रेमिट्यान्सले छोपेको वैदेशिक रोजगारीको कहालिलाग्दो चित्र

0
Shares

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको एघार महिना अर्थात जेठ मसान्तसम्मा ८ खर्ब ७० अर्ब ९४ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ। सो रकम विश्वभरका ७२ बढी देशमा रोजगारीका लागि पुगेका ४५ लाख बढी नेपालीले पठाएका हुन् ।

विश्वव्यापी रुपमा कोभिडको लहर सुरु नहुँदासम्म दैनिक १७ सय नेपाली वैदेशिक रोजगारीमा जाने गरेका थिए । पछिल्लो दुईवर्ष यता वैदेशिक रोजगारीमा जानेको संख्या भने ह्वात्तै घटेको छ । तर, उनीहरुले पठाउने रेमिट्यान्समा भने कुनै कमी आएको छैन् । अघिल्लो आवको तुलनामा गत जेठमा रेमिट्यान्सको आप्रवाह १२.६ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकमा छ ।

नेपालको अर्थतन्त्रको ठूलो हिस्सा रेमिट्यान्समा आधारित छ । बढ्दो आयातलाई रेमिट्यान्सले सपोर्ट नगरेको खण्डमा सञ्चिति व्यवस्थापनमा चुनौति पैदा गर्ने सम्भावना रहेको राष्ट्र बैकको आँकलन छ । हाम्रो मुलुकको अर्थतन्त्रको मेरुदण्ड बनेको रेमिट्यान्सले छोपेको वैदशिक रोजगारीको अर्को पिडादायी पाटो पनि छ।

वैदेशिक रोजगार बोर्डका अनुसार गतआर्थिक वर्ष २०७७/०७८ मा वैदेशिक रोजागारीको लागि विदेश गएका १ हजार २ सय ४२ जना नेपालीले विदेशमै ज्यान गुमाए । विदेशमा रोजगारीका लागि गएका औषतमा दैनिक ३ जना नेपालीले ज्यान गुमाउने गरेको नमिठो तथ्यांक छ ।

अहिले श्रम स्वीकृत लिएर ११० मुलुकमा जान पाइने व्यवस्था छ । बोर्डका अनुसार अहिले ७२ वटा देशमा मात्र नेपालीहरु रोजगारीका लागि पुगेका छन् । ७२ देशमध्य सबैभन्दा धेरै नेपालीकामदार मलेसियाजाने गरेको छन् भने बाँकी अन्य साउदी, कतार कुबेत लगायतका देशहरुमा गइरहेका छन् ।

आर्थिक वर्ष २०७७/०७८ मा कुन देशमा कति नेपालीको मृत्यु ?

वोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार गत आवमा विदेशमा १ हजार २४२ जना नेपाली कामदारको विभिन्न कारणवस मृत्यु भएको छ । मृत्यु हुनेमा महिला भन्दा पुरुषको संख्या बढी छ । १ हजार २१३ जना पुरुषको मृत्यु भएको छ भने २९ जना महिलाको मृत्यु भएको छ ।

विदेशी भुमिमा मृत्यु हुनेमा सबैभन्दा बढी साउदी अरबका नेपाली कामदार रहेका छन् । अरबमा एक वर्षमा मात्र ३६२ जना नेपालीको मृत्यु भएको हो । जसमा ३६० जना पुरुष र २ जनामहिला रहेका छन् ।

त्यसैगरी मलेसियामा २८० जनाको मृत्यु भएको हो । जसमा २७९ पुरुष र १ जना महिला रहेका छन् । मृत्यु हुनेमा क्रमश कतारमा २३९ जनामा २३७ पुरुष र २ महिला, यूनाइटेड अरबमा २०८ जनामा १९६ जनापुरुष र १२ जना महिलाको मृत्यु भएको हो । अर्थात सबैभन्दा बढी महिलाको मृत्यु पनि यहि देशमा भएको हो।
त्यस्तै कुवेतमा ५५ जना, साउथ कोरीयामा १३ जना, जार्डनमा ६ जना, जापानमा ९ जना, ओमनमा७जना, टर्कीमा ३२ जना र बाँकी अन्य देशमा मृत्यु भएको हो।

मृत्युको कारण ?

