पन्ध्र फाइनान्स कम्पनीको ९ सूचकमा हेर्नुहोस् तुलनात्मक अवस्था.

0
Shares

मंगलबारसम्म १५ फाइनान्स कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

यस अवधिमा १५ फाइनान्स कम्पनीले १ अर्ब ९७ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यस अवधिमा १५ फाइनान्स कम्पनीहरुको कुल चुक्ता पूँजी ११ अर्ब ९० करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा फाइनान्स कम्पनीहरुको जगेडा कोषमा सञ्चित रकम ५ अर्ब ९३ करोड ३२ लाख पुगेको छ ।

यस अवधिमा ८६ अर्ब ४५ करोड २ लाख निक्षेप संकलन गरी ६० अर्ब ७५ करोड ७२ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । गत आवमा फाइनान्स कम्पनीहरुको खुद ब्याज आम्दानी २ अर्ब ४९ करोड ३८ लाख रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षमा औषत वार्षिक प्रतिशेयर आम्दानी १४.८८ रुपैयाँ र औषत प्रतिशेयर नेटवर्थ १४ ६.२७ रुपैयाँ रहेका फाइनान्सको खराब कर्जा अनुपात औषतमा ६.०९ प्रतिशत रहेको छ । धेरैजसो फाइनान्स समस्याग्रस्तबाट ग्रुज्रिएर नियमित कारोबारमा आएका कारण पनि खराब कर्जा अनुपात औषतमा धेरै छ ।

१.खुद नाफामा मञ्जुश्री अगाडि

गत आवमा १५ फाइनान्स कम्पनीले १ अर्ब ९७ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो औषतमा १३ करोड १४ लाख हुन आउँछ । दश फाइनान्सको खुद नाफा औषतभन्दा कम छ भने ५ को औषतभन्दा बढी छ ।

मञ्जुश्री फाइनान्सले सबैभन्दा धेरै ५६.८१ करोड खुद नाफा कमाउँदा समृद्धि फाइनान्सको जम्मा ४५ लाख मात्र रहेको छ । गोर्खाज फाइनान्सले दोस्रो ठूलो २०.१९ करोड नाफा कमाएको छ । मल्टिपपर्स फाइनान्स, नेपाल फाइनान्स, प्रोगेशिभ फाइनान्स, जानकी फाइनान्स, बेष्ट फाइनान्सको खुद नाफा १० करोडभन्दा कम छ ।

गुहेश्वरी, सेन्ट्रल, श्रीइन्भेष्ट, पोखरा फाइनानस, रिलायन्स, गुडविल, र आईसीएफसी फाइनान्सको नाफा १० करोडभन्दा धेरै २० करोडभन्दा कम रहेको छ ।

२. प्रतिशेयर आम्दानी

प्रतिशेयर आम्दानीका आधारमा पनि धेरै नाफा गरेको मञ्जुश्री फाइनान्स सबैभन्दा धेरै ५८.८४ रुपैयाँ रहेको छ भने समृद्धि फाइनान्सको सबैभन्दा कम ८२ पैसा रहेको छ ।

औषत वार्षिक प्रतिशेयर आम्दानी १४.८८ रहेकोमा पाँच कम्पनीको औषतभन्दा धेरै र दश कम्पनीको औषतभन्दा कम प्रतिशेयर आम्दानी रहेको छ । गोर्खाज, गुडविल, आईसीएफसी र रिलायन्सको प्रतिशेयर आम्दानी औषतभन्दा धेरै छ ।

३. नेपाल फाइनान्सको खराब कर्जा धेरै, गुहेश्वरी मर्चेन्टको सबैभन्दा कम

गत आवमा वित्तीय विवरण सार्वजनिक गरेका १५ मध्ये नेपाल फाइनान्सको खराब कर्जा अनुपात सबैभन्दा धेरै ४४.८२ प्रतिशत रहेको छ । गुण्विल फाइनान्सले वित्तीय विवरणमा खराब कजाए अनुपात उल्लेख गरेको छैन भने गुहेश्वरी मर्चेन्टको सबैभन्दा कम ०.३२ प्रतिशत रहेको छ ।
बेष्ट फाइनान्स र समