दोहोरो अंकले घटेको बजारमा कारोबार रकम पनि घट्दै


साताको अन्तिम दिन बिहीबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । खुले देखि नै सुस्त देखिएको बजार केही समय उकालो पनि लागेको थियो । त्यस पछि क्रमिक रुपमा ओरालो लाग्दा बजार सुचक नेप्से १६.९६ अंकको गिरावटमा अडिएको छ ।

बिहीबारको गिरावटसँगै बजार परिसुचक नेप्से २८४३ अंकमा अडिएको हो । यस क्रममा २१९ कम्पनीका १ करोड ३२ लाख १० हजार ३६९ कित्ता शेयरहरु ७८ हजार ९८३ पटक किनबेच हुँदा ७ अर्ब ३ करोड ३६ लाख रुपैंयाको कारोबार भएको छ । बजार सुचकमा सुस्त गिरावट देखिँदै गर्दा दैनिक रुपमा कारोबार रकममा पनि उस्तै गिरावट देखिन थालेको हो ।

बजार ओरालो लाग्दै गर्दा बिहीबार समग्रमा साना तथा ठुला कम्पनीहरुको शेयर मूल्यमा उस्तै किसिमको गिरावट आएको छ । समग्र बजार सूचक नेप्से १६.९६ अंकले घट्दा ठुला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स ३.१७ प्रतिशतले घटेको छ । प्रतिशतका आधारमा हेर्दा नेप्से ०.५९ प्रतिशतले घटेको हो भने सेन्सेटिभ ०.६० प्रतिशतले घटेको हो । यो आँकडाले साना ककम्पनीसँगै ठुला कम्पनीको शेयर मूल्यमा पनि समानान्तर गिरावट आएको बुझाउँछ ।

बिहीबार ३८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६६ कम्पनीको शेयर मूल्य घट्दा ९ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । सबैभन्दा धेरै शेयर मूल्य बढ्ने कम्पनीको शीर्षस्थानमा माथिल्लो तामाकोशी जलविद्युत आयोजना रहेको । तामाकोशीको शेयर मूल्य १० प्रतिशतले बढेको बजारमा अरु कम्पनीको २ प्रतिशतसम्म मात्र शेयर मूल्य बढेको छ । जसमा तामाकोशीलाई पछ्याउने कम्पनीहरु समृद्धि फाइनान्स, रुरु जलविद्युत, कृषि विकास बैंक, नेपाल हाइड्रो डेभलपर, ओरियण्टल होटल्स, लक्ष्मी उन्नती कोष लगायत रहेका छन् ।

धेरै शेयर मूल्य घट्ने कम्पनीको सूचीमा छिमेक लघुवित्त संस्थापक शेयर रहेको छ । संस्थापक शेयरको अलग व्यवस्था अनुसार भएको कारोबारले ६१ प्रतिशत गिरावट देखिन्छ । साधारण र नियमित कारोबारमा आउने कम्पनीको हकमा अधिकतम १० प्रतिशतसम्म मात्र गिरावट वा वृद्धि हुन सक्ने व्यवस्था छ ।

नियमित कारोबारतर्फ धेरै शेयर मूल्य घट्ने कम्पनीको शीर्षस्थानमा ङादी ग्रुप पावर, बरुण हाइड्रो, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल इन्स्योरेन्स, कर्णली डेभलपमेण्ट बैंक लगायतका कम्पनी रहेका छन् ।

बजार सुस्त देखिँदै गर्दा घट्दो मूल्यमा शेयर खरिद गर्नेहरु पनि उत्तिकै हाबी भएको बजारमा २ वटा उपसमुहमा वृद्धि देखिएको छ भने बाँकी सबै उपसमुहकमा गिरावट आएको छ । होटल र जलविद्युत उपसमुहमा सुधार आउँदै गर्दा बजारमा जीवन बीमा र निर्जीवन बीमा कम्पनीको शेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ ।

बिहीबार नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै रकमको शेयर किनबेच भएको बजारमा नेपाल इन्स्योरेन्स, माथिल्लो तामाकोशी, नेशनल हाइड्रो, एचआईडिसिएल लगायत कम्पनीको शेरै रकमको शेयर किनबेच भएको छ ।

कारोबार संख्याका आधारमा नेपाल पुर्वाधार विकास बैंकको धेरै पटक कारोबार भएको बजारमा माथिल्लो तामाकोशी, पुनर्बीमा कम्पनी, नेपाल इन्स्योरेन्स लगायतको धेरै पटक शेयर किनबेच भएको छ ।
कारोबार भएको शेयर संख्याका आधारमा भने नेशनल हाइड्रो, एचआईडिसिएल, माथिल्लो तामाकोशी, नेपाल इन्स्योरेन्स लगायतका कम्पनी रहेका छन् ।

पछिल्ला दिनमा तिब्र अंकमा बजार बढ्ने र घट्ने भईरहेका बेला लगानीकर्ता भने अन्यौलमा परेको कारोबार रकम र कारोबार संख्याले देखाउँछ । विगतका दिनमा डेढ लाख पटकसम्म शेयर किनबेच भएकोमा बिहीबार सूचक र कारोबार रकमसँगै कारोबार संख्या पनि घटेको छ । बिहीबार ७९ हजार पटक मात्र शेयर किनबेच भएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।