इरान, इराक र टर्कीले पश्चिम एसियामा बढ्दो तनावलाई थप चर्किन नदिन तथा क्षेत्रीय द्वन्द्व फैलिनबाट रोक्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।
इरानी विदेश मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार, इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले शनिबार टर्की र इराकका विदेशमन्त्रीसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गरेका थिए ।
टर्कीका विदेशमन्त्री हाकान फिदानसँगको वार्तामा दुवै पक्षले पछिल्ला क्षेत्रीय घटनाक्रमबारे छलफल गर्दै तनाव थप बढ्न नदिन र द्वन्द्व अन्य क्षेत्रमा फैलिनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड दिए ।
क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न निरन्तर परामर्श तथा कूटनीतिक प्रयासलाई अघि बढाउने विषयमा पनि उनीहरूबीच सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी, इराकका विदेशमन्त्री फुवाद हुसेनसँगको टेलिफोन वार्तामा अराघचीले द्विपक्षीय सम्बन्ध, क्षेत्रीय घटनाक्रम र जारी प्रक्रियाबारे छलफल गरेका थिए ।
दुवै पक्षले साझा सीमा क्षेत्रमा सुरक्षा र स्थिरता कायम राख्न तथा आवश्यक समन्वयलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। साथै, क्षेत्रीय घटनाक्रममा जिम्मेवार दृष्टिकोण अपनाउँदै द्वन्द्व थप चर्किन र फैलिन नदिन संयुक्त प्रयास आवश्यक रहेको बताएका छन् ।





प्रतिक्रिया