म्युचुअल फण्ड, भेन्चर क्यापिटल, प्राइभेट इक्वीटीमा करको अन्यौलता हटाइनुपर्छ: मेख थापाको अन्तरवार्ता


सामुहिक लगानी कोषको सुरुवातकर्ताको पहिचान बनाएका मेख बहादुर थापा मर्चेन्ट बैंकर एसोसिएशनको अध्यक्षको जिम्मेवारीमा पनि छन् । सामूहिक लगानी कोष नियमावली २०६७ आएपछि पहिलो बन्दमुखी योजना सञ्चालनमा ल्याएका थापाकै नेतृत्वमा नेपालकै पहिलो खुलामुखी योजना पनि सञ्चालन भईरहेको छ ।

हाल नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआइबीएल क्यापिटल लिमिटेडमा डेपुटी प्रमुख कार्यकारी अधिकृत रहेका थापाको नेतृत्वमा एनआइविएल म्युचुअल फण्डको नयाँ बन्दमुखी योजना निष्काशन सुरु भएको छ । सामुहिक लगानी कोषको भविष्य खुलामुखी योजनामा रहेको बताउने थापा धितोपत्र बजारलाई सरकारी नीति निर्माण तहले सकारात्मक रुपमा नहेर्दा समस्याका चाङ बढ्दै गएको बताउँछन् ।

सामुहिक लगानी कोष, भेन्चर क्यापिटल तथा प्राइभेट इक्वीटीको सन्दर्भमा करका विषयमा रहेको दुविधा स्पष्ट हुनु पर्नेमा जोड दिने थापा आगामी आर्थिक वर्षको बजेट मार्फत टुङगो लाग्नेमा आशावादी छन् । सामुहिक लगानी कोषले मुद्दती निक्षेपबाट हुने ब्याज आम्दानी भन्दा धेरै प्रतिफल दिन थालेकाले पनि बन्दमुखि योजना स्थापित भएको दावी गर्ने थापा एनआईबिएल समृद्धि फण्ड २ लाई पनि विगतका योजना जस्तै स्थापित बनाउने बताउँछन् ।

एनआईबिएल समृद्धि फण्ड २ का इकाई निष्काशन सुरु भएको सन्दर्भ पारेर समग्र सामुसहक लगानी कोष, मर्चेन्ट बैंकिङ व्यवसाय तथा पूँजी बजारको पछिल्लो अवस्थाको बारेमा नोटबजारका परमेश्वर अधिकारीले गरेको कुराकानी:

तपाइले धितोपत्र बोर्ड छोड्दै गर्दा सामुहिक लगानी कोषका लागि आवश्यक कानुनी व्यवस्था भर्खरै मात्र भएको थियो । बोर्ड छोडेको एक दशक अवधिमा नीजि क्षेत्र प्रवेश गर्दाको उद्देश्य र आजसम्मका हासिल भएका उपलब्धिले सन्तुष्ट हुनुहुन्छ ?

धितोपत्र बोर्ड छाड्दा पनि बोर्डकै नियमन क्षेत्र भित्र रहेको पूँजी बजारमा नै सक्रिय हुने उद्देश्य थियो । धितोपत्र बोर्डबाट बाहिर आएको भए पनि पूँजी बजारभन्दा बाहिर रहेको छैन । त्यसैले पनि पूँजी बजारको विकास र विस्तारका लागि कुनै एक संस्थाको नेतृत्वमा रहेर निरन्तरता दिएकै छु । यो अवधिलाई हेर्दा धितोपत्रबोर्डका नीति नियमहरु कार्यन्वयन गर्न तथा बजारका लागि आवश्यक समय सापेक्ष विकास तथा विस्तारका लागि केही काम गरियो भन्ने लाग्छ ।

बजारका लागि आवश्यक नयाँ पुवार्धार तथा औजारका विषयमा धितोपत्र बोर्डसँग सहकार्य गरेर अभ्यासमा समेत ल्याइएको छ । यो अवधिमा पूँजीबजारका नयाँ पुर्वाधार तथा औजारका लागि आवश्यक नीति तथा कानुन निर्माण देखि कार्यान्वायन र त्यसलाई अभ्यसमा समेत ल्याउन सफल पनि भइएको छ । एक दशक अघि र आजको बजार हेर्दा धेरै विकास र विस्तार भैसकेको छ । आफुले बजारलाई गरेको धेरै थोरै योगदानलाई समिक्षा गर्दा त खुसी नै लाग्छ । तर, विकास र विस्तार भएको बजारमा अझै धेरै काम गर्न बाँकी नै छ । अन्तराष्ट्रिय अभ्यासमा रहेको पूँजी बजारमा नयाँ कुराहरुलाई भित्राउने तथा अभ्यासमा ल्याउन धितोपत्र बोर्ड तथा अन्य सरोकारवालहरुसँग सहकार्य गरेर आधुनिक बजारको विकास गर्ने योजना छ ।

सामुहिक लगानी कोष नियमावली २०६७ आए पछि पहिलो सामुहिक लगानी कोषको योजना तपाईको डिजाइनमा आएको हो । पर्याप्त कानुनी व्यवस्थाहरु नहुँदै गर्दा सामुहिक लगानी कोषको योजना सम्भव देख्नु भएको तपाइले आजको अवस्थालाई कसरी समिक्षा गर्नु भएको छ ?

मैले सामुहिक लगानी कोषको योजना सुरु गर्ने तयारी गर्दै गर्दा सामुहिक लगानी कोष नियमावी मात्र आएको थियो । त्यो अवधिमा सामुहिक लगानी कोष निर्देशिका पनि आएको थिएन । हामीले योजना सञ्चालनको तयारी गर्दै गर्दा निर्देशिका आएको हो । त्यो निर्देशिका पनि हामीले काम गर्ने क्रममा देखिएका समस्यालाई समावेश गर्ने गरी सुझाव दिएपछि मात्र आएको हो । त्यो समयमा धितोपत्र बोर्डको योगदान पनि निकै फलदायी रहेको थियो । बजारका सबै सरोकारवालाहरुको एक आवाजका कारणले पनि सामुहिक लगानी कोषको सफल सुरवात भएको हो । सुरुवाती चरणमा सबै क्षेत्रको सहकार्य अत्यन्तै सकारात्मक थियो । त्यसले गर्दा पनि अहिले करिब २२ देखि २४ अर्ब रुपैयाँ बरावरको सामुहिक लगानी कोषका योजनाहरु सञ्चालनमा छन् । करिब आधा दर्जन सामुहिक लगानी कोषका योजनाहरु परिपक्व भएर इकाइधनीलाई फिर्ता पनि भैसकेको अवस्था छ । एनआइबिएल म्यूच्यूअल फण्डको पहिलो योजना एनआइबीएल समृद्धि फण्ड आगामी पुसमा परिपक्व हुदैछ ।

यो अवधिमा धितोपत्रको दोस्रो बजारको चक्र अनुसार घट्ने बढ्ने त भई नै रह्यो । नेपालको धितोपत्र बजारमा सामुहिक लगानी कोष स्थापित औजारको रुपमा चिनिन थालेको छ । यो धेरै सकारात्मक पक्ष हो । सामूहिक लगानी कोषको पहिलो चरण सफल भएको छ ।

अब हामी सामुहिक लगानी कोषको दोस्रो चरणमा प्रवेश गरेका छौ । दोस्रो चरणमा खुलामुखि योजनालाई स्थापित गर्नु पर्नेछ । खुलामुखि योजना भर्खर मात्र सञचालनमा आउन थालेका छन् । खुलामुखि योजनामा पनि म आफैले नेतृत्व लिएर एनआइबीएल सहभागित फण्ड नामक पहिलो योजना सञ्चालनमा ल्याएको छु । यो बिचमा अन्य खुला मुखि योजनाहरु पनि सञ्चालनको तयारीमा छन् । बजारमा कुनै पनि नयाँ कुराको लागि “फस्र्ट मुभर” हुनु राम्रो हो । तर, त्यसका लागि कम्तीमा प्रतिस्पर्धि वातावरण पनि आवश्यक हुन्छ । त्यसैले अरु खुल्लामुखि योजनाहरुलाई स्वागत गर्न आतुर छौं ।

कोषको आकार, लचकता, किनबेच गर्न सहज, तरलता लगायका हिसाबले पनि सामुहिक लगानी कोषको भविष्य भनेको खुलामुखि योजना नै हो । यसमा धितोपत्र बोर्डले पनि सहज रुपमा “सर्पोट” गरेको छ । त्यसका अलावा सरकारले पनि सहयोग गरेको खण्डमा खुलामुखि योजना पनि स्थापित हुन थप मद्दत पुग्ने देखिन्छ । सरकारले सामूहिक लगानी कोषमा लगानी गर्दा कर योग्य आम्दानीबाट घटाउन पाउने व्यवस्था गरेको खण्डमा खुलामुखि योजनालाई स्थापित गर्न सहज हुन्थ्यो । यो व्यवस्थाले पूँजी परिचालनलाई पनि सहज बनाउने देखिन्छ ।

तपाइ अहिले मर्चेन्ट बैंकर संघको अध्यक्ष पनि हुनुहुन्छ । हालका कानुन, तथा नीति निर्देशनहरु सामुहिक लगानीका लागि पुर्ण सहयोगी छन भन्ने अवस्था पनि देखिएन । दोस्रो चरणमा रहेको सामुहिक लगानी कोषलाई स्थापित गर्न संघको नेतृत्वमा रहेर बजारका लागि गर्नु पर्ने काम के के देख्नु भएको छ ?

हामीले पूँजी बजारमा नविनतम औजारहरु ल्याउनमा मद्दत गर्ने हो । त्यसका साथै धितोपत्र बोर्डलाई कुनै पनि नीति तथा नयाँ कुराहरुको कार्यान्वयका चरणमा देखिएका जटिलतालाई सहजिकरण गर्न अनुरोध गरेर अघि बढ्ने हो । धितोपत्र बजारमा नयाँ औजार प्रवेश गराउँदै गर्दा नियामक निकायले बनाउने नीति तथा कानुनहरुमा सुझाव दिने तथा त्यसको कार्यान्वायनका लागि आवश्यक पहल गर्ने नै हुन्छ । यसमा नियामक निकायले बजारका लागि आवश्यक नया नीति तथा कानुन तय गर्दै गर्दा नीजि क्षेत्रलाई पनि सँगसँगै हातेमालो गरेर जानु पर्ने हुन्छ । जसले नीतिको कार्यान्वायन पक्ष सहज बन्छ ।
नेपालको सन्दर्भमा नियामकहरुले नीति तथा कानुन बनाउन सम्बन्धित पक्षहरुसँग पर्याप्त छलफल नगर्ने अभ्यास धेरै छ । बजारमा नयाँ “प्रडक्ट” ल्याउदै गर्दा धितोपत्र बोर्ड मात्र नभई अन्य निकायहरुको पनि सहयोग आवश्यक हुन्छ । त्यस्तो अवस्थामा नियामक निकायहरु विच समन्वयको अभावका कारण पनि धेरै जटिलताहरु देखिने गरेको छ ।

