बैंक तथा वित्तीय संस्थाले निष्क्रिय खाताको रकम के गर्छन् ?

0
Shares

बैंक तथा वित्तीय संस्थामा चल्ती तथा बचत खाता खोलेपछि ६ र तीन वर्षमा एउटा कारोबार गरेको हुनुपर्छ । सो अवधिसम्म पनि कुनै कारोबार गरिएन भने खाता निष्क्रिय हुन्छ । यसरी लामो समयसम्म पनि खाता निष्क्रिय नै रहेको खण्डमा हकदावीको ३५ दिने सूचना प्रकाशित गरी उक्त रकम नेपाल राष्ट्र बैंकमा पठाउनु पर्ने हुन्छ ।

मुद्दती निक्षेपको सन्दर्भमा भने सिमित समयमा लागि ब्याज आर्जन गर्ने उद्देश्यले जम्मा गरिन्छ । सो मुद्दतीबाट आउने ब्याजजम्मा गर्नका लागि बचत खाता खोल्नु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । निक्षेप परिपक्क भएपछि सम्बन्धित निक्षेपकर्ता १० वर्षसम्म सम्पर्कमा नआएको खण्डमा र अन्य कुनै हकदावी पनि नपरेको अवस्थामा पनि सोहि प्रक्रियाको सूचना प्रकाशीत हुन्छ । यस्तो खाताको रकम १० वर्षसम्मपनि चल्ती नभएको खण्डमा सो हकदावी सूचना प्रकाशित गरी २० वर्ष अवधिपछि नेपाल राष्ट्र बैंक पठाउनु पर्ने हुन्छ ।

यसरी निक्रिय रहेको खाता तथा हकदावी पर्न नआएको मुद्दती निक्षेपको रकम सम्बन्धीत बैंक तथा वित्तीय संस्थाले ५ वर्षमा एक पटक राष्ट्रिय स्तरको पत्रिकामा सूचना प्रकाशित गरी हकदावी गर्न आह्वान गर्छ । यसरी सूचना निकालेको ३५ दिन भित्र हकदावी पर्न नआएममा सो निक्षेप रकम बैंक वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको बैंकिङ विकास कोषमा जम्मा पर्छ ।

तर, हरेक ५ वर्षमा बैंक वित्तीय संस्थाले प्रकाशित गरेको सूचना अनुसार निष्क्रिय भएको २० वर्ष ननाघेको खण्डमा हकदावी पर्न आएमा हकदावी कर्ताले उक्त रकम पाउछन् । तर २० वर्ष पछि भने उक्त रकम पाइदैन । निक्षेपको हकदावी गर्दा सम्बन्धित व्यक्ति भए व्यक्ति र नभए उक्त व्यक्तिको नाता सम्बन्ध खुलाउने कागजात सहित बैंकमा उपस्थित हुनु पर्नेछ ।

के छ कानुनी व्यवस्था ?

नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशन २०७७ अनुसार बैंक तथा वित्तीय संस्थामा दश वर्षदेखि चल्ती नभएको वा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजीम हकदाबी नपरेको निक्षेप खाताहरुको विवरण प्रत्येक आर्थिक वर्षको पहिलो महिना भित्र राष्ट्र बैंकमा पठाउनु पर्नेछ । साथै यस प्रकारको निक्षेप रकम लिन आउने सूचना सम्बन्धित बैंक वा वित्तीय संस्थाले प्रत्येक ५ वर्षमा एक पटक राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकासन गर्नुका साथै सो सम्बन्धी विस्तृत विवरण आफ्नो वेभसाइटमा समेत राख्नु पर्दछ ।

बैंक तथा वित्तीय संस्थाले कारोबार नभएको बचत खाताको हकमा ३ वर्ष र कल खाता एवम् चल्ती खाताको हकमा ६ महिना भन्दा बढी समय व्यतित भएपछि त्यस्ता खाता निस्कृय गर्नुपर्ने व्यवस्था रहेको छ । मुद्दती निक्षेपको सन्दर्भमा परिपक्क भएको १० वर्षपछि पनि हकदावी पर्न नआएको खण्डमा हकदावीको सूचना प्रकाशित गरी व्यवस्थापन गर्नु पर्ने हून्छ ।

बैंकिङ विकास कोषमा कति छ पैसा ?

केन्द्रीय बैंकका अनुसार उक्त रकम २० वर्ष सम्म बैंकमा बुझ्न नआएमा वा उक्त निक्षेपमा कसैको हकदावी पर्न आएन भने सो रकम राष्ट्र बैंकको बैंकिङ विकास कोषमा जम्मा हुनेगरेको राष्ट बैंकका प्रवक्ता देव कुमार ढकालले जानकारी दिए । नेपाल राष्ट्र बैंकको नाफा, लामो समयसम्म निष्क्रिय रहेको निक्षेप लगायतको रकम बैंकिङ विकास कोषमा जम्मा हुन्छ । उक्त कोषको हालको आकार ५१ अर्ब रुपैयाँ बरारवरको रहेको उनी बताँउछन् ।

राष्ट्र बैंकले नाफा बाड्दा प्रत्येक वर्ष उक्त कोषमा रकम थपिने राष्ट बैंकका प्रवक्ता देव कुमार ढकालले जानकारी दिए । प्रवक्ता ढकालले उक्त कोषको रकम पुनरकर्जाका लागि प्रयोग हुँदै आएको बताए । “अघिल्लो वर्ष सम्म यो कोषमा जति रकम हुन्छ त्यही बराबरको पुनरकर्जा दिइने गरेको थियो”, उनले भने,“गत वर्ष देखि उक्त कोषमा भएको रकमको ५ गुणा सम्म कर्जा प्रवाह गर्न सकिने व्यवस्था रहेको छ । ” यस कोषमा अघिल्लो वर्ष ४२ अर्ब २८ करोड रहेको थियो भने यसमा यस पटक ९ अर्ब २५ करोड थप गरि ५१ अर्ब ५५ करोड रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।