरकेन्द्रीत भएको प्रति चर्को पनि आलाचना गरे । उनले भने “ बीमा काठमाडौँमा मात्रै हुने हो ?, यहि मात्रै मान्छे बस्छन् ?, यहि मात्रै सम्पत्ति हुन्छ भन्ने त पक्कै नहोला । हामी ५० औँ वर्षको इतिहासमा २३ प्रतिशतमा पुग्यौं। त्यसमा पनि लड्दै, घिस्रिदै पुगेका हौँ जस्तो लाग्छ मलाई । बैंकको पहुँच ८० प्रतिशतमा पुग्यो । बैंक भन्दा बीमाको सेवा महत्वपूर्ण हुन्छ । ”

बीमा समितिले बाटो देखाउने बताएका सिलवालले कम्पनीहरुले नै एक्सन देखाउनुपर्ने बताए । बीमा कम्पनीहरुले गाउँ-गाउँमा गएर बीमाको सचेतना फैलाएर आफ्नो प्रोड्क्टको बारेमा, फाइदाका बारेमा, यसबाट हुन सक्ने भोलिको क्षतिको न्यूनिकरणको बारेमा कन्भिन्स गर्न सकेको खण्डमा व्यवसाय विस्तार गर्न सहज हुने उनको भनाई थियो ।

उनले अझैपनि बीमा गराउनका लागि व्यक्ति आफैँ बीमा कम्पनीहरु आउनुपर्ने अवस्था रहेको बताउँदै उनले भने “बीमा गराउनको लागि म बीमा कम्पनी जानुपर्ने हो कि बीमा कम्पनी म कहाँ पुग्नुपर्ने हो । मैले पैसा लिएर बीमा कम्पनी पुग्नुपर्ने हो कि बीमा कम्पनी म कहाँ आउनुपर्ने हो ? व्यक्तिहरुलाई कन्भिन्स गर्न कम्पनी स्वयं व्यक्ति कहाँ पुग्नुपर्छ ।”

नेपालको बजारमा एउटा बीमा कम्पनीले ल्याएको पोलिसी अर्कोले कपि गर्ने प्रवृत्ति भएपनि सगरमाथा इन्स्योरेन्सले अन्य कम्पनीभन्दा भिन्न खालको नयाँ पोलिसी ल्याएकोमा खुशी व्यक्त गर्दै समितिले नयाँ काममा कम्पनीहरुलाई समिितले साथ र सहयोग गर्ने बताए ।

बीमा व्यवसाय विजनेशको भ्यालु अनुसार, कम्पनीहरुले आफ्नै मान्यता अनुसार व्यवसाय लिने बताउँदै उनले आफ्ना सेवाहरुलाई प्रविधिमैत्री बनाए अनुसार कम्पनीहरुले तोकिएको समयमा नै काम सम्पन्न गर्न सक्ने धारणा राखे ।

  • सगरमाथा इन्स्योरेन्सलाई कम्पनीकै कार्यक्रममा अध्यक्षले पढाए पाठ

समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सगरमाथा इन्स्योरेन्सकै कार्यक्रममा यसअघि कम्पनीले गरेको गल्तिलाई औंल्याउँदै अबदेखि त्यस्तो नगर्न चेतावनी दिएका हुन् ।

सगरमाथाको नाम नलिएपनि निर्जीवन बीमा कम्पनीहरुसँग मुछेर उनले सगरमाथा इन्स्योरेन्सलाई गतिलो पाठ पढाएका हुन् ।  बीमा समितिले आर्थिक वर्ष २०७५/७६ मा गरेको स्थलगत निरीक्षणमा सगरमाथा इन्स्योरेन्स कम्पनीले बीमा समितिले जारी गरेको नीति निर्देशन पालना नगरी व्यवसायिक क्रियाकलाप गर्दै आएको पाइएको थियो ।

स्थलगत निरीक्षण टोलीले समितिमा पेश गरेको ३३ पृष्ठ लामो प्रतिवेदनमा कम्पनीले बीमाशुल्क बिनै उद्यारोमा बीमा गरेको, प्रस्ताव फारम नभरीकनै कानुन विपरित पोलिसी जारी गरेको, सम्पत्ति शुद्धीकरण निर्देशिकाको बर्खिलाप गरेको, कमजोर संस्थागत सुशासन, पशु, बाली तथा लघुबीमा मनमरी गरेको र सीमित सर्भेयरमा निर्भर रहेको जस्ता कैफियत देखिएको भन्दै कम्पनी उच्च जोखिममा रहेको प्रतिवेदनमा औंल्याइएको थियो ।

बीमा समितिकै स्थलगत निरीक्षणमा सगरमाथामा थुप्रै कमी कमजोरीहरु फेला परेको भएपनि शक्तिको आडमा कम्पनी उपर कारवाही प्रकृया अगाडि बढ्न सकेको थिएन । तत्कालीन अध्यक्ष चिरञ्जिवी चापागाईसँगको कम्पनी सञ्चालक तथा व्यवस्थापकको सम्बन्ध रहेका कारण सगरमाथा उच्च जोखिम रहँदा रहँदै पनि कारबाहीबाट जोगिएको चर्चा बीमा बजारमा अहिले पनि हुने गरेको छ ।

स्थलगत प्रतिवेदनमाथि कारवाही नगरेपछि नोटबजारमा यसअघि प्रकाशित समाचार पढ्नुहोस्..

नियम उल्लंघन गरेको २ वर्ष बित्दा समेत समितिले सगरमाथा इन्स्योरेन्सलाई कार्वाही गर्न सकेन

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३१ चैत २०७७, मंगलबार  १७ : १० बजे