कोरोना बीमा भुक्तानीमा सरकारको उदासिनता, बीमाप्रतिको विश्वास टुट्दै

0
Shares

अर्घाखाँची घर भएकी सभ्य पौडेललाई गत असोज महिनामा कोरोना पोजेटिभ देखियो । होटल क्वारेन्टिनमा नै रहँदा उनले कात्तिक महिनाको पहिलो हप्ता आफुले बीमा गरेको कम्पनी शिखर इन्स्योरेन्समा बीमा दाबी गरिन् ।

गोल्छा गु्रपमा कार्यरत पौडेललाई उनको कार्यालयले शिखर इन्स्योरेन्स कम्पनीमा १ लाख रुपैयाँ बराबरको कोरोना बीमा गराईदिएको थियो  । दाबी गरेको महिना दिनपछि कम्पनीले पिसिआर रिपोर्ट निजी अस्पतालको रहेछ भनेर सम्पर्क गरेको उनले बताईन्  । त्सस पछि कम्पनीले भने बमोजिम कार्यालयले फलोअप गरेको उनले बताईन् । तर, अहिलेसम्म कम्पनीले दाबी भुक्तानी नगरेको उनले गुनासो गरिन् । आफु भन्दा पछि दाबी गर्नेले रकम पाईसके पनि आफुले अझै रकम नपाएको उनको गुनासो छ ।

दोलखा घर भएका राम कार्कीलाई आफु कार्यरत कार्यालयले नेको इन्स्योरेन्समा १ लाख रुपैयाँ बराबरको कोरोना बीमा गराईदिएको थियो । उनलाई गत असोज १० गते कोरोना पोजेटिभ देखा प¥र्यो । गत असोजमा नै कार्कीले कार्यालयमार्फत कोरोना बीमाको दाबी भुक्तानीको लागि प्रक्रिया अघि बढाए । कार्कीले यत्तिका महिनासम्म किन रकम आएन भनेर सम्पर्क नगरेको बताए । उता कम्पनीले पनि दाबीका लागि कागजपत्र पुगे नपुगेको भन्ने विषयमा कुनै पनि किसिमको जानकारी नगराएको उनले उनको भनाई छ ।

सिन्धुलीकी सरिता पोखरेललाई वैशाख महिनामा कोरोना भाइरस पोजेटिभ देखियो । उनी कार्यरत कार्यालयले राष्ट्रिय बीमा कम्पनीमार्फत १ लाख रुपैयाँ बराबरको बीमा गराईदिएको थियो । उनले होम आइसोलेसनमा हुँदै कार्यालयमार्फत बीमा दाबीको लागि प्रक्रिया चालेकी थिईन् । सरकारले पैसा नदिएको कारण रकम नआएको कम्पनीले बताउँदै आएको उनको गुनाँसो छ ।

साढे १७ लाखले गरे कोरोना बीमा

हालसम्म १७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमालेख खरिद गरेको बीमा समितिको तथ्यांक छ । तथ्यांक अनुसार कम्पनीहरुमा १ लाख ३७ हजार ७५४ जनाको दाबी परेको छ । जसमध्ये ३७ हजार बीमितले मात्रै कोरोना बीमाको रकम पाएका छन् । बाँकी एक लाख २० हजारले अझै कोरोना बीमाको रकम पाएका छैनन् ।

हालसम्म १ लाख ३७ हजार ७५४ दाबी वापत १३ अर्ब बढीको दाबी परेको छ । १ लाख ३७ हजार ७५४ दाबीबापत कम्पनीहरूले १३ अर्ब १४ करोड १७ लाख ३१ हजार ६ सय रुपैयाँ भुक्तानी गर्नु पर्नेछ । ४ अर्ब ७८ करोड ८१ लाख ७१ हजार रुपैयाँ भुक्तानी भईसकेको छ।

संक्रमण फैलिए पछि हच्किए बीमा  कम्पनी 

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ बाट उत्पन्न हुन सक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न भन्दै बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिले कोरोना बीमाको अवधारणा अघि ल्यायो । समितिले अघि सारेको यस्तो अवधारणा बीमाको सिद्धान्त विपरित भन्दै आलोचित भएपनि कोरोना बीमालेख जारी गर्न बीमा कम्पनीहरु तयार भए । समितिले २०७७ वैशाख ४ गते कोरोना बीमालेख जारी गर्न कम्पनीहरुलाई निर्देशन दियो।

बीमा गर्ने व्यक्तिलाई कोरोना भाइरसको रिपोर्ट पोजेटिभ देखिएको ७ दिनमा नै दाबी भुक्तानी दिने भन्दै बीमा कम्पनीहरुले प्रचार प्रसारलाई तीव्र पार्न थाले । नयाँ योजना र कोरोना संक्रमितको संख्या समेत बढेका कारण कोरोना बीमा गर्नेको संख्या पनि बढ्दै गयो । थोरै प्रिमियममा बीमा गर्न सकिने र भाइरसको संक्रमण पुष्टि देखिने लगत्तै दाबी रकम पाईने हुँदा बीमा गर्नेहरुको संख्या बढ्दै गयो । नयाँ बीमा योजना भए पनि बीमितको संख्या बढ्दै जाँदा बीमा कम्पनी उत्साहित देखिए।