सामुहिक लगानी कोषको सन्दर्भमा पनि नियामकको समन्वयको अभाव देखिएको थियो । धितोपत्र बोर्डले सामुहिक लगानी कोषको व्यवस्था त गर्यो । तर, त्यसलाई नेपाल राष्ट्र बैंक, बीमा समिति तथा कर सम्बद्ध कार्यालयहरुले चिनेको अवस्था थिएन । त्यस्तो अवस्थामा सामुहिक लगानी कोष सञ्चालनमा ल्याइयो । पछि सरकारी बजेटमा पार्न, बीमा समितिको लगानी नीतिमा पार्न, राष्ट्र बैंकको निर्देशिकामा ल्याउन पहलहरु भए ।

अहिलेको अवस्थामा हामीले प्राइभेट इक्वीटी तथा भेञ्चर क्यापिटल ल्याउने तयारी गरिरहेका छौं । यसमा पनि त्यस्तै अवस्था दोहोरिन्छ की भन्ने डर लागेको छ । त्यसैले हामीले बारम्बार धितोपत्र बोर्ड मार्फत यो विषयको उठान गरिरहेका छौं । सरकारले बजेट पनि ल्याउने तयारी गरिरहेको अवस्था हुनाले बजेटमा पनि प्राइभेट इक्वीटी र भेञ्चर क्यापिटलको स्न्दर्भमा सम्बोधन गरिनु पर्छ भनेर भनिरहेका छौ । यसको सन्दर्भमा कर मिलान कसरी हुन्छ भन्ने दुविधा अहिले नै स्पष्ट हुनु पर्छ भन्ने हो ।

आगामी आर्थिक वर्षको बजेट मार्फत सामुहिक लगानी कोषमा लगानी गरेका इकाईधनीले व्यहोर्दै आएको दोहोरो कर हटाउने विषयमा स्पष्ट नीति आउछ भन्ने आशा छ । “फण्ड लेभल” मा कर नलाग्ने, दोहोरो कर नलाग्ने र सामुहिक लगानी कोष भनेको “पास थ्रुरु इन्टिटि” हो भन्ने कुरा स्थापित हुन्छ भन्नेमा विश्वस्त छौँ । भेन्चर क्यापिटल र प्राइभेट इक्वीटीको सन्दर्भमा पनि यस्ता खालका दुविधा स्पष्ट हुनु पर्छ भन्ने हो ।

सरकारले प्राथमिकतामा राखेर भेन्चर क्यापिटल र प्राइभेट इक्वीटीलाई गत आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत समावेश गरेको छ । त्यसका लागि धितोपत्र बोर्डले पनि आवश्यक कानुनी व्यवस्थाहरु गरिसकेको अवस्था छ । त्यसैगरी नेपाल राष्ट्र बैंकले पनि त्यस सन्दर्भमा आवश्यक सम्बोधन गरिसकेको अवस्था छ । त्यसैले करका विषयहरु स्पष्ट नभई सञ्चालनमा आएको खण्डमा चल्न सक्ने अवस्था नै रहँदैन । दोहोरो करको व्यवस्था कायम रहेको खण्डमा फण्ड लेभलमा ३० र कम्पनीमा फेरी ३० प्रतिशत गरी ६० प्रतिशतसम्मको कर लगाउँदा यी योजनाहरु सञ्चालन हुने सम्भावना रहँदैन ।

अन्तराष्ट्रिय अभ्यासलाई हेर्दा पनि यस्ता योजनाहरुको सुरुवाती चरणमा धेरै सहुलियत दिएको अवस्था छ । कतिपय देशहरुमा अहिले पनि त्यस्ता खालका सहुलियतहरु कायम नै छन् । अमेरिकामा सामुहिक लगानी कोष सञ्चालनमा सुरुवाती चरणमा बैंकमा जम्मा गर्दा थोरै ब्याज भएपछि सामुहिक लगानी कोषतर्फ पैसा जान्छ भनेर बैंकहरुले निक्षेपमा दिने ब्याजदर नै घटाएको अवस्था रहेछ ।

नेपालको सन्दर्भमा नीति निर्माण तहमा रहेका व्यक्तिहरुमा धितोपत्र बजार भनेको अनुत्पादक हो, “बबल” मात्र सृजना गर्छ भन्ने बुझाई भएको हुनाले यस्ता विषय पछि परेका हुन् । भन्नलाई अर्थतन्त्रका दुई पाटा पूँजी बजार र मुद्रा बजार भनेर भन्ने गरिन्छ । तर, नेपालको सन्दर्भमा पूँजी बजारलाई खासै प्राथमिकतामा राखेको देखिन्न ।

सैद्धान्तिक रुपमा जाँदा पनि अर्थतन्त्रका लागि दीर्घकालिन पूँजीका लागि पूँजी बजार र अल्पकालिन पूँजीका लागि मुद्रा बजार भन्ने हो । त्यसमा अचम्म लाग्ने कुरा के छ भने धितोपत्रको प्राथमिक बजार उत्पादनमुलक हो रे दोस्रो बजार चाँही अनुत्पादक भन्ने परिभाषा त मिलेन नि । दोस्रो बजार चलायमान नभएको अवस्थामा प्राथमिक बजारमा चहलपहल आउँदैन ।

सरकारी आयोजनाहरुमा पनि पूँजी बजारमार्फत सर्वसाधारणको पैसा लगानी भएको अवस्था छ । त्यसैले नीति निर्माणको तहमा बस्ने अधिकारीहरुले पूँजी बजार पनि पूँजी संकलन गर्ने स्रोत रहेछ भनेर बुझ्नु जरुरी छ । पूँजी बजारलाई पनि प्राथमिकतामा राखेको खण्डमा बचतलाई परिचालन गर्ने माध्यम रहेछ भन्ने सोचको विकास भएमा पूँजी बजारको महत्व स्थापित हुन्छ ।

धितोपत्रको बजारमा पछिल्लो समयमा देखिएको सामुहिक लगानी कोषको उपस्थिती अपेक्षित हो त ?

