७१ अंकले बजार घट्दा ४ कम्पनीको शेयर मूल्य बढ्यो, ऋणपत्रमा आकर्षण


पछिल्ला केही दिनदेखि घट्ने क्रमममा रहेको शेयर बजार सोमबार पनि फराकिलो अंकले ओरालो लागेको छ । बजार खुलेदेखि नै ओरालो यात्रामा लागेको बजारमा विगतको तुलनामा खरिदकर्ताको तुलनामा बिक्रीकर्ताहरु धेरै देखिएका छन् ।

प्रि ओपनिङमा सुधार देखिए पनि ४ घण्टाको अवधिमा बजार निरन्तर ओरालो लागेको हो । तीन पटकसम्म अडिन खाजेको बजार अन्तिम समयसम्ममा आउँदा ७१.०६ अंकले घटेको हो । योसँगै बजार परिसुचक नेप्से २८३४.४१ अंकमा ओर्लिएको छ ।

सोमबारको कारोबार शैली हेर्दा लगानीकर्ताले नोक्सान नियन्त्रणको पहल गरेको देखिन्छ । सोमबार बिक्रेताको अनुपातमा केही कम खरिदर्ता देखिएको भए पनि सहभागिता उत्साजनक देखिएको छ । जसका कारण साढे ११ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ ।

कुल २२७ कम्पनीका २ करोड २५ लाख २२ हजार ४९१ कित्ता शेयरहरु १ लाख २७ हजार ८३७ पटक किनबेच हुँदा ११ अर्ब ६१ करोड ९० लाख ३५ हजार रुपैंयाको कारोबार भएको छ ।

समुहगत आधारमा हेर्दा सबै सूचकमा भारी गिरावट आएको बजारमा बीमा कम्पनीहरुको शेयर मूल्य घेरै घटेको छ । त्यस पछि क्रमिक रुपमा विकास बैंक, होटल, जलविद्युत लगायत समुहका कम्पनीको शेयर मूल्यमा अधिक गिरावट देखिएको छ । वाणिज्य बैंक समुहमा मात्र ३४.२२ अंकको गिरावट देखिएको बजारमा सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स लगायतका सबै सूचक ओरालो लागेका छन् ।

९ प्रतिशतभन्दा धेरै अन्तरमा शेयर मूल्य घट्ने कम्पनीको संख्या ५ छ भने ८ प्रतिशतले शेयर मूल्य घट्ने कम्पनीको संख्या १० छ । यस क्रममा युनिभर्सल पावर कम्पनी, पोखरा फाइनान्स, गुहेश्वरी मर्चेण्ट, युनियन हाइड्रो लगायतका कम्पनी रहेका छन् ।

नेपाल स्टक एक्सचेञ्जको वेबसाइटमा एउटै कम्पनीको कारोबार विबरण २ वा सोभन्द्या बढी पटक देखाएका कारण कम्पनीहरुको संख्या धेरै देखिएको छ ।

बजार ओरालो लाग्दै गर्दा विभिन्न बैंक तथा वित्तीय संस्थाका ऋणपत्रको मूल्य भने बढेको छ । कुल १८ वटा स्क्रीप्टको मूल्य बढेको देखिए पनि त्यसमा ४ कम्पनीको मात्र शेयर मूल्य बढेको छ । शतप्रतिशत हकप्रद निष्काशनका लागि नारायणी डेभलपमेण्ट बैंक धितोपत्र बोर्ड पुगे पछि यस बैंकको शेयर मूल्यमा सबैभन्दा धेरै सुधार देखिएको छ । त्यस पछि एचआईडिसीएल, नेपाल टेलिकम र वरुण हाइड्रोको मात्र शेयर मूल्य बढेको बजारमा ऋणपत्रहरुको मूल्य बढेको छ ।

एनबीबीएल डिबेञ्चर, एसबिएल डिबेञ्चर, नबिल डिबेञ्चर, लक्ष्मी बैंक डिबेञ्चर, प्रभु बैंक डिबेञ्चर, सनराइज बैंक डिबेञ्चर, ग्लोबल आईएमई डिबेञ्चर, एनआईएशि एशिया डिबेञ्चर लगायतको मूल्य बढेको छ । यसका साथै सानिमा लार्ज क्याप फण्ड, कुमारी इक्वीटी फण्ड र लक्ष्मी इक्वीटी फण्डका इकाईहरुको मूल्य पनि बढेको छ ।

बजार घटोस भन्न चाहने र बढिरहेको देख्न चाहनेहरुका आआफ्नै शैलीका कारण पनि बजार ओरालो लागेको हो । यस दौरान विभिन्न माध्यमबाट बजारका सम्बन्धमा गरिँदै आएका फरक फरक किसिमका आँकलनबाजीको सिधार असर सामान्य लगानीकर्तामा परिरहेको छ ।

अस्वभाविक रुपमा सिमित व्यक्तिहरुले बढाएका धेरैजसो कम्पनीहरुको शेयरमा भने सोमबार खरिद चाप देखिएन । यसले कर्नरिङमा सक्रिय हुनेहरु समेत अफ्टेरोमा परेको आभाष सोबारको बजारले गराएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।