लकडाउनका बेला डिजिटल भुक्तानीका लागि के गर्ने ? घरमै बसेर यसरी सुचारु गर्न सकिन्छ सेवा


कोरोना महामारीका कारण नेपालमा इन्टरनेटमा आधारित सेवाको प्रयोग गर्नेहरुको जमात फराकिलो अन्तरले बढेको छ । त्यसको एउटा पाटोका रुपमा विद्युतीय भुक्तानी प्रणालीलाई लिन सकिन्छ ।

बन्दाबन्दीका बेला घरमा बसेर मोबाइलमा दिन बिताउनेहरुले अहिले मनोरञ्जन, किनमेल, अध्ययन, मिटिङ लगायत सबै काम मोबाइलबाट गरिरहेका छन् । यस्तो अवस्थामा विद्युतीय भुक्तानी गर्नेहरुको संख्या पछिल्लो एक वर्षमा तिब्र दरमा बढेको छ ।

यद्यपी अझै पनि धेरैले विद्युतीय भुक्तानी प्रणाली अवलम्बन नगर्दा नगदबाट नै भुक्तानी गर्नु पर्ने बाध्यता छ । पहिलो बैंक नपुगी विद्युतीय भुक्तानी सुचारु गराउन नमिले पनि अहिले बैंक नपुगि विद्युतीय भुक्तानीका माध्यमहरु सुचारु गराउन सकिन्छ ।

नगदबाट मात्र कारोबार गर्नु पर्ने बाध्यता हुँदा अनलाइनबाट सामान खरिद गरे पनि भुक्तानी भौतिक रुपमा नै गर्नु पर्ने अवस्था रहन्छ । यस्तो अवस्थाले विद्युतीय माध्यमबाट सामान खरिद गरेको आभाष हुँदैन भने अर्कातिर संक्रमणको जोखिम पनि उत्तिकै हुन्छ ।

हामीले यहाँ नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने नेपाल राष्ट्र बैंकको नीति अनुरुप धरमा नै बसेर कसरी विद्युतीय भुक्तानी सुरु गर्न सकिन्छ भनेर सजिलो उपायहरु सुझाएका छौं ।

१. मोबाइल बैंकिङ

अधिकांश बैंक वित्तीय संस्थाले अहिले स्मार्ट एप सञ्चालन गरिरहेका छन् । उक्त एपलाई अहिले बैंकहरुले खातावालाले नै भेरिफइ गरेर रकम भुक्तानी तथा रकमान्तर गर्ने व्यवस्था गरेका छन् । यसका लागि तपाइले आफ्नो बैंक खाता रहेको बैंकको मोबाइल एप आफ्नो मोबाइलमा डाउनलोड गर्नु पर्ने हुन्छ । एप डाउनलोड गरेर बैंक खाता तथा मोबाइल नम्बर उपलब्ध गराएर भेरिफाई गराउनु पर्ने हुन्छ ।

एपमा तपाईको विबरण बैंक खातामा भएको विबरणसँग मिले पछि तपाईको माबाइल बैंकिङ सुचारु हुन्छ । केही बैंकले भने यसरी सुरु गरिएको मोबाइल बैंकिङमा कारोबारको सीमा राखिदिएका हुन्छन् । नत्र अधिकांश बैंकले राष्ट्र बैंकले ताकेको सीमा अनुसार एक खाताबाट अर्को खातामा रकमान्तर, विद्युतीय भुक्तानी, क्यू आर कोड पेमेण्ट लगायतका सुविधा दिन्छन् । जसको सहयोगमा तपाईले एक क्लिकको भरमा आवश्यक्ता अनुसार वित्तीय कारोबार गर्न सक्नु हुन्छ ।

२. कनेक्ट आईपीएस

घरमा नै बसेर तिरो भरो तथा पैसा पठाउने र पाउने अर्को विकल्प भनेको नेपाल क्लियरिङ हाउसको कनेक्ट आईपीएस हो । यो प्रणाली सुचारु गराउन सर्वप्रथम कनेक्ट आईपिएस डटममा गई कारोबार गर्ने खाता खोल्नु पर्छ । बैंक खातामा उल्लेख भएका विबरण राखेर खाता खोलिसके पछि बैंक खातालाई लिंक गर्नु पर्ने हुन्छ । बैंक खाता लिंक गरिसके पछि भरिफिकेशनका लागि २ वटा विकल्प उपलब्ध हुनेछ । केही बैंक तथा वित्तीय संस्थाले भने बैंकमा फराम प्रिन्ट गरे पछि मात्र खाता भेरिफाई हुने विकल्प दिएका हुन्छन् भने अधिकांशले फारम बैंकमा बुझाउने वा सेल्फ भेरिफाई गर्ने विकल्प दिएका हुन्छन् ।

सेल्फ भेरिफाई गर्नका लागि भने मोबाइल बैंकिङ अनिवार्य गरिएको हुन्छ । सेल्फ भेरिफाइ गर्दा मागिएका विबरण भरे पनि कनेक्ट आईपीएसको प्रणालीले तपाईको खातामा ज्यादै सानो अंकको रकम जम्मा गर्ने तथा फिर्ता लैजाने गर्छ । तपाईलाई उक्त कारोबारको विबरण भर्न लगाइन्छ । यस्तो बिरणको एसएमएस नआएको खण्डमा मोबाइल बैंकिङ लगइन गरी स्टेटमेण्ट हेरेर विबरण भर्नु पर्ने हुन्छ । यसरी भेरिफाई भएको एकाउण्टमा बैंक अनुसार कारोबारको सीमा उपलब्ध हुन्छ ।