सामुहिक लगानी कोषको सुरुवाती चरणमा ठुलो “स्केल” मा चल्न गाह्रो हुन्छ कि भन्ने नलागेको होइन । हामीले ल्याएको पहिलो योजना ५० करोड रुपैयाँ बरावरको थियो । त्यसलाई बिक्री गर्न पनि निकै गाह्रो भएको थियो । त्यति मात्र होइन, त्यसरी संकलन गरेको पैसा लगानी गर्न समेत निकै चुनौतिपुर्ण अवस्था थियो । तर, अहिले समग्र पूँजी बजारमा देखिएको विकासले बजारलाई चलायमान बनाएको देखिन्छ । अबका दिनमा धेरै संस्थागत लगानीकर्तादेखि सामुहिक लगानीकोषहरु सञ्चालनमा छन ।

अहिले धितोपत्र बजार पुर्ण “डिजिटलाइज्ड” भएको छ । छिट्टै नै डेरिभेटिभ बजार पनि खुल्छ जस्तो देखिन्छ । समग्रमा भन्नु पर्दा बजारको विकाससँगै सामुहिक लगानी कोषका योजनाहरुको सहभागिता पनि बढ्दै गएको छ । दिर्घकालीन योजना सहित सामुहिक लगानी कोषमा लगानी गर्दा घाटा हुदैन भन्ने सन्देश स्थापित गर्न सफल भएको छ । त्यसका साथै बैंक वित्तीय संस्थामा राखिने मुद्दती निक्षेपले भन्दा सामुहिक लगानी कोषले प्रतफिल धेरै दिएको अवस्था छ ।

सामहिक लगानी कोषको “कन्सेप्ट” नै मुद्दती निक्षेपको भन्दा धेरै प्रतिफल दिएर पैसा आकर्षित गर्ने हो । यसले गर्दा पनि धितोपत्र बजारमा प्रत्यक्ष रुपमा लगानी नगर्ने र बचत परिचालन गर्न चाहनेहरुका लागि सामुहिक लगानी कोष स्थापित वित्तीय औजार हो । यसमा हामीले विकास गर्नु पर्ने भनेको खुलामुखि योजनालाई पनि यसैगरी स्थापित गर्ने र क्षेत्रगत फण्डहरु सञ्चालन गर्न जरुरी छ । त्यसका साथै हामीले इण्डेक्स नै गणना गरेर राम्रो सूचक तय गर्न सकेको खण्डमा सुचक फण्ड पनि ल्याउन सकिन्छ । यी कामहरु गरे पछि मात्र विकासको क्रममा नै रहेको सामुहिक लगानी कोषको बजार परिपक्वता तर्फ लाग्ने देखिन्छ ।

एक दशक भैसक्दा पनि सामुहिक लगानी कोषमा लगानी गर्दा “ट्याक्स बेनिफिट” को विषय पनि सम्बोधन हुन सकेको छैन भने धितोपत्र बजारलाई सन्तुलित बनाउनु पर्ने काम नगरेको, बजारमा लगानी नगरी बैंक वित्तीय संस्थामा मुद्दती राखेर ब्याज खाएको भन्ने आरेप लाग्ने गर्छ, यसको वास्तविकता के हो ?

सामुहिक लगानी कोषको सञ्चालनका क्रममा केही कमी कमजोरीहरु नभएका होइनन्, छन् । सामुहिक लगानी कोषप्रतिको बुझाई तथा कार्यान्वायनमा देखिएको समस्याले गर्दा पनि कमजोरीहरु देखिएका हुन् ।

सामुहिक लगानी कोष सञ्चालनमा आउँदा कर ऐनमा सामुहिक लगानी कोष भन्ने शब्द नै थिएन । पछि हामीले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम सञ्चालनमा ल्याएको वर्षको बजेट मार्फत सामुहिक लगानी कोष कर एनेमा छिर्यो । त्यसमा पहिलो कुरा स्रोतमा कर कट्टी गर्नु पर्दैन भनेर स्पष्ट भनिएको छ । सामुहिक लगानी कोषको आम्दानी भनेको लाभांश, ब्याज र पूँजीगत लाभ मात्र हो । यो तीनै आम्दानीमा अग्रीम कर कट्टी गर्नु पर्दैन भनेर कर ऐनले भनेको छ ।

कम्पनीले शेयरधनीलाई लाभांश दिन्छ । तर, सामुहिक लगानी कोषले इकाईधनीलाई प्रतिफल दिन्छ । लाभासं र प्रतिफलमा फरक छ । प्रतिफल बाँड्दा व्यक्तिको हकमा ५ र संस्थाको हकमा १५ प्रतिशत स्रोतमा कर कट्टी गर्ने व्यवस्था छ । तर, लाभांस भएको खण्डमा सबैलाई ५ प्रतिशत व्यवस्था छ । तर, प्रतिफलमा संस्थाको हकमा १५ प्रतिशत अन्तिम होइन भनिएको छ । व्यक्तिका हकमा लाभांसमा पनि ५ प्रतिशत अन्तिम हो ।

