चालु खाता २ खर्ब बढी घाटामा रहँदा शोधनान्तर बचत ४२ अर्बमा सिमित

0
Shares

चालु आर्थिक वर्षको नौ महिना अर्थात चैतसम्ममा चालु खाता २ खर्ब ७ अर्ब ४१ करोड रुपैयाँले घाटामा रहेको छ । गत आवको सोही अवधिमा चालु खाता १ खर्ब २६ अर्ब ९ करोडले घाटामा रहेको थियो ।

चालु आर्थिक वर्षको फागुनसम्ममा चालु खाता १ खर्ब ४८ अर्ब ६८ करोड रुपैयाँले मात्र घाटामा रहेको थियो । बैंदेंशिक ब्यापार बढेपछि चालु खाता घाटा बढेको हो । रेमिट्यान्स आप्रबाहमा आएको सुधारले शोधनान्तर स्थिती बचतमा देखिएपनि उच्च आयातका कारण चालु खाता घाटा बढेको हो ।

चालु आवको चैतसम्ममा पूँजीगत ट्रान्सफर १०.७ प्रतिशतले वृद्धि भई १२ अर्ब ८६ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २५.० प्रतिशतले कमी आई १२ अर्ब ३५ करोड रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर ११ अर्ब ६२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ४८ करोड रुपैयाँ रहेको थियो ।

चालु आवको चैतसम्ममा शोधनान्तर स्थिति ४२ अर्ब ५४ करोडले बचतमा रहेको छ । गत आवको अवधिमा शोधनान्तर स्थिति ३६ अर्ब ६१ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड १० लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३४ करोड ८१ लाखले बचतमा रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ को नौ महिनामा कुल वस्तु निर्यात २०.२ प्रतिशतले वृद्धि भई ९४ अर्ब ७७ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो निर्यात १२.९ प्रतिशतले वृद्धि भएको थियो । यो अवधिमा सोयाविन तेल, अलैंची, जुटका सामान, धागो, पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७७/७८ को नौ महिनामा कुल वस्तु आयात १३.१ प्रतिशतले वृद्धि भई ११ खर्ब ११ अर्ब ४० करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो आयात ७.५ प्रतिशतले घटेको थियो । वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, चामल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपूजा, चाँदी लगायतका वस्तुको आयात घटेको छ ।

आर्थिक वर्ष २०७७/७८ को नौ महिनामा कुल वस्तु व्यापार घाटा १२.५ प्रतिशतले वृद्धि भई १० खर्ब १६ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । गत आवकोे सोही अवधिमा यस्तो घाटा ८.९ प्रतिशतले घटेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।