नेप्सेको उचाई संगै जोखिम पनि बढ्दै, ‘मार्केट क्याप जिडिपि’ भन्दा माथि

0
Shares

आर्थिक गतिविधिलाई प्रत्यक्ष असर गर्ने खालमा प्राकृतिक विपत्तीको समयमा धितोपत्र बजारमा भने निकै उत्साह आउने गरेको देखिन्छ । आर्थिक गतिविधि रोकिएको समयमा सबै क्षेत्रले शेयर बजारलाई नै ताक्ने भएकाले पनि यस्तो प्रवृद्धि देखिएको हो ।

२०७२ सालमा भूकम्प पछिको समयमा पनि शेयर बजारले निरन्तरको सुधारको गति लिएको थियो । अघिल्लो बर्षदेखि विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले पनि अन्य क्षेत्रलाई ठप्प बनाएपनि शेयर बजारका गतिविधि भने सबै नै बढी नै रहे । जसले गर्दा धितोपत्र बजार सूचक पनि निरन्तर नयाँ–नयाँ उचाई बनाउदै आएको छ ।

तर, शेयर बजारले लिएको सुधारको गतिमा लगानीकर्ताको सचेतनामा भने सुधार भएको देखिदैन् । धितोपत्र बजारमा सुचिकरण भएदेखि हालसम्म कुनै प्रतिफल नदिएको र प्रतिकित्ता ५० रुपैयाँ भन्दा कम रहेको शेयर मूल्य ४ सय नाघ्नुले उच्च जोखिम भित्रिएको स्पष्ट हुन्छ ।

कोरोना माहामारीका कारण सम्पूर्ण आर्थिक गतिविधि अस्तव्यस्त छन् । यो समयमा कुनै पनि व्यक्ति वा संस्थाको सम्पत्ती बढेको छ भने त्यसको एक मात्र कारण शेयर बजारको लगानी मात्र लिन सकिन्छ । कोरोनाले करिब २ वर्षसम्म आर्थिक गतिविधि ठप्प भएपनि पूँजी निर्माण हुने अवस्था छैन् । तर, धितोपत्र बजारले मात्र निरन्तर रुपमा पूँजी निर्माण गरीरहेको हुनाले पनि बजार निरन्तर सुधारको गतिमा रहेको विश्लेषहरुको भनाई छ ।

कोरोनाका कारण सबै क्षेत्रका व्यक्ति तथा संस्थाको लगानी गर्ने एक मात्र क्षेत्र भनेको शेयर बजार बनेको छ । यो अवधिमा बैंक वित्तीय संस्था देखि जलविद्युत कम्पनी तथा कोरोनाका कारण बेरोजगार भएको व्यक्तिले पनि लगानी शेयर बजारमा नै गर्ने भएकाले बजारमा लगानी बढेको वित्तीय विश्लेषक हेमन्त बस्यालले बताए । “धितोपत्र बजारको नयाँ उचाईसंग जोखिम पनि उच्च हुन थालेको छ,” उनले भने,“लगानीकर्ताले कम्पनीको अवस्थालाई अध्ययन गरेर शेयर खरिद गर्नु भन्दा पनि हल्लाका पछि लागेको देखिन्छ ।”

शेयर बजारमा सूचिकृत केही कम्पनीको शेयर मूल्यमा आएको अस्वभाविक सुधार तथा उच्च चलखेलका कारण जोखिम आँकलन गर्न नसकीने अवस्थामा पुगेको अर्का एक विश्लेषकले बताए । बजारमा सामान्य भन्दा सामान्य विषयलाई घटना क्रमका आधारमा पनि शेयर मूल्य प्रभावित पार्ने काम हुन थालेकाले जोखिम उच्च बढेको उनको भनाई छ । पछिल्लो समयमा बजारमा बढेको जोखिमलाई विश्लेषण गर्न सक्ने संस्था तथा व्यक्तिहरु बजारबाट बाहिरन लागेको उनको बुझाई छ ।

बजार निरन्तर बढेर नयाँ उचाइ बनाएसंगै प्रचार प्रसार पनि बढी भएको छ । त्यसले गर्दा धितोपत्र बजारमा लगानी गरे पैसा आउँछ भन्ने सुनेका आधारमा मात्र लगानी गर्नेको संख्या पनि उत्तिकै बढ्दै गएको हुनाले कम्पनी छनोट गरेर भन्दा पनि शेयर भन्ने भएपनि खरिद गर्ने गरेको देखिन्छ । यसले बजारमा झनै ठुलो दुर्घटना ल्याउने जोखिम हुन्छ ।