हामीले कर कार्यलयसँग पर्याप्त छलफल गरेर यस्तो व्यवस्था गरिएको हो । कर कार्यलयले पत्र मार्फत पनि सामुहिक लगानी कोषलाई कर तिर्ने निकाय नभएको तर यसले वितरण गर्ने प्रतिफलमा कर लाग्ने भन्दै आएको छ । यस्तो समझादरीबाट केही समय चल्यो । तर, पछि आएर महालेखाले बेरुजु देखायो । महालेखासँग सम्पर्क गर्दा हामीले कर कार्यालयलाई मात्र भनेको हो भनिदियो । यसमा हामी बारम्बार छलफल गरीरहेको अवस्था छ । छलपल चलिरहेका बेला कर कार्यलयको चिठी आउने क्रम पनि जारी छ । यसपटक करको सन्दर्भमा स्पष्ट गर्नका लागि विगतको तुलनामा धेरै अभ्यास भएको छ । सामुहिक लगानी कोषसँगै भेन्चर क्यापिटल र प्राइभेट इक्वीटीको सन्दर्भमा पनि करको विषयमा स्पष्ट होस भन्ने हो ।

मुद्धतीमा निक्षेप राखेको भन्ने सन्दर्भमा बैंक वित्तीय संस्थाको मुद्दती खातामा म्युचुअल फण्डहरुले तोकिए भन्दा धेरै रकम जम्मा गरेपछि धितोपत्र बोर्डले केही योजनाहरुलाई कारबाही नै गरेको अवस्था हो । सामुहिक लगानी कोषका योजना सञ्चालन गर्ने क्रममा विभिन्न चरणहरु हुन्छन् । सर्वसाधारणबाट पैसा संकलन गर्दा सबै पैसा बैंकमा नै जम्मा हुन्छ । त्यस पछि पनि लगानी गर्दा त्यो रकम चलाउन केही समय लाग्छ । त्यसैले नियमले पनि मुद्दती निक्षेपको १० प्रतिशतको सीमा तोकेको हो, तर कल निक्षेपलाई तोकेको छैन् । नियमको पालना नगर्नेलाई कारबाही हुनु पर्छ भन्ने मेरो मान्यता हो ।

अर्को विषय, सामुहिक लगानी कोषले दोस्रो बजारलाई सन्तुलित बनाउन भन्दा पनि नाफा “बुक” गर्न केन्द्रित भए भन्नु गतल बुझाई हो भन्ने लाग्छ । हाम्रोमा संस्थागत लगानीकर्ताहरुले बजारलाई सन्तुलित बनाउनमा काम गर्नु पर्छ भन्ने अपेक्षा गरिएको छ । बजारलाई सन्तुलित बनाउनका लागि पनि सामुहिक लगानी कोषले राम्रो सहयोग गरेका छन् । विगतको जस्तो कारोबार रकम विना नै बजार सूचकमा आउने अस्वभाविक उतारचढावलाई सामुहिक लगानी कोषले रोकेको जस्तो लाग्छ । तर, सामुहिक लगानी कोष व्यवस्थापकलाई बजार घट्ने जस्तो लागेको खण्डमा उसले शेयर बिक्री गर्नै पर्छ । बजार घटेर एउटा “लेभल” मा आइपुगेपछि किन्छ पनि । सामुहिक लगानी कोष व्यक्ति जस्तो बजार घट्दा अत्तिने बढ्दा उत्साहित हुने अवस्थामा हुँदैनन् । नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसुचक ११ सयको हाराहारीमा आइपुग्दा अधिकासं सामुहिक लगानी कोषले खरिद गरेको अवस्था थियो । तर, अहिले हेर्नुहुन्छ भने अधिकांसले बिक्री गरेर पैसा होल्ड गरेर बसेको अवस्था छ । अधिकांस सामुहिक लगानी कोषका योजनाहरु अहिले करिब ५० प्रतिशत “क्यास” लिएर बसेका छन् । सामुहिक लगानी कोषको धर्म भनेकै इकाईधनीलाई सक्दो धेरै फाइदा दिने हो ।

धितोपत्रको दोस्रो बजारका लागि सामुहिक लगानी कोषको भूमिका लगानीकर्ता वा कारोबारी के हो ?

धितोपत्र बाजारका लागि सामुहिक लगानी कोष भनेको लगानीकर्ता हो । तर, केही हदसम्म कारोबारी पनि हो । सामुहिक लगानी कोषले योजना आकारको १५ देखि २० प्रतिशतसम्म कारोबार गर्छन । वर्षेनी प्रतिफल बितरण गर्नु पर्ने दवाब सामूहिक लगानी कोषलाई पनि छ । दिर्घकालीन रुपमा लगानी गरेर छाड्ने हो भने प्रतिफल “रियलाइज्ड” हुँदैन । इकाईधनीलाई प्रतिफल दिनका लागि नाफा “बुक” गर्नु पर्छ । नाफा “बुक” गर्नका लागि उयुक्त समयमा शेयर खरिद र बिक्री पनि गर्नु पर्छ । बजारको उतार चाढावको फाइदा नलिने हो भने बजार बढ्दा खाताको “भ्यालुएसन” मात्र बढ्छ । तर, घट्दा योजनाको खुद सम्पत्ती मूल्याङकन नै घट्छ । बजारको अवस्था अनुसार योजनाको खुद सम्पत्ती मूल्याङकन पनि उस्तै हुने भएकाले खुद सम्पत्तीलाई सन्तुलनमा राख्न पनि कारोबार पनि गर्नु पर्ने हुन्छ । कारोबार नै नगरेपछि बजारलाई सुन्तुलित बनाउने काममा पनि असर गर्छ ।

