संस्थागत बीमा अभिकर्ता निर्देशिका खारेज गर्न माग

0
Shares

पेशागत बीमा अभिकर्ता संघले बीमा समितिद्धारा जारी संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका २०७८ खारेज गर्न माग गरेको छ ।

संघले विज्ञप्तिमार्फत लाखौं अभिकर्ताहरुको रोजीरोटी खोस्ने नियतसहित समितिले संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका जारी गर्दै नेपालमा असफल भैसकेको बैंकास्योरेन्सलाई पुनः ब्यूँताउने मनसायबाट संघ सस्था कम्पनीहरुलाई अभिकर्ताको लाइसेन्स दिन जारी गरिएको निर्देशिका तत्काल खारेज गर्न माग गरेको हो ।

समितिले जेठ २६ गते बुधबार बीमा व्यवस्थालाई प्रवद्र्धन गर्ने उद्देश्यले सबै संघ संस्थालाई संस्थागत बीमा अभिकर्ताको इजाजतपत्र दिने गरी संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका जारी गरेको थियो ।

समितिले उक्त निर्देशिकामार्फत लाखौं अभिकर्ताहरुको रोजी–रोटी खोसेर सीमित माफियाहरुको हितका लागि संस्थागत अभिकर्ता निर्देशिका जारी गर्ने निर्णय गरेको संघले आरोप लगाएको छ ।

बीमा व्यवसाय नितान्त प्राविधिक विषय रहेको भन्दै संघले बीमालाई संस्थागत अभिकर्ताको नाममा बैंक, वित्त कम्पनी, मनि ट्रान्सफर, डिजिटल भुक्तानी प्रदायक, सहकारी जस्ता संस्थालाई जिम्मा दिने हो सिङ्गो बीमा ब्यवसायमा धरासायी हुने दावी गरेको छ ।

समितिद्धारा जारी ‘संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका २०७८’ तत्काल खारेज नभए, अभिकर्ताको अस्तित्व रक्षाको लागि, पेशागत हक, नेपाली बीमा व्यवसायमा माफिया प्रवेश रोक्न तथा व्यवसायिक स्थायित्वको लागि बीमा समितिका विरुद्धमा सम्झौताहिन आन्दोलनमा जाने संघको दावी छ ।

तीन करोड जनसंख्या भएको देशमा छ लाखको अभिकर्ता हाराहारीमा लाइसेन्स वितरण गरिदा त्यसलाई प्रशिक्षित र व्यवस्थित नबनाईएको संघको आरोप छ । लाइसेन्स पाएका ६ लाख अभिकर्तालाई पेशागत दक्षता अभिबृद्धि गरी नेपाली बीमा व्यवसायमा स्थायीत्व दिनुको सट्टा चलिरहेको बीमा बजारलाई खल्बल्याउने र सीमित सामन्त तथा दलालहरुको कब्जामा बीमा ब्यवसाय पु¥याएको संघले आरोप लगाएको छ ।

बीमा समिति कुनै एउटा स्टक होल्डरको पक्षमा मात्र काम गर्ने निकाय हुनु नहुने संघको तर्क छ । नियमनकारी निकायले सबै पक्षलाई समेटेर, एकताबद्ध बनाएर अगाडि बढाएको अवस्थामा नेपाली बीमा क्षेत्रले ठूलो उपलब्धी हासिल गर्न सम्भव रहेको संघको धारणा छ ।

“संस्थागत बीमा अभिकर्ताको निर्देशिकाले अभिकर्ताहरुलाई कुनै असर गर्दैन”

बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले संस्थागत बीमा अभिकर्ताको निर्देशिकाले अभिकर्ताहरुलाई कुनै असर नपर्ने बताए ।

संस्थागत अभिकर्ता पहिलेदेखि नै ऐन नियममा रहेको र नियम अनुसार अहिले पनि कतिपयले संस्थाले अभिकर्ताको काम पनि गरिरेहेको उनले जानकारी दिए । छरिएर रहेका संस्थागत अभिकर्तालाई एकिकृत गर्नका संस्थागत बीमा अभिकर्तासम्बन्धी निर्देशिका ल्याईएको उनले बताए ।

“संस्थागत बीमा अभिकर्ताको निर्देशिकाले हाम्रा अभिकर्ताहरुलाई कुनै असर गर्दैन । अभिकर्ताहरुको रोजी–रोटी खोसिने काम समितिले गरेको हैन र गर्दा पनि गर्दैन । उहाँहरुलाई ठेस लाग्ने कुरा हामीले गरेको छैन” उनले भने ।

सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षमा एक तिहाई जनसंख्यामा बीमाको पहुँच पुर्याउने लक्ष्य लिएको छ । सरकारको लक्ष्य भेट्नका लागि पनि यस्तो खालको निर्देशिका ल्याउन जरुरी गरेको उनको भनाई छ ।  बीमा अभिकर्ताहरु गाँउ गाँउ पुगेर काम गर्ने गरेको भएता पनि संस्थागत अभिकर्ताको सहयोगले बीमाको पहुँच बढ्ने उनको बुझाई छ ।

बीमाको दायरा तथा व्यवसाय अभिवृद्धिका लागि संस्थागत बीमा अभिकर्ताको आवश्यकता रहेको उनको भनाई छ । “गाउँ गाँउमा सहकारी, विभिन्न संघ समुह छन्, त्यस्ता समुहमा गएर बीमाको ज्ञान दिन सकियो तिनीहरुले पनि बीमाको दायरा बढाउन सहयोग गर्छन्” उनले भने ।

“बीमा अभिकर्ताहरुले पनि आफुलाई प्रतिस्पर्धी बनाउनु पर्यो । सूचना प्रविधि तथा आइटीको जमाना छ । अभिकर्ताहरुले पनि प्रविधिमैत्री सेवा दिनु पर्यो । अभिकर्ताहरु पनि संगठित भए भने फाइदा नै छ”, संस्थागत अभिकर्ताले कुनै पनि किसिमको इन्सेन्टिभ पाउँदैनन् । बीमा गराए वापत खाली कमिसन मात्रै पाउँछन् ।

संस्थागत बीमा अभिकर्ता खोल्ने वित्तीकै पाँच लाख अभिकर्ताको रोजिरोटि खोसियो भन्न नसुहाँउने उनको भनाई छ । अभिकर्ता, कम्पनी र समिति मिलेर नै बीमा व्यवसायलाई बढाउन र सबैमा बीमाको पहुँच पुर्याउने उनको तर्क छ ।

अभिकर्तालाई असर पर्ने काम केही नगरेको बताउँदै उनले “कस्तो अभिकर्तालाई कसरी अघि लानु पर्छ भन्ने त कम्पनीहरुले नै हो, वास्तविक काम त बीमकको हो, ऐन र नियमले दिएको कुराहरु, अल्टरनेटिभ कुराहरु खोज्नै पर्छ, बजारमा जानै पर्छ, अन्य मुलुकमा हेर्दा बैंकास्योरेन्सले बीमा व्यवसाय धेरै माथि पुगेको देखिन्छ” बताए ।

अभिभावको रुपमा बीमा समिति काम गर्न तत्पर रहेको उनले बताए । इन्ड्रष्टिजमा बसे पछि बीमक, अभिकर्ता र बीमा समिति मिलेर काम गर्नु पर्ने उनको भनाई छ । बीमा कम्पनी र बीमा अभिकर्ताले हातेमाले गरेर अगाडि बढ्नु पर्ने उनको भनाई छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।