चीनमा तौल घटाउने खाने औषधि स्वीकृत


चीनले पहिलो पटक मुखबाट सेवन गरिने जीएलपी–१ समूहको तौल घटाउने औषधि स्वीकृत गरेको छ । अमेरिकी कम्पनी एली लिलीले उत्पादन गरेको ‘ओर्फोग्लिप्रोन’ नामक औषधि ‘मुयुडा’ ब्रान्डमा बिक्री गर्न अनुमति दिइएको हो ।

चीनको राष्ट्रिय चिकित्सा उत्पादन प्रशासनले मोटोपना वा बढी तौलसँगै सम्बन्धित कम्तीमा एउटा स्वास्थ्य समस्या भएका वयस्कको उपचारका लागि उक्त औषधि स्वीकृत गरेको हो । दिनमा एक पटक सेवन गर्नुपर्ने यो औषधि गत अप्रिलमा अमेरिकामा पनि स्वीकृत भएको थियो ।

यससँगै एली लिली चीनमा मुखबाट सेवन गरिने जीएलपी–१ औषधि स्वीकृत गराउने पहिलो कम्पनी बनेको छ । सुईबाट दिइने यस्ता औषधि भने एली लिलीसहित डेनमार्कको नोभो नोर्डिस्क र चिनियाँ कम्पनी इनोभेन्टले यसअघि नै त्यहाँ उपलब्ध गराउँदै आएका छन् ।

जीएलपी–१ औषधिले भोक कम गर्ने र रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने प्राकृतिक हर्मोनको नक्कल गरी तौल घटाउन सहयोग गर्छ । सुईबाट दिइने औषधिको विकल्पका रूपमा खाने औषधि ल्याउन उत्पादक कम्पनीहरूबीच प्रतिस्पर्धा बढेको छ ।

‘द ल्यान्सेट’ मा सन् २०२५ मा प्रकाशित अध्ययनअनुसार सन् २०५० सम्ममा चीनमा बढी तौल वा मोटोपना भएका वयस्कको सङ्ख्या ६३ करोड पुग्ने अनुमान छ । त्यस्तै, राष्ट्रिय स्वास्थ्य आयोगले सन् २०३० सम्ममा देशको ६५ प्रतिशत जनसङ्ख्यामा बढी तौल वा मोटोपनाको समस्या हुने चेतावनी दिएको छ ।

प्रकाशित मिति: २७ कार्तिक २०८३, शुक्रबार  १५ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।