सामुहिक लगानी कोषले शेयर बिक्री गर्दा पनि एकै पटक गर्दैनन् । व्यक्तिगत लगानीकताले किन्छन किन्छन अनि एकै पटक बिक्री गर्छन, उनीहरुले कसैलाई जवाफ दिनु पर्दैन । तर, सामुहिक लगानी कोषले एक हजार पुग्ने देखेको शेयर ८ सय देखि साढे ८ सयबाट बिक्री सुरु गरेर एक हजारसम्म पग्दा बिक्री गरेर सकाउने हो । औसतमा एक हजार पुर्वअनुमान गरिएको शेयरलाइ ९ सयमा बिक्री गर्न सके पुग्छ । किन्दा पनि सोही अनुसार गर्छौ । किनकी हामी जवाफदेही छौं । यस अर्थमा सामुहकि लगानी कोषले लगानीकर्ता तथा कारोबारी दुबैको काम गर्नु पर्ने हुन्छ ।

प्राथमिक शेयरका आवेदक १८ लाखभन्दा बढी हुँदै गर्दा सामुहिक लगानी कोषको इकाईका आवेदकको संख्या ज्यादै न्यून हुनुको कारण के हो ? प्राथमिक शेयर आवेदन गर्न प्रोत्साहित गर्नेले नै म्युचुअल फण्डका इकाईमा आवेदन नगर्न प्रोत्साहित गरिरहेका छन् नि ?

यस विषयमा विभिन्न कारकहरुले असर पारेको छ, जसले हामी पछाडी परेका छौं । अंकित मूल्यमा साधारण शेयर निष्काशन हुनु प्रमुख कारक हो । यो अभ्यास विश्वका कुनै पनि मुलुकमा छैन । प्राथमिक शेयर प्रिमियममा निष्काशन हुने हो भने तपाईले भनेको जस्तो अवस्था रहन्न । अब बुक विल्डिङ सुरु हुँदैछ, यो सुरु भए पछि म्युचुअल फण्ड र प्राथमिक शेयरका आवेदकहरुको संख्या उस्तै हुन आउने देखिन्छ ।

अर्कातिर सामुहिक लगानी कोषहरु मात्र नभई समग्र सरोकारवालाहरुको पनि कमजोरी छ, जसका कारण म्युचुअल फण्डको बजार अपेक्षित रुपमा अघि बढ्न सकिरहेको छैन । म्युचुअल फण्ड के हो भनेर हामीले राम्रोसँग बुझाउन सकिरहेका छैनौं । यसलाई प्रोत्साहन गर्नका लागि राज्यस्तरबाट पनि उचित पहल नभएको अवस्था हो । यसका लागि नीतिगत रुपमा नै केही सम्बोधनहरु हुनु पर्ने भए पनि त्यस्तो हुन सकिरहेका छैन । सुरुदेखि नै म्युचुअलले कतैबाट पनि प्रोत्साहन नपाएको र फण्ड आफैंले पनि अपेक्षित रुपमा बुझाउन पहल नगरेको हुनाले पनि समस्याहरु बाँकी नै छन् भन्ने लाग्छ ।

सुरुवाती चरणमा प्रोत्साहन पाएर स्थापीत भए पछि सामान्य अवस्थामा लैजाँदा हुनेमा सुरुवातमा नै प्रोत्साहन नपाउँदाको नतिजा अहिले कहीँ कतै देखिएको हो कि जस्तो देखिन्छ । अझै पनि राज्यका सबै निकाय र अंगबाट प्रोत्साहन पाउने हो भने यो आकर्षक र ठुलो क्षेत्रका रुपमा स्थापीत हुनेमा दुईमत छैन ।

दोस्रो बजार नै तल झरेको समयमा फण्डमा विकर्षण हुनु स्वभाविक पनि हो । तर, पछिल्ला दिनहरुमा फण्डका इकाईहरु राम्रो किसिमले बिक्री भईरहेका छन् भने लगानीकर्ताको सहभागिता पनि बढ्दो छ ।

व्यक्तिगत लगानीकर्ताभन्दा कर्पोरेटहरुको लगानी धेरै भएकाले पनि फण्डहरुलाई सजिलो भएको होला नि ? व्यक्तिगतको त संख्या मात्र धेरै हुने होला ?

पक्कै पनि व्यक्तिगत लगानीकर्ताको संख्या धेरै छ भने आकारका हिसावले कर्पोरेट क्लइण्टको हिस्सा ठुलो छ । व्यक्तिगत रुपमा एक करोड लगानी गर्न धेरै जना जरुरी पर्छ भने कर्पोरेटतर्फबाट एउटै क्लाइण्टबाट करोडको लगानी आउने अवस्था छ । व्यक्तिगतबाट नै राम्रो आकारमा सहभागिता जनाउनका लागि आईपिओमा जस्तै म्युचुअल फण्डमा आकर्षण बनाउन सक्नु पर्छ । यो कति सम्भव होला मैले अघि पनि भनिसकेको छु । त्यस्तो अवस्था नहुँदा पनि अहिले आईपिओका आवेदकमध्ये धेरैले सक्रिय रुपमा म्युचुअल फण्डमा सहभागिता जनाईरहेको अवस्था हो ।

आईपिओमा देखिएको आकर्षण अनि म्युचुअल फण्डमा बढेको सहभागितालाई हेर्दा हाम्रो बजार बिस्तार भएको हो भन्न सकिन्छ ?

