सिद्धार्थ बैंकको २५० करोडको ऋणपत्र आउँदै, किन निष्काशन गदैछन् बैंकहरुले ऋणपत्र ?

0
Shares

सिद्धार्थ बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्र्न नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएको छ ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २५ लाख इकाई (युनिट) ऋणपत्र बिक्री गर्ने अनुमति पाएको हो ।

बैंकले ‘१०.२५ % सिद्धार्थ बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । निष्कासन अनुमति पाएको कुल २५ लाख इकाईमध्ये एक अर्ब रुपैयाँ बराबरको १० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी एक अर्ब ५० करोड बराबरको १५ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बेच्नेछ ।

७ वर्ष अवधिको यो ऋणपत्रमा बार्षिक १०.२५ प्रतिशत ब्याज उपलब्ध गराउने बैंकले जनाएको छ । उक्त ऋणपत्रको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले मध्यम खालको सुरक्षा जनाउने एलबीबीबी प्लस दिएको छ।

गत असारसम्मको विवरण अनुसार बैंकको पूँजीकोष प्रयाप्तता १२.५६ प्रतिशत छ । बैंकले गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा २१.२५ प्रतिशतले बढाएर एक अर्ब ९० करोड ४१ लाख खुद नाफा आर्जन गरेको थियो । जसको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ९८ पैसा छ ।

बैंकले गत आर्थिक वर्षमा दुई अर्ब २५ करोडको ऋणपत्र बिक्री गरेको थियो । बैंकले गत मंसिर २३ गतेदेखि पुस २३ गतेसम्म उक्त ऋणपत्र जारी गरेको थियो। बैंकले १०.५ प्रतिशत ब्याजदरमा एसबिएस डिबेञ्चर २०८२ जारी गरेको थियो । यो ऋणपत्र ७ वर्ष अवधि पश्चात परिपक्व हुनेछ ।

किन निष्काशन गदैछन् बैंकहरुले ऋणपत्र ?

चालु आर्थिक बर्षको मौद्रिक नीतिले सबै वाणिज्य बैंकहरुले चुक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्था गरेको छ । वाणिज्य बैंकहरुले २०७७ असार मसान्तभित्र आफ्नो चुक्ता पूँजीको न्यूनतम २५ प्रतिशत बराबर अनिवार्य ऋणपत्र जारी गर्नुपर्नेछ ।

यसरी जारी गरेरको ऋणपत्रबाट आएको शतप्रतिशत रकम कर्जा प्रवाहको लागि उपयोग गर्न सक्ने मौद्रिक नीतिमा उल्लेख छ। ऋणपत्र जारी गर्दा बैंकहरुलाई पूँजी लागत कम पर्ने र शेयरधनीको प्रति शेयर आम्दानीमा थप सुधार आउनेछ । बैंकहरुले पूँजीकोष सबल बनाएर अतिरिक्त पूँजी परिचालनका लागि ऋणपत्र जारी गर्ने गरेका छन् । 

साथै राष्ट्र बैंकले काउन्टर साइक्लिकल बफर लागु गरेकाले पनि बैंकहरुलाई कम्तिमा १३ प्रतिशत पूँजीकोष बनाउनुपर्ने बाध्यता छ । जसका लागि पनि पूँजीकोष कमजोर हुने  बैंकहरुले ऋणपत्र बिक्री गर्नुपर्ने आवश्यकता छ । ऋण पूँजीबाट थप पूँजी संकलन गर्दा शेयरको संख्या बढ्दैन। यसले गर्दा प्रति शेयर आम्दानी बढ्दै जान्छ। यसले शेयरको मुल्यमा सकारात्मक प्रभाव पार्ने विश्लेषकहरुको भनाई छ ।