‘सेभिङ डिपोजिट’ कम हुँदा दर्जन बैंकको तरलता व्यवस्थापन अस्थिर, निक्षेपमा बचतको औषत हिस्सा ३५% मात्र


सञ्चालनमा रहेका वाणिज्यहरु मध्ये करिब एक दर्जन बैंकको तरलता व्यवस्थापन अस्थिर प्रकृतिको देखिएको छ । यी बैंकहरुको कुल निक्षेपमा बचत हिस्सा कम भएकाले पनि तरलताको अवस्था सन्तुलनमा नरहेको देखिएको हो ।

चालु आर्थिक वर्षको चैसम्ममा बैंकहरुको कुल निक्षेपमा बचतको हिस्सा औसतामा ३५ प्रतिशत मात्र छ । विगतका वर्षहरुको तुलनामा सेभिङ डिपोजिट बढेको भए पनि कल, करेन्ट र मुद्दतीमा हुने निक्षेपको हिस्सा धेरै भएका बैंकहरुलाई अस्थिर संस्थाको रुपमा हेरिने बैंकहरुको भनाई छ ।

“करेन्ट र सेभिङ डिपोजिट धेरै भएका बैंकको आधार ब्याजदर कम हुन्छ,” नेपाल बैकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले भने, “स्प्रेड माथिल्लो सीमासम्म जान सक्ने यस्ता बैंक ग्राहकको रोजाइमा पनि पर्छन ।” स्प्रेड सीमा ४.४ सम्म नै जान सक्ने अवस्था हुने भएकाले नाफा बढाउन समेत मद्दत पुग्ने उनको भनाई छ ।

आधार दर कम हुने वित्तीकै ग्राहकलाई पनि न्यून लागतमा कर्जा दिन सक्ने भएकाले समग्र अर्थतन्त्रका लागि पनि यसको सकारात्मक प्रभाव पर्ने संघका अध्यक्ष दाहालको भनाई छ ।

करेन्ट र सेभिङ डिपोजिट धेरै हुनु भनेको बैंकले कच्चा पदार्थ न्यून लागतमा पाएको भन्ने हुन्छ । बैंकको कच्चा पदार्थको रुपमा रहेको निक्षेपको लागत नै न्यून भएपछि कर्जाको ब्याजदर पनि तल नै हुन्छ ।
केही वर्षअघि नेपाल राष्ट्र बैंकले बैंकहरुको संस्थागत निक्षेप धेरै हुँदा तरलता व्यवस्थापनमा समस्या आउने गरेको भन्दै व्यक्तिगत निक्षेपमा जोड दिन निर्देशन दिएको थियो । राष्ट्र बैंकको निर्देशन अनुसार चालू आर्थिक वर्षको चैतसम्ममा बैंकहरुमा संस्थागत निक्षेपको हिस्सा ४३ र व्यक्तिगत निक्षेपको हिस्सा ५७ प्रतिशत पुगेको छ ।

संस्था स्थिर छ वा अस्थिर छ भन्ने कुरा बैंकमा रहेको निक्षेपमा संस्थागत र व्यक्तिगत हिस्सा कस्तो छ भन्ने कुराले पनि निर्धारण गर्ने अर्का एक बैंकरले बताए । “जुन बैंकसँग निक्षेपमा बचत धेरै हुन्छ त्यो संस्था स्ट्याबल हुन्छ,” ती बैंकरले भने, “करेन्ट तथा कल निक्षेप धेरै हुने बैंक बढी भोलाटायल हुन्छन ।” करेन्टमा ब्याज तिर्नु नपर्ने भए पनि संस्थागत हुने भएकाले ठुलो मात्रामा राख्ने र झिक्ने गरिने हुँदा त्यस्तो निक्षेप अस्थिर हुन्छ । तर, सानो सानो आकारको व्यक्तिगत निक्षेप अंशकको हुने भएकाले संस्थाको अवस्थालाई निक्षेपमा त्यस्तो बचतको हिस्साले दर्शाउने उनको भनाई छ ।

मुद्दती निक्षेपको सन्दर्भमा पनि ब्यक्तिगत वा संस्थागत भन्ने कुरालाई हेर्नु पर्छ । व्यक्तिगत निक्षेप धेरै भएको खण्डमा त्यसलाई राम्रो मानिन्छ । तर, संस्थागत निक्षेपको हिस्सा धेरै छ भने त्यो संस्था भोलाटायल छ भन्नेमा दुवै बैंकरको स्वीकारोक्ती छ ।