मलाई त्यस्तो लाग्दैन । अहिलेको प्राथमिक बजारको आकर्षणले बजार बिस्तारको सुरुवात भएको मात्र हो भन्ने मेरो बुझाई हो । र, यसमा चुनौतीहरु धेरै थपिएका छन् । कोरोनाका कारण छोटो समयमा प्रभावकारी बनेको डिजिटलाइजेशन अनि ठुला कम्पनीको आईपिओका कारण ठुलो संख्यामा जन्मिएका नयाँ लगानीकर्ताको स्थायीत्व महत्वपुर्ण कुरा हो । प्राथमिक बजारमा मात्र लाखौं लगानीकर्ता देखिए पनि कति जना दोस्रो बजारमा पनि आउने हो भन्ने अनुमान गर्न सकिँदैन । पछिल्लो तथ्यांक हेर्ने हो भने ६ लाखभन्दा बढी दोस्रो बजारमा आएको देखिन्छ, तर धेरै लगानीकर्ता आईपिओ बिक्री गर्न मात्र दोस्रो बजारमा आएका छन् । यसले दोस्रो बजारको बिस्तारमा प्राथमिक बजारले मद्धत गर्यो भन्न सकिन्न ।

आईपिओ बिक्री गर्न मात्र दोस्रो बजारमा आएका लगानीकर्ताको तथ्यांकलाई कति जायज मान्ने ? अब यो संख्या अझै बढाउँदै प्राथमिक बजारको आकार पनि बढाउने चुनौती हामीसँग छ । बजार बढ्दा धेरै लगानीकर्ताको सहभागिता हुन्छ, तर बजार घट्न थाले पछि सबै लगानीकर्ता बाहिरिन्छन् । यो अवस्थालाई बजारको बिस्तारित रुप मान्ने कि नमान्ने ? यस्ता लगानीकर्तालाई कुनै न कुनै रुपमा बजारमा टिकाईराख्ने चुनौती अहिलेको सबैभन्दा ठुलो अनि महत्वपुर्ण विषय हो । यो अवस्थालाई सन्तुलनमा राख्नका लागि बजारको “रिस्क–रिटर्न फ्याक्टर” लाई राम्रोसँग बुझाउन सक्नु पर्छ । यसका लागि पहिलो अस्त्र भनेको साक्षरता हो । बुझ्दै नबुझेका मान्छे पनि अहिले बजारमा छन्, उनीहरुलाई कम्तीमा आफैंले बजारको बारेमा जानकारी लिन सक्ने अवस्थामा पुर्याउन पर्छ । जसले सम्भावित नाफा र नोक्सानको अवस्थालाई आँकलन गर्ने अनि नाफा स्वभाविक हो भन्ने बुझ्न सकोस् ।

नेपालको मात्र नभई विश्व बजारलाई हेर्ने हो भने बजार एकदमै “भोलाटायल” देखिएको छ । हामीकहाँ बजार दीगो हो भन्ने सोचाई धेरै छ, यसलाई कसरी लिनु हुन्छ ?

बजारको कुनै पनि प्वाइन्टलाई दीगो भनेर व्याख्या गर्न मिल्दैन । बजारको स्वाभाव नै उतारचढाव हो । कति समय लिएर बजार बुल हुने अनि कति समय लिएर वियर हुने भन्ने कुरा आआफ्नो ठाउँमा हुन्छ । नत्र बजारको चक्र नै के हो भने एउटा विन्दुसम्मको उचाई लिए पछि बजार तल आउँछ, अनि फेरी तल्लो विन्दुबाट फेरी माथि जान्छ । यो विश्वव्यापी मान्यता हो । फरक यत्ति हो कि विकसित मुलुकमा साक्षरता अनि वित्तीय अवस्था माथिल्लो अवस्थामा छ भने हामीकहाँ त्यो अवस्था छैन । विकसित बजारमा बुल अनि वियर मार्केटमा लगानीकर्ताको सहभागिता जुन किसिमले हुन्छ, हामीकहाँ त्यस्तो अवस्था छैन । बजारलाई सन्तुलित लगानीकर्ताको आवश्यक्ता पर्छ, जुन हामीकहाँ न्युन छ ।

मर्चेण्ट बैंकिङमा पहिलेदेखि नै हुँदै आएको अस्वस्थ प्रतिष्पर्धा भईरहेको सन्दर्भलाई कसरी लिनु भएको छ ?

बजार बिस्तारका क्रममा समस्या जहाँ पनि हुन्छन् । हाम्रो सनदर्भमा पनि शुल्क तथा अन्य विषयलाई लिएर अस्वस्थ प्रतिष्पर्धा भएको विषय बाहिर नआएको होइन । तर त्यस्तो किन हुन्छ भन्नेमा हामी आफैंले अनि नियामकले पनि ध्यान दिनु पर्छ । जसले अस्वस्थ काम नगरी संस्था अघि बढाउन सक्दैन भने त्यस्ता संस्थाको अनुमती खारेज गरिदिए भईहाल्यो नि । बजारलाई सकरात्मक बनाउनका लागि जनशक्ति, आधारभुत पुर्वाधार लगायत नै नभएको संस्थाले कसरी काम गर्न सक्छ ? तपाईले भनेको जस्तो अस्वस्थ प्रतिष्पर्धाका कारण हामीजस्ता अरु स्थापित संस्थाहरुलाई पनि काम गर्न असहज भईरहेको छ । आज क्लाइन्टसँग अन्तिम कुरा भएको हुन्छ भोली निशुल्क वा ज्यादै न्युन शुल्कमा अर्कोले क्लाइण्ट खोसिदिने क्रम आजका दिनमा पनि चलिरहेको छ । यसमा शुद्धीकरण जरुरी छ । काम गर्न सक्ने संस्था रहनु पर्छ । यसो भयो भने बजारलाई पनि राम्रो हुन्छ ।

लगानीका उपकरणहरु सिमित भएको अवस्थामा यसको विधिकरणलाई कतिको जरुरी मान्नु हुन्छ ?