नेपालबाट वैदेशिक रोजगारीमा करिव ४५ लाख नेपालीहरु रहेको अनुमान छ । रोजगारीको लागि गएका युवाहरु पर्याप्त सीप तथा तालिम, त्यहाँ दैनिक गुजारा कसरी चलाउने, बाटो कसरी काट्ने जस्तो साधारण ज्ञानको कमिभ एकै कारण धेरै नेपालीहरुको मृत्यु हुने गरेको वैदेशिक रोजगार बोर्डले जनाएको छ।

वैदेशिक रोजगारीमा गएकाहरुको विदेशी भुमिमा बिभिन्न कारणले मृत्यु हुने गरेको छ । वैदेशिक रोजगार वोर्ड कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठका अनुसार अधिकांश नेपालीको मुत्युको कारण कार्यस्थलको दुर्घटना हो भने केहीको सडक दुर्घटनामा मृत्यु हुने गरेको छ ।

त्यस बाहेक कतिपय नेपालीले सुतेकै ठाउँमा विविध कारणले मृत्युवरण गर्ने गरेका छन् । कोही नेपालीको हत्या भएको छ भने कोहीले आत्महत्या गरेको पाइएको छ । धेरै नेपालीहरुको ह्दयघातका कारणले निधन हुने गरेको छ । केहीको प्राकृतिक मृत्यु हुने गरेको छ । भने कोहीको झइझगडाका कारण मृत्यु हुने गरेको छ।

बोर्डलाई शव व्यवस्थापनमै सकश

वैदेशिक रोजगार वोर्डको अनुसार आर्थिक वर्ष २०७७/०७८ मा विदेशि भुमिबाट १२२ वटा शवलाई झिकाउन समन्वय र सहयोग मार्फत ९० लाख ६७ हजार ८१० रुपैयाँ खर्च भएको थियो । ७७० मृतकको शव घर घरमा पुर्याउन १७ लाख ९४ हजार ९७६ रुपैयाँ खर्च गरेको छ । बोर्डले कल्याणकारी कोषमार्फत यस्तो खर्च गर्ने गरेको छ । कोषमा २ वर्षका लागि विदेशजानेसंग प्रतिव्यक्ति १ हजार ५०० र सो भन्दा बढी समयका लागि जानेसँग २ हजार ५०० लिने गरेको लिने गरेको छ।

७२ देशका जेलमा १५० नेपाली, अलपत्रको छैन आँकडा

अहिले ७२ देशका जेलमा विभिन्न कसुरमा १५० जना नेपालीहरु रहेको बोर्डको भनाई छ । वोर्डका कार्यकारी निर्देशक श्रेष्ठका अनुसार हत्या, लागुपदार्थ कारोबार, मानव बेचबिखनको कसुरमा जेल परेकाहरुलाई उद्दार गरेर नेपाल ल्याउन पाइदैन् । अन्यलाई बोर्डले आफ्नो पहलमा नेपाल ल्याउने गरेको छ ।

यति मात्र होइन नेपालबाट श्रम स्वीकृत लिएर गएका नेपाली कामदार केही कारणवस अलपत्र परे भने सो नेपालीलाई झिकाउने देखि लिएर अहिले कोभिडको समयमा पिसिआर परिक्षण देखि होटल क्वारेन्टीन सबैको खर्च बार्डले नै व्यहोर्ने गरेको कार्यकारी निर्देशक श्रष्ठले बताए ।

कोरोनाको कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्न बोर्डले ७५ करोडको उद्धार राहत कोष नै स्थापना गरेको छ । विदेशमा अंगभंग भएका तथा अस्पतालमा उपचार नपाएर अलपत्र परेका नेपालीलाई ७ हजार रुपैयाँ देखि ७ लाख सम्म क्षतिपूर्ति तथा उपचार खर्च दिइने गरेको छ ।

क्षतिपूर्ती पाउन कठिनाइ

श्रम स्वीकृत लिएर गएका नेपालीहरुको मृत्यु भएमा वैदेशिक रोजगार बोर्डमा निवेदन दिनपर्छ । उक्त निवेदनको आधारमा वोर्डले मृतकको परिवारले ७ लाख सम्म पाउने व्यवस्था रहेको छ । अहिले बोर्डबाट पाउने उक्त सुविधा पाउन स्थानीय पालिकामा नै निवेदन दिन पाइने विभागले जनाएको छ । तर, क्षतिपूर्ति लिन पनि पिडितका परिवारहरुले निकै कठिनाई भोग्नु परेको गुनासो गर्ने गरेका छन् ।

विदेशमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो भने सो शव नेपाल ल्याउन पाइदैन । यस्तो अवस्थामा विदेशमा नै उक्त शवको अन्त्यष्टीको लागि सहमती दिएमा उक्त शवको अन्त्यष्टी विदेशी भुमिमा नै गरीन्छ । विदेशी भुमिमा दाहसंस्कार गरियो भने वोर्डले ५० हजार रुपैयाँ थप गरेर पिडितका परिवारलाई ७ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।