महामारीको आकंलन नगरी बीमाको सिद्धान्त विपरीत सस्तो र लोकप्रियताका लागि समितिले ल्याएको बीमा योजना बीमा कम्पनीका लागि घातक बन्न पुग्यो ।
संक्रमणको संख्या बढ्न थालेपछि दुई महिना नहुँदै कम्पनीहरूले पोलिसी जारी गर्न नै छोडे । २०७७ जेठ २३ मा समितिले कम्पनीहरूलाई परिपत्र जारी गरी कोरोना बीमा गर्न निर्देशन दियो  । जसमा बीमामा पर्ने दायित्वको बाँडफाँड बीमा समिति, नेपाल पुनर्बीमा कम्पनी र नेपाल सरकारले व्यहोर्ने सहमति भएको थियो । उक्त सहमतिमा बीमा कम्पनी, पुनर्बीमा र समितिलाई सिमित दायित्व निर्धारण गरि बाँकी पर्न गएको दाबीको दायित्व सरकारलाई जिम्मा दिईयो ।

कोरोना बीमा मापदण्डमा ३ अर्ब ५० करोड रुपैयाँसम्मको दायित्व बीमा कम्पनी, पुनर्बीमा कम्पनी र समितिले बहन गर्नुपर्ने व्यवस्था गरियो । त्यस भन्दा माथिको जोखिमको दायित्वको बहन भने सरकारले नै व्यहोर्ने व्यवस्था मिलाईयो । दायित्वको बहन बाँडफाँड गरिएपछि बीमा कम्पनीहरुले पुनः बीमालेख जारी गरे ।

संक्रमण बढ्दै गए पछि संशोधन गरियो कोरोना बीमालेख

समितिले कोरोना बीमा निर्देशिका संशोधन गर्दै होम आइसोलेसनमा बस्ने संक्रमितलाई २५ हजार रुपैयाँ मात्रै दाबी भुक्तानी गर्ने नियम बनायो । अस्पताल भर्ना भएर उपचार गर्नेले अधिकतम ७५ प्रतिशतसम्म मात्रै खर्च दिने व्यवस्था गर्यो । कोरोना संक्रमण पुष्टि हुने बित्तिकै जतिको बीमा गरेको हो, त्यति नै रकम संक्रमित वा परिवारलाई दिने व्यवस्थालाई संशोधन गर्यो ।

तीन दिनभित्र भुक्तानी गर्न निर्देशन दिएको सरकार आफैले बहन गरेन दायित्व

कोरोना बीमाको रकम बीमा कम्पनीहरुले समयमा नै नदिएको भन्दै अर्थमन्त्रालयले छिटो छरितो रुपमा भुक्तानी गर्न भन्दै बीमा कम्पनीहरुलाई पटक पटक निर्देशन दियो । मन्त्रालयले कहिले हप्ता दिन त कहिले तीन दिन भित्रै दाबी भुक्तानी फत्ते गर्न निर्देशन दियो ।

कोरोना बीमा दाबीका लागि कागजपत्र पुगेको तीन दिनभित्रमा दाबी भुक्तानी गर्न अर्थ मन्त्रालयको निर्देशन बीमा कम्पनीले पालना गरे । कोरोना बीमा मापदण्ड अनुसार बीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा समितिले आआफ्नो दायित्वमा पर्न गएको भार बहन गरे । तर, सरकारले आफ्नो भागमा पर्न गएको रकम निकासा नगर्दा महिनौदेखि बीमितले दाबी पाएका छैनन् ।

क्षमता भन्दा बढी भार पर्यो: बीमक संघ

क्षमता भन्दा बढी दाबी परेको भन्दै कम्पनीहरुले भुक्तानी कार्य स्थगित गरेका छन् । इजाजत पत्र प्राप्त सबै निर्जीवन बीमा कम्पनीहरूले कोरोना बीमाको दाबी भुक्तानी गर्न नसक्ने भन्दै साउन १४ गते बीमा समितिमा ज्ञापन पत्र बुझाएका हुन् । २० वटै निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुले हस्ताक्षर सहितको ज्ञापन पत्र समितिमा बुझाएका हुन् ।

सरकारबाट पाउनुपर्ने दायित्व रकम प्राप्त गरेपछि मात्रै दाबी गर्ने सिईओहरुले बताएका छन् । संघले सरकारबाट प्राप्त हुनुपर्ने रकम छिटो उपलब्ध गराउनु पर्ने भन्दै बीमा समितिसँग पहल गर्दै आएको जानकारी दिएको छ ।