एकदमै जरुरी छ । समयानुकुल रुपमा सामुहिक लगानी कोष मात्र नभई समग्र लगानीका उपकरणमा परिमार्जन जरुरी छ । यसको पछिल्लो उपकरणका रुपमा “बुकविल्डि” आउँदैछ भन्न सकिन्छ । यसले “रियल सेक्टर” लाई बजार प्रवेश गराउन रचनात्मक भुमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । स्टक एक्सचेञ्ज र धितोपत्र बोर्डले अरु उपकरण थप्नका लागि पनि पहल गरिरहेका छन् । “डेरिभेटिभ इन्स्ट्रुमेण्ट, डे ट्रेडिङ” लगायतका उपकरण ल्याउन गृहकार्य भईरहेको छ । यसले कुनै न कुनै रुपमा लागनी विधिकरण र बजार बिस्तारमा सहयोग गर्छ भन्ने लाग्छ । यसता उपकरणमा उदार हुन जरुरी देख्छु ।

अहिले बैंक वित्तीय संस्थाले मात्र डिबेञ्चर निष्काशन गरिरहेको अवस्थामा चिलिमे, मध्य भोटेकोशी, रसुवागढी लगायतका अरु कम्पनीले डिबेञ्चर किन निष्काशन नगर्ने ? यी कम्पनीले पनि ऋण लिएर नै आयोजनाका कामहरु गरिरहेका छन् । यस्ता कम्पनीलाई डिबेञ्चर निकाल्न दिने हो भने बैंकको ऋण र डिबेञ्चरको सन्तुलन गरेर आयोजनाको काम अघि बढ्दा सबै क्षेत्रलाई अवसर मिल्छ । यसलाई धितोपत्र बोर्डले प्रोत्साहन गर्नु पर्ने देखिन्छ । “रियल स्टेट इन्भेष्टमेण्ट ट्रस्ट” मा पनि लगानीका अवसर बनाउन सकिन्छ । यो अभ्यास अन्य मुलुकमा भईरहेको भए पनि हामीकहाँ अहिलेसम्म हुन सकिरहेको छैन ।

अहिले निष्काशन सुरु भएको एनआईबिएल समृद्धि फण्ड २ तपाईको करिअरको कति औं योजना हो ?

सिद्धार्थ क्यापिटलमा २ वटा फण्ड सञ्चालन गराए पछि बाहिरिएको हुँ । यहाँ आएर अहिले निष्काशन भएको योजना चौथो हो । यस अर्थमा करिअरको छैठौं योजनाका इकाईहरु निष्काशन गरिरहेको छु ।

तपाईको करिअर पछिल्ला ५ योजना भन्दा एनआईबिएल समृद्धि फण्ड २ के कारणले फरक छ ?

यसलाई एनआईबिएल समृद्धि फण्ड १ को निरन्तरता हो भनेर बुझिदिनु भए हुन्छ । अब आउने पुसमा समृद्धि फण्ड १ परिपक्व हुँदैछ । त्यसैले व्यालेन्स टाइपको त्यो फण्डलाई अहिलेको फण्डबाट निरन्तरता दिन खोजिएको हो । यो योजनाले मुद्धती निक्षेप, डिबेञ्चर लगायतका उपकरणमा पनि लगानी गर्छ । ६० प्रतिशतभन्दा धेरै रकम इक्वीटीमा लगानी हुन्छ । इक्वीटीलाई केन्द्रमा राखेका प्रगती फण्डहरु पहिले नै सञ्चालनमा भएकाले व्यालेन्स फण्डलाई निरन्तरता दिइएको हो ।

एनआईबिएल समृद्धि फण्ड १ ले परिपक्व हुने अवधिसम्ममा इकाईधनीलाई दिएको प्रतिफलको तथ्यांक कस्तो रह्यो ?

७ वर्षे अवधिको त्यो फण्डले ६ वर्षको अवधिमा औसतमा ६३.५ प्रतिशत प्रतिफल दिइसकेको छ । बिचमा भएको उतारचढावले कुनै वर्ष कम त कुनै वर्ष राम्रो प्रतिफल दिन सक्यौं । अहिले हाम्रो नेट एसेट भ्यालु १५ रुपैंयाभन्दा माथि छ । पुसमा परिपक्व हुने भएकाले हामीले ५० प्रतिशतभन्दा धेरै इकाईहरु बिक्री गरिसकेका छौं । अझै बिक्री गर्ने क्रम जारी छ । नियम अनुसार ६ महिना पहिलेसम्ममा २० प्रतिशत मात्र होल्ड गरेर अरु बिक्री गरिसक्न पाइन्छ । त्यस पछि हामीले मुद्धती निक्षेप राख्न पाउने व्यवस्था छ ।

यस आधारमा आगामी असार मसान्त सम्ममा फण्डबाट बाहिरिँदै लगानी सुरक्षित गर्ने र निश्चित आम्दानीमा लगानी गर्दै जाने हो । परिपक्व भए पछि हामीले लगानीकर्तालाई सबै रकम फिर्ता गर्दै जानु पर्ने हुन्छ । यस आधारमा १५ रुपैंयाको दरमा इकाईधनीको लगानी फिर्ता गर्न सकियो भने थप ५० प्रतिशत प्रतिफल दिन सक्ने अवस्था रहन्छ । यस्तो अवस्था बनेको खण्डमा हाम्रा इकाईधनीलाई दिने कुल प्रतिफल ११५ देखि १२० प्रतिशतसम्म हुने प्रक्षेपण हामीले गरेका छौं । वार्षिक रुपमा औसतमा हेर्ने हो भने यो प्रतिपफल १७ प्रतिशतको हाराहारीमा हुन्छ ।

पहिलो फण्डका आधारमा हेर्ने हो भने अहिले निष्काशन भएको फण्डका इकाईधनीले पनि मुद्धती निक्षेपको भन्दा आकर्षक प्रतिफल पाउने अवस्था रहन्छ । यसका लागि हामी दत्तचित्त भएर लाग्नेछौं ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।