चालू आर्थिक वर्षको चैत मसान्तसम्मको तथ्याङकलाई हेर्दा बैंकहरुको औसत करेन्ट तथा सेभिङ (कासा) निक्षेप ४३.४७ प्रतिशत रहेको छ । करेन्ट र बचत दुबै शिर्षकको निक्षेप करिब ४४ प्रतिशतको हाराहारीमा हुनु भनेको सकारात्मक विषय भएको उनीहरुको बुझाई छ । तर, केही बैंकहरुको सन्दर्भमा भने करेन्ट डिपोजिट र फिक्सड् डिपोजिट धेरै भएकाले तुलनात्मक रुपमा संस्थागत अवस्था अस्थिर रहेको उनीहरुको भनाई छ ।

चालू आवको चैतसम्ममा बैंकहरुको कुल निक्षेपमा निक्षेपको औसत हिस्सा ३३.८८ प्रतिशत रहेको छ । त्यसैगरी सो अवधिमा बैंकहरुको कुल निक्षेपमा करेन्ट डिपोजिटको हिस्सा ८.९ प्रतिशत रहेको छ भने कुल निक्षेपमा औसत कल डिपोजिटको हिस्सा ७.९४ प्रतिशत रहेको छ । बाँकी रहेको निक्षेप मुद्दती रहेको तथ्यांकले देखाउँछ । मुद्दतीमा पनि संस्थागत भन्दा व्यक्तिगत नै धेरै रहेको बैंकहरुको भनाई छ ।
चालू आर्थिक वर्षको चैतसम्ममा सबैभन्दा धेरै करेन्ट र सेभिङ निक्षेप हुने बैंकमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । यो अवधिमा बैंकको कुल निक्षेप २४४ अर्ब ५८ करोड रुपैयाँमा कल डिपोजिटको हिस्सा ६.२१, करेन्ट डिपोजिटको २१.७७ र सेभिङको ४८.६४ प्रतिशत हिस्सा छ ।

त्यसैगरी सबैभन्दा थोरै करेन्ट र सेभिङ निक्षेप हुने बैंकमा सिभिल बैंक रहेको छ । यो अवधिमा बैंकको कुल निक्षेप ८७ अर्ब ८९ करोड रुपैयाँ रहेकोमा कलको ८.८०, करेन्टको ४.३१ र सेभिङको हिस्सा २१.१४ प्रतिशत छ ।

Banks Current Savings CASA Total Deposit CASA/TD
RBB 53250 118967 172,218 244585 70.41%
NBL 32728 67130 99,858 153490 65.06%
SCBNL 16419 38021 54,440 84102 64.73%
ADBNL 18944 51146 70,090 145493 48.17%
NSBI 7139 40257 47,396 101159 46.85%
HBL 12032 51862 63,895 137798 46.37%
Prabhu 15289 61961 77,250 167487 46.12%
Global 18328 97739 116,067 258534 44.89%
NIBL 17915 57350 75,265 167730 44.87%
Sanima 8522 46826 55,347 124877 44.32%
EBL 11889 57179 69,068 156348 44.18%
NABIL 21145 72751 93,897 214480 43.78%
Sunrise 7475 37131 44,606 104732 42.59%
Laxmi 6466 39849 46,315 111255 41.63%
SBL 12058 60306 72,364 175752 41.17%
BOK 8145 31468 39,612 97820 40.50%
MBL 6489 43987 50,476 126681 39.84%
NMB 8306 53270 61,576 162703 37.85%
NIC 23776 87197 110,973 295613 37.54%
Mega 9352 42907 52,260 143587 36.40%
NCC 7601 29891 37,492 105109 35.67%
Kumari 11240 37948 49,189 138858 35.42%
Citizen 6791 38529 45,320 128858 35.17%
NBBL 6435 20011 26,445 75281 35.13%
Prime 9373 36060 45,433 146085 31.10%
Century 4363 22155 26,518 89233 29.72%
CBL 3788 18579 22,367 87897 25.45%
Industry 365,259 1,360,479 1,725,738 3,945,547 43.74%

 

चैतसम्मको कुल निक्षेपमा करेन्ट तथा सेभिङ (कासा) को हिस्सा बैंकिङ क्षेत्रको औसत दर अर्थात ४३.७४ भन्दा कम हुने बैंकहरुमा सनराइज, लक्ष्मी, सिद्धार्थ, बैंक अफ काठमाण्डू, माछापुच्छ्रे, एनएमबि, एनआइसी एसिया, मेगा, एनसीसी, कुमारी, सिटिजन्स, नेपाल बंगलादेश, प्राइम कमर्सियल, सेञ्चुरी कमर्सियल र सिभिल बैंक रहेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।