एसएमई प्लेटफर्म विकास गर्न धितोपत्र बोर्डले माग्यो नेप्सेसँग सुझाव, आकर्षित गर्ने मोडालिटी अभाव


साना तथा मझौला कम्पनीलाई पूँजी बजारमा प्रवेश गराउने उद्धेश्यका साथ धितोपत्र बोर्डले आवश्यक तयारीका लागि नेपाल स्टक एक्सचेञ्जसँग सुझाव मागेको छ । बजारमा साना तथा ठूला पूँजीकरण भएका कम्पनीहरुले एकै किसिमको व्यवस्था अन्तर्गत पूँजीको संकलन तथा परिचालन गर्दा साना तथा ठूला कम्पनीहरुको आवश्यकता अनुरुप वित्तीय औजार विकासमा कठिनाइ भएको बोर्डको भनाई छ ।

जसका कारण सरकारको नीति अनुरुप पूँजी बजार मार्फत् प्राथमिकताका क्षेत्रमा पूँजी परिचालन गर्ने कार्यक्रम निर्धारण तथा कार्यान्वयन गर्न समस्या देखिएको, बजारलाई व्यवस्थित गर्न नेपाल धितोपत्र बोर्डलाई आवश्यक नीतिगत लचकताको कमी हुन सक्ने देखिएको तथा सबै प्रकारका कम्पनीहरु एकै प्लेटफर्ममा सूचीकरण भई कारोबार हुँदा धितोपत्र सूचकांकहरुले बजारको यथार्थ प्रतिनिधित्व नगरेको बोर्डले जनाएको छ ।

यसै सन्दर्भमा बोर्डले ०७७।७८ को धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रमको १३ नम्बर बुँदामा साना तथा मझौला कम्पनीहरुको लागि छुट्टै कारोबार हुने गरी एसएमई प्लेटफर्म तथा अन्य कम्पनीको कारोबारका लागि मेन बोर्डको व्यवस्था गर्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई सहजीकरण गर्ने कार्यक्रम राखेको जनाएको छ ।

सोही कार्यक्रम बमोजिम नेप्सेमा सूचीकरण भएका तथा आगामी दिनमा सूचीकरण हुने साना तथा मझौला आकारका कम्पनीहरुको लागि उक्त कम्पनीहरुको चुक्ता पूँजी र बजार पूँजीकरणको आधारमा नेप्सेको छुट्टै कक्षमा सूचीकरण तथा कारोबार हुने गरी एसएमई प्लेटफर्मको व्यवस्था गरी कार्यान्वयनमा ल्याउन बोर्डले छिमेकी मुलुकमा भएको अभ्यासको अध्ययन गरेको जनाएको छ ।

“यस्तो प्लेटफर्मका लागि आवश्यक पूर्वाधार र कानूनी प्रावधान सम्बन्धमा छिमेकी देश लगायत विश्वका अन्य देशहरुको धितोपत्र बजारमा यस सम्बन्धमा अवलम्बन गरिएका असल अभ्यासहरुको समेत पुनरावलोकन तथा नेपालको साना तथा मझौला उद्योग लगायत औद्योगिक क्षेत्र तथा दोस्रो बजारको हालको अवस्था समेतको समिक्षा गरी बोर्डद्धारा प्रारम्भिक अध्ययन गरिएको थियो”, बोर्डले भनेको छ ।
सो अध्ययन प्रतिवेदनको सिफारिश अनुरुप कार्यान्वयनको लागि आवश्यक प्रकृया अगाडि बढाउन नेप्सेबाट गर्नुपर्ने तयारी तथा पूर्वाधारका सम्बन्धमा नेप्सेसंग राय सुझाव माग गरी अगाडि बढ्न उपयुक्त हुने देखिएकाले सोही बमोजिम नेप्सेसंग राय सुझाव माग गरिएको बोर्डले जनाएको छ ।

बजारमा सूचीकरण हुनका लागि ठुला कम्पनीहरुले नै इच्छा नदेखाई रहेको अवस्थामा साना तथा मझौला कम्पनी बजार प्रवेश गर्न रुचाउँछन् कि रुचाउँदैनन् भन्ने सम्बन्धमा भने अध्ययन भएको देखिँदैन । हामीकहाँ यस्ता कम्पनीको संख्या धेरै भए पनि नेप्सेले उपलब्ध गराउने प्लेटफर्ममा आउन सक्ने क्षमता राख्ने कम्पनी कति होलान् भन्ने सम्बन्धमा पनि अध्ययन भएको देखिँदैन ।

अर्कातिर अहिले नेप्सेमा सूचीकृत भएका लघुवित्त तथा थोरै पूँजी भएका कम्पनीहरुलाई कुन किसिमले सूचीकरणको व्यवस्था गर्ने भन्ने विषय पनि एसएमई प्लेटफर्म ल्याउँदै गर्दा उत्तिकै महत्वपूर्ण बन्छ । यस सम्बन्धमा नेप्से र धितोपत्र बोर्डले अझै बृहत अध्ययन र अनुसन्धान गरी बजारमा आउनका लागि प्रोत्साहन गर्ने वाताबरण बनाउनु पर्ने देखिन्छ । त्यसो नगर्ने हो भने प्लेटफर्म तयार भए पनि साना तथा मझौला कम्पनी आकर्षित नहुँदा प्रणालीको विकास लगायतमा लगानी मात्र हुने अवस्था आउन सक्छ । अहिले ५० करोडभन्दा ठुलो आकारको पूँजी भएका कम्पनीलाई नै बजार प्रवेश गराउन आकर्षित गर्ने योजना ल्याउन सम्भव नभएको अवस्थाले पनि एसएमईहरु बजारमा आउने न्युन सम्भावनालाई उजागर गर्दछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।