आर्थिक पुनरुत्थान लागि वित्तीय स्रोत उत्पादनशिल क्षेत्रतर्फ निर्देशित गरिने : गभर्नर अधिकारी

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक पुनरुत्थान लागि वित्तीय स्रोत उत्पादनशिल क्षेत्रतर्फ निर्देशित गरिने बताएका छन् । कोरोनाको दोस्रो लहरका कारण अर्थतन्त्र झनै प्रभावित हुन सक्ने उल्लेख गर्दै यसको न्यूनीकरणका लागि राष्ट्र बैंक संवेदनशील रहेको गभर्नर अधिकारीको भनाई छ।

गभर्नर अधिकारीले राष्ट्र बैंकको ६६ औं बार्षिक उत्सवलाई सम्बोधन गर्दै महामारीबाट अर्थतन्त्र जोगाउनका लागि उचीत नीतिगत व्यवस्था मार्फत अर्थतन्त्रको सञ्चालन तथा व्यवस्थापन गर्नुपर्ने बताएका हुन्।

मुलुकभित्र उत्पन्न हुनसक्ने मानवीय तथा आर्थिक संकटको संयमतापूर्वक उचित व्यवस्थापन सहित आर्थिक क्रियाकलापको चुस्त सञ्चालन तथा व्यवस्थापन गर्नुपर्ने देखिएको गभर्नर अधिकारीले बताए ।

महामारीको अवधिमा पनि विभिन्न नीतिगत प्रयासहरूले गर्दा अर्थतन्त्र पुनरुत्थानको दिशातर्फ उन्मुख हुँदै गएको उनको दावी छ । कोभिड १९ अझै रहेकोले जोखिम भने कायमै रहेको उनले बताए ।

गभर्नर अधिकारीले राष्ट्र बैंकको ६६ औं बार्षिक उत्सवलाई सम्बोधन गर्दै वित्तीय स्रोत उत्पादनशिल क्षेत्र तर्फ निर्देशित गरी आर्थिक पुनरुत्थानमा सहयोग गरिने बताए । उनले आर्थिक पुनरुत्थानका लागि समष्टिगत आर्थिक स्थायित्व कायम गर्दै वित्तीय क्षेत्रबाट परिचालन हुने स्रोत साधनलाई पूर्वाधार क्षेत्र, साना तथा मझौला उद्यम, कृषि, उर्जा, पर्यटनलगायत उत्पादनशील क्षेत्रतर्फ निर्देशित गरिने बताए ।

वित्तीय उपकरण एवम् पूर्वाधारहरूको समयसापेक्ष विकास गर्न केन्द्रिय बैंक प्रतिबद्ध रहेको उनको भनाई छ । त्यसैगरी केन्द्रीय बैंक विद्युतीय भुक्तानी माध्यममार्फत कारोबारहरूलाई प्रवद्र्घन गर्न र वित्तीय समावेशिता तथा वित्तीय ग्राहक संरक्षण गर्नेतर्फ गम्भिर रहेको उनले बताए ।

कार्यक्रममा गभर्नर अधिकारीले कोरोनाका कारण जटिल अवस्थामा परेका उद्योगी, व्यापारी तथा व्यवसायीहरुलाई दिदै आएको सहुलियतलाइ निरन्तर दिने पनि बताएका छन् । “कोभिड १९ को असामान्य परिस्थितिलाई सम्बोधन गर्न चालिएका गैर–परम्परागत, लचिलो तथा सहजीकरणसहितका नीतिगत व्यवस्थाहरूलाई आर्थिक तथा वित्तीय स्थायित्व र मौद्रिक उद्देश्य माथि थप जोखिम सृजना नहुने गरी निरन्तरता दिइनेछ,” उनले भने,“ कोभिड १९ को संक्रमणका बीच नेपाल राष्ट्र बैंकले जारी गरेको आ.व. २०७७/७८ को मौद्रिक नीतिको कार्यान्वयनले सकारात्मक परिणाम प्राप्त भईरहेको छ ।”

कोभिड–१९ का कारण मानव जातिले विश्वभर गम्भीर स्वास्थ्य सङ्कट सामना गरिरहेको उनले बताए । कोरोना संक्रमणको दोस्रो लहरसँगै स्वास्थ्य सङ्कट अझै गहिरिंदै जाने र अर्थतन्त्र थप प्रभावित हुने जोखिम रहेको समेत उनले बताए ।

२०७७ साल विश्वव्यापीे रूपमा फैलिएको कोरोना महामारीको विषम परिस्थितिका कारण चुनौतीपूर्ण रहेको बताउदै कोभिड–१९ को महामारी रोकथामका लागि विश्वका अन्य अर्थतन्त्रहरूले जस्तै नेपालले पनि २०७६ चैत्र ११ गतेदेखि बन्दाबन्दी लगायतका उपायहरू अबलम्बन गरेसँगै आर्थिक गतिविधिहरू संकुचित हुन पुगेको जिकिर गरे । विशेषगरी होटल तथा रेष्टुरेण्ट, यातायात, खुद्रा तथा थोक व्यापार, उत्पादन क्षेत्र लगायत विविध क्षेत्रमा गम्भिर असर परेको उनले बताए ।

२०७७ असार १ देखि बन्दाबन्दी लगायतका व्यवस्थाहरू क्रमशः खुकुलो बनाउँदै पुस २३ देखि पूर्ण रूपमा हटाइएपछि आर्थिक गतिविधिहरू पुरानै लयमा फर्कने क्रममा रहेका उनको भनाइ छ । बन्दाबन्दी पूर्ण रूपमा हटेको र कोभिड–१९ विरुद्घको खोप लगाउने कार्यसमेत सुरु भएपछि खुम्चिएको अर्थतन्त्र सामान्य तर्फ फर्कन सुरु भईसकेको थियो । तर, पछिल्लो समयमा कोभिड–१९ को संक्रमण दर छिमेकी देशमा पुनः बढ्दै गएको साथै नेपालमा समेत संक्रमण दर र जोखिम बढ्दै गएको हुँदा अर्थतन्त्र अझ पनि यसबाट थप प्रभावित हुने जोखिम कायमै रहेको उनको भनाई छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।