नेपाल क्लियरिङ्ग हाउसले पारित गर्यो ३८ प्रतिशत बोनस शेयर बितरणको प्रस्ताव


नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारण सभा सम्पन्न गरेको छ । क्लियरिङ हाउसले भर्चुअल माध्यमबाट साधारण सभा सम्पन्न गर्दै ३८ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी २९ करोड ८० लाख रुपैंया रहेकोमा ३८ प्रतिशत बोनस बितरण पश्चात कम्पनीको चुक्ता पूँजी ४१ करोड १२ लाख ४० हजार रुपैंया पुगेको छ ।

बोनस शेयरको कर प्रयोजनका निम्ती २ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव पनि साधारण सभाले पारित गरेको छ ।
बिस्तारित पूँजीबाट भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु स्थापना गर्ने तथा जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने र नेशनल पेमेन्ट स्वीचको कार्यान्वयन गर्ने योजना क्लियरिङ हाउसले बनाएको छ ।

गत आर्थिक वर्षमा विद्युतीय भुक्तानीको वृद्धिदर उल्लेख्य भए पनि कम्पनीको खुद नाफा भने २२ प्रतिशतले घटेको क्लियरिङ हाउसले जनाएको छ । कम्पनीले कुल पुँजी तथा जगेडा कोषको अनुपातमा २९ प्रतिशत बराबरको रिटर्न अन इक्विटी प्राप्त गरेको छ । अघिल्लो वर्षको तुलनामा यस्तो प्रतिफल ३८ प्रतिशतले घटेको हो ।
कारोबार शुल्कहरु घटाइएको तथा गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा निशुल्क सेवा दिएका कारण कम्पनीको खुद नाफा घटेको क्लियरिङ हाउसले जनाएको छ । यसका अलावा विद्युतीय भुक्तानीमा बढेको प्रतिष्पर्धाको असर पनि नाफा घट्नुको कारक भएको हाउसले जनाएको छ ।

साधारण सभाले कम्पनीको संञ्चालक समितिमा वाणिज्य बैंकहरुलाई प्रतिनिधित्व गर्ने ३ जना नयाँ सञ्चालकहरुको निर्विरोध चयन गरेको छ । हाल वाणिज्य बैंकलाई प्रतिनिधित्व गर्ने सञ्चालकहरुको कार्यकाल समाप्त भए सँगै रिक्त पदमा हिमालयन बैंकका महाप्रबन्धक उज्ज्वल राजभण्डारी, ग्लोबल आईएमई बैंकका वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र सिद्धार्थ बैंकका आइ.टि. प्रमुख सृजन मल्ल निर्विरोध भएका हुन् ।

नेपाल राष्ट्र बैंकको १० प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९० प्रतिशत स्वामित्व रहेको कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंकका तर्फबाट ३ जना, विकास बैंकका तर्फबाट १ जना र फाईनान्स कम्पनीका तर्फबाट १ जना गरी हाल ६ जना सञ्चालक छन् ।

कम्पनील सञ्चालन गर्दै आएका विभिन्न किसिमका भुक्तानी प्रणालीबाट गत आर्थिक वर्षमा ९७ खर्ब रुपैंया बराबरको २ करोड ६ लाख भुक्तानी कारोबारहरु राफसाफ गरेको थियो । हाल ६३ सदस्य बैंक तथा वित्तीय संस्थाहरुका ५ हजार ८०० शाखाहरुबाट कम्पनीले आफ्ना सेवाहरु प्रदान गर्दै आएको छ । ५८ वटा गैर–बैंकिङ संस्थाहरु क्लियरिङ हाउसको अप्रत्यक्ष सदस्य रहेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।