नेप्सेमा असार मसान्त प्रभावः सूचक र कारोबार दुबै घट्यो, महङ्गा शेयरमा आकर्षण

0
Shares

चालु आर्थिक वर्ष समाप्तीतर्फ लाग्दै गर्दा त्यसको प्रभाव शेयर बजारमा परेको छ । जसले साताको दोस्रो कारोबार दिन पनि शेयर बजार दोहोरो अंकले घटेको छ । बजार घटेपनि महङ्गा शेयरमूल्य बढेको कम्पनीका मूल्य भने बढेको छ । शीर्ष शेयरमूल्य बढ्ने दश कम्पनीमध्ये चारवटा उच्च शेयरमूल्य भएका कम्पनीहरु रहेका छन् ।

असार मसान्त नजिकिएसँगै व्यवसायीहरूलाई बैंक तथा वित्तीय संस्थाको ब्याज र कर तथा किस्ताहरू तिर्ने तनाव सुरु भएको छ । जसले शेयर बजार घट्न मद्दत पुगेको हो । कर कार्यालयले असार २५ गतेभित्र कर तिर्न पत्राचार गरिसकेको अवस्था छ ।  त्यसैको प्रभाव सोमबारको बजारमा देखिएको छ । बैंक ब्याज र कर भुक्तानीपछि भने बजारले गति लिनेछ । चालु आर्थिक वर्षको समाप्तीतर्फ लाग्दै गर्दा यस आर्थिक वर्षमा सूचीकृत कम्पनीको लगभग कमाईको रुपरेखा आंकलन हुने गर्दछ । यसपछि लाभांशमा आधारित लगानी बढ्दा बजारले गति लिने अपेक्षा गर्न सकिन्छ ।

सोमबार नेप्से सूचक ११.७८ अंकले घटेर २८२२.७३ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०४ अंकले घटेर ५२८.४१ बिन्दुमा झरेको छ । ठूला कम्पनीको भाय त्यति धेरै नघठेकाले पनि बजारले गति लिनेमा लगानीकर्ता आशावादी रहेका छन् ।

आज कूल २२४ वटा कम्पनीको एक करोड ६३ हजार ६३६ कित्ता शेयर ८२ हजार ८४६ वटा संख्याको कारोबारबाट ४ अर्ब ५८ करोड २२ लाख १२ हजार ५ सय ७९ रूपैयाँ बराबरमा खरिद बिक्री हुँदा भएका छन् । आइतबार नेप्से सूचक ८.४८ अंकले घट्दा ५ अर्ब ५ करोडको कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४७ करोडले घटेको हो ।

सोमबार कारोबार भएका कूल १३ समूहमध्ये ५ वटा बढेको छ भने बाँकी ८ वटा घटेको छ ।ब्यापार र उत्पादनमुलक इन्डेक्स ३ प्रतिशत धेरैले बढ्दा अन्य, म्युचुअल फण्ड, र लगानीको सूचक पनि सकारात्मक भएका छन् । आजको बजारमा विकास बैंक र फाइनान्सको सूचक सर्वाधिक साढे २ प्रतिशत हाराहारीमा घट्ला बहोटल जलविद्युत र निर्जीवन बीमको सूचक पनि १ प्रतिशत बढीले ओरालो लागेका छन् ।

हिमालयन डिष्टीलरीको उच्च कारोबार

सोमबार हिमालयन डिष्टीलरी कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४१ करोड २० लाख ८९ हजार रूपैयाँको शेयर खरीद बिक्री भएको हो ।

अपर तामाकोशी १९ करोड, नेपाल बैंक १५ करोड, निफ्रा १३ करोड, एनटिसी १३ करोड, नेशनल हाइड्रो १३४३ करोड, नेपाल इन्स्योरेन्स ११ करोड, नेपाल पुनर्बीमा कम्पनीको ११ करोड, एचआईडिसीएल १० करोड र एनआईसी एशिया बैंकको ८ करोड बढीको शेयर कारोबारमा आएको छ ।

विशाल बजारका लगानीकर्ताले कमाउँदा गोर्खाजकाले धेरै गुमाए

सोमबारको बजारमा विशाल बजार कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाउँदा गोर्खाज फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । विशाल बजारकोे शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने गोर्खाजको शेयरमूल्य ६ प्रतिशत बढीले घटेको छ ।

शीर्ष शेयरमूल्य बढ्ने दश कम्पनीमध्ये पाँचवटा उच्च शेयरमूल्य भएका कम्पनीहरु रहेका छन् । महङ्गा मूल्य भएको विशाल बजार कम्पनी, हिमालयन डिष्टीलरी, राष्ट्रिय बीमा कम्पनी र साल्ट ट्रेडिङको मूल्य बढेको छ ।

यसैगरी हिमालयन डिष्टीलरीको शेयरमूल्य ८ प्रतिशत, छ्याङ्दी हाइड्रोपावर ७.७८, १२ प्रतिशतल गुडविल फाइनान्स डिबेञ्चर २०८३ को मूल्य ५.६३, सिइडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ५.३१, र राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर ५.३० प्रतिशतले बढेको छ । नेपाल ल्यूब आयल, एचआईडिसीएल, नारायाणी डेभलपमेन्ट बैंक र साल्ट ट्रेडिङ्ग कम्पनीको शेयरमूल्य बढेको छ ।

उता कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५ प्रतिशत धेरैले गुमाउँदा गुहेश्वरी मर्चेन्ट, नेशनल हाइड्रोपावर, र नेपाल इन्सयोरेन्सको शेयरमूल्य ४ प्रतिशत धेरैले घटेको छ ।  मल्टीपर्पस फाइनान्स, अपर तामाकोशी, सेन्ट्रल फाइनान्स, युनाइटेड इदी मर्दी र पाँचथर पावरका लगानीकर्ताले पनि सोमबारको बजारबाट ३ प्रतिशतले गुमाएका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।