संघका अनुसार हालसम्म ४ अर्ब भन्दा बढी भुक्तानी भएको छ । कोरोना बीमा मापदण्ड अनुसार साढे तीन अर्ब भुक्तानी भएको हो । भने अर्थमन्त्रालयबाट दाबी रकमको निकासा हुने आश्वासन भए पछि कम्पनीहरुले अतिरिक्त १ अर्ब ३१ करोड रुपैयाँ भुक्तानी गरेका हुन् । जस अनुसार ९ अर्ब बराबरको रमक भुक्तानी गर्न बाँकी देखिएको छ । असार २३ गते सरकारसँग पुनः ७ अर्ब ४७ करोड रुपैयाँ रकम निकासाको लागि बीमा समितिमा पत्र पठाएको संघले बताएको छ ।

सरकारसँग पहल गर्दै छौँ, चाँडै पैसा आउनेमा आशावादी छौँ: बीमा समिति

बीमा समितिले कोरोना बीमा दाबी भुक्तानीको रकम माग गर्दै पटक पटक अर्थमन्त्रालयमा पत्र काटेको छ । सरकारको दायित्वमा परेको रकम माग गर्दै पटक पटक पत्र काटे पनि कुनै जवाफ नआएको समितिले बताएको छ । पछिल्लो समय बीमक संघले समितिमा बुझाएको ज्ञापन पत्र सहितको पत्र दुई चार दिन अघि मात्रै अर्थमन्त्रालयमा पठाएको बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बताए ।

उनले पूर्वमन्त्री, पूर्व अर्थ सचिवसँग समेत पटक पटक व्यक्तिगत रुपमा बसेर कुराकानी समेत गरेको प्रस्ट पारे । कोरोना बीमा मापदण्ड बमोजिम सरकारले बहन गर्नु पर्ने रकम नदिएर पछि हट्न नमिल्ने उनले बताए ।

“कोरोना बीमा मापदण्ड अनुसार बीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा समितिले साढे ३ अर्ब रुपैयाँ भुक्तानी गर्नु पर्ने व्यवस्था छ, तर मापदण्डमा भएको व्यवस्था भन्दा धेरै साढे ४ अर्ब भुक्तानी भईसक्यो” उनले भने । बाँकी रहेको रकम सरकार कै दायत्वि हो । सरकार परिवर्तन भएर पनि रकम निकासा गर्न ढिलो भएको हुन सक्ने उनको तर्क छ ।

कोरोना बीमा रोकिएको बताउँदै उनले ‘सरकारले रकम दिए पछि कोरोना बीमाको दाबी भुक्तानीबाट मुक्त हुन्छौँ’ ।

कम्पनीहरुले पनि आफुले दिनु पर्ने रकम दियौँ अब सक्दनौँ भनेर समितिमा पत्र पठाएको उनले जानकारी गराए । “आफ््नो दायित्वमा पर्न गएको रकम भन्दा बढी रकम भुक्तानी गरिसक्यौँ, त्यत्ति हुँदा पनि बीमितहरुद्धारा कम्पनीमा तालाबन्दी गर्ने, तोडफोड गर्ने खालका धम्की समेत आएको कम्पनीहरुले बताएका छन्” उनले बताए ।

उनले बीमा समितिमा अध्यक्ष भएर आएपछि आफैले पुनर्बीमा कम्पनी र समितिको भागमा पर्न आएको दायित्वको रकम पुलमा पठाएको समेत जानकारी गराए।सरकारको मुख ताकेर बस्नु परेको बताउँदै उनले कोरोना बीमाको रकम निकासा गर्नका लागि सबै तिरबाट दबाब समेत दिईरहेको जानकारी गराए ।

कोरोना बीमाको रकम समयमा नै नपाउँदा बीमितहरुमा बीमा प्रतिको विश्वास घट्दै गएको, बीमाको लोकप्रियता खस्कदै गएको कुरामा उनको सहमत छ । उनले अर्थमन्त्रीलाई समेत यस बारेमा जानकार गराएको बताए । “विश्वसनियता गुम्छ, सरकारले रकम नदिँदा सरकार कै लोकप्रियता घट्छ” उनले भने, ‘अर्थमन्त्रीले पनि यस बारेमा हेर्छुृ भन्नु भएको छ’ उनले बताए ।

नेपालमा बीमाको ईतिहास लामो भएता पनि बीमाको पहुँचमा आएको जनसंख्या ज्यादै न्यून छ । नेपाली समाजमा अझैपनि स्वः स्फूर्त रुपमा बीमा गर्ने बानिको बिकास छैन । बीमा कम्पनीले समयमा नै दाबी भुक्तानी नदिने, भुक्तानीमा दिईएको रकम चित्त बुझ्दो नहुने लगाएतका कारणले पनि बीमा प्रति आकर्षण बढ्न नसकेको तर्क समेत सुन्निछ । यस्तो अवश्थामा कोरोना बीमालेख खरिद गरेका बीमितले महिनौ वित्दा समेत रकम नपाउँदा बीमा प्रतिको विश्वास झनै टुट्दै जाने देखिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।