३. पेमेण्ट गेटवे तथा वालेटहरु

 

अहिले विद्युतीय भुक्तानीका लागि विभिन्न किसिमका वालेटहरुले सेवा प्रदान गरिरहेका छन् । नेपाल राष्ट्र बैंकबाट अनुमती पाएका कुनै पनि वालेटलाई तपाईले भुक्तानी तथा रकमान्तरको विकल्पका रुपमा प्रयोग गर्न सक्नु हुनेछ । अहिले इसेवा, खल्ती, आईएमई पे, प्रभु पे, रेमिट्याप, नमस्ते पे, वेल पे, इनेट पे, सेल पे, मोरु लगायतका २८ वटा पेमेण्ट वालेट तथा गेटवेहरु सञ्चालनमा छन् ।
यस्ता वालेटका मोबाइल एप डाउनलोड गरि बैंकबाट वालेटमा रकम लोड गरेर आफुलाई आवश्यक परेको ठाउँमा रकम भुक्तानी गर्न सकिन्छ । वालेट प्रयोगकर्ताका बिचमा रकम पठाउन र पाउन पनि सकिने भएकाले प्रयोगकर्तालाई सजिलो हुन्छ । धेरै वालेटहरुमा क्यू आर कोड समेत भएकाले यस्तो भुक्तानी पनि गर्न सकिन्छ ।

४. इन्टरनेट बैंकिङ

इन्टरनेट बैंकिङ सुचारु गराउन भने माथि उल्लेख गरिएका तीन विकल्प भन्दा केहस् असहज हुन्छ । यद्यपी राष्ट्र बैंकको निर्देशनमा बैंकहरुले गत वर्षदेखि इमेल तथा फोनबाट आएको आग्रह अनुसार वास्तविक खातावालाको पहिचान गरी इन्टरनेट बैंकिङ सेवा उपलब्ध गराउँदै आएका छन् । यसका लागि तपाईले आफ्नो खाता भएको बैंकमा बिहान १० देखि २ बजेसम्ममा फोनबाट सम्पर्क गरी माग गरिएका कागजात अनलाइन तथा इमेलबाट उपलब्ध गराएको खण्डमा बैंकले इन्टरनेट बैंकिङ सुचारु गराई दिने छन् । इन्टरनेट बैंकिङबाट रकम पठाउने र उपलब्ध गराइएको विभिन्न किसिमका बिल तथा महशुल भुक्तानी गर्न सकिन्छ ।

सुरक्षा सतर्कता उत्तिकै महत्वपूर्ण

समान्यता मोबाइल रिचार्ज, बैंक बीमाका किस्ता, विद्यलयका शुल्कका साथै इन्टरनेट, टिभि, बिजुली, पानी जस्ता सेवाको भुक्तानी धेरै प्रचलनमा रहेकोमा पछिल्ला दिनमा चिया पिएको पैसा पनि अनलाइनबाट भुक्तान गर्न सकिने अवस्था छ । यस्तो अवस्थामा सावधान भएर कारोबारहरु गर्ने गराउने गर्नु पर्छ ।

विद्युतीय प्रणाली चलाउन जति सहज छ सुरक्षाका दृष्टिकोणले उत्तिकै जोखिम हुन सक्छ । यसका लागि माथि उल्लेख गरिएका कुनै पनि किसिमका सेवा सुचारु गराउँदा अफ्टेरो किसिमका पासवर्डहरु राख्न जरुरी हुन्छ । सजिलो पासवर्ड अरुको पहुँचमा पुग्न सक्ने भएकाले सचेत हुनु पर्छ ।

अफ्टेरो पासवार्ड राखेकाले नै त्यसलाई मोबाइलमा इन्टरनेटको सिधा पहुँच हुने गरेर सेभ गर्नु हुँदैन । साथै मोबाइलमा तपाईका विबरणहरु कुनै न कुनै रुपमा स्टोर हुने भएकाले मोबाइल अरुको पहुँचभन्दा टाढा राख्नु होस् । सकेसम्म मोबाइलबाट भुक्तानी गर्दा माबाइल डाटाको प्रयोग गर्नु होस् । पब्लिक वाइफाइ प्रयोग गर्दा तपाईका विबरणहरु चुहिन सक्छन् । यस्तो भने तपाई फिसिङ तथा रकम हराउने समस्याको शिकार हुन सक्नु हुन्छ ।

कुनै पनि किसिमका एपहरु आधिकारिक स्रोत, गूगल प्ले, एप्पलको एप स्टोरबाट मात्र डाउनलोड गर्नुहोस् । थर्ड पार्टी एप डाउनलोड गरेर सेवा प्रयोग गर्दा आफ्ना विबरणहरु अरुले चार्न सक्ने अवस्था रहन्छ ।

मोबाइल सेटमा बलियो सुरक्षा उपाय अवलम्बन गर्नुहोस् । साथै कम्प्युटरबाट यस्ता सेवा चलाउँदा पासवर्ड सेभ नगर्न होस् । कम्प्युटरमा पनि पासवर्ड सेट गर्ने गर्नु होस् ।

एसएसएस तथा इमेलमा प्राप्त हुने अनावश्यक लिंकहरुमा क्लिक नगनरी डिलिट गर्ने गर्दा आफ्नो डाटा चोरी भएर पिडित हुनु पर्ने अवस्था आउँदैन । साथै मोबाइल तथा कम्प्युटरमा आउने पप अप तथा अनुमतीलाई स्वीकृति पनि नदिनुहोस् । यस्तो गर्दा आफ्ना डाटाहरु अरुसम्म पुग्ने अवस्था रहँदैन ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।