बैंक तथा वित्तीय संस्थाले कर्जा प्रदान गरेर मात्र नभै आफैले पनि पोर्टफोलियो बनाएको कारणले पनि धितोपत्र बजारमा धेरै पैसा आएको छ । लगानीका अन्य विकल्प नहुँदा सबै क्षेत्रको पैसा धितोपत्र बजारमा केन्द्रित भएको हुनाले पनि नेपा स्टक एक्सचेन्ज(नेप्से)मा दैनिक १७ देखि २० अर्ब रुपैयाँ बरावरको शेयर खरिद बिक्री हुन थालेको छ । संस्थागत लगानीकर्ताहरुले जोखिम विश्लेषण गरीराख्ने भएकाले उपयुक्त समयमा बाहिरिन्छन ।

तर, हल्लाका भरमा पैसा दोब्बर बनाउने लोभसहित बजारमा आएका लगानीकर्ताले बजारको गति र जोखिमको विषयमा ध्यान नपु¥याउदा अन्तिममा फस्ने उनीहरु हुन्छन । त्यसैले कम्पनी छनोट गरेर बजारको उपयुक्त अध्ययन गरेर लगानी गर्नु पर्ने विज्ञहरु सुझाउँछन ।

पछिल्लो समयमा धितोपत्र बजारबाट जग्गा तर्फ पूँजी सिफ्ट हुन थालेको देखिन्छ । त्यसले गर्दा पनि बैंक वित्तीय संस्थामा निक्षेप घट्न थालेको छ । त्यतीमात्र नभै लकडाउन खुकुलो भएको हुनाले अनौपचारिक अर्थतन्त्र पनि सक्रिय हुन थालेपछि रेमिट्यान्सको आप्रबाहमा पनि कमी आएको देखिन्छ । यसले पनि बैकिङ प्रणालीमा तरलता कसिलो हुने देखिन्छ । बैंकिङ प्रणालीमा तरलता कसीलो अवस्थामा जानु भनेको त्यसको प्रत्यक्ष असर धितोपत्र बजारमा पर्ने बस्यालको भनाई छ । अर्थतन्त्रका गतिविधिलाई असर गर्ने खालका विपत्तीमा बैैंकिङ प्रणालीमा तरलता बढ्ने तथा अनौपचारीक अर्थतन्त्र सुस्त हुने भएपछि धितोपत्र बजारमा लगानी बढ्न जाने भएकाले बजारमा उत्साह देखिने हुन्छ । अहिले पनि कारोबारका कारण धितोपत्र बजार सकारात्मक भएको हो ।

बिहीबार मात्र नेप्से सूचक १६.४१ अंकले बढेर हालसम्मकै उच्च अंक ३१७९ को विन्दुमा पुगेको छ । नेप्सेमा कारोबार साताको अन्तिम दिन बिहीबार बैंक तथा विकास बैंकको शेयर मूल्यमा सुधार आएपनि समग्र बजार सूचक सकारात्मक भएको हो । बिहीबार नेप्से संगै सेन्सेटीभ इण्डेक्स पनि ५.४६ अंकले बढेको छ ।
बिहीबार नेप्सेमा कारोबार रकम पनि बढेको छ । नेप्सेमा २२५ कम्पनीको एक लाख ५४ हजार ६६० कारोबारबाट १७ अर्ब ५१ करोड ३२ लाख रुपैयाँ बरावरको ३ करोड ६६ लाख कित्ता शेयर खरिद बिक्री भएको छ । यो कारोबार रकम बुधबारको तुलनामा धेरै हो ।

बिहीबार नेप्सेको कुल कजार पूँजीकरणमा पनि उल्लेख्य सुधार आएको छ । नेप्सेको कुल बजार पूँजीकरण ४४ खर्ब २७ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । यो भनेको अर्थतन्त्रको आकार भन्दा धेरै हो । गत आर्थिक वर्षको कुल ग्राहस्थ उत्पादन ४२ खर्ब ६६ अर्ब रहने अनुमान केन्द्रीय तथ्याङक व्यूरोले गरेको छ । कुल ग्राहस्थ उत्पादन र बजार पूँजीकरणको आकारले पनि धितोपत्र बजारमा जोखिम बढ्दै गएको स्पष्ट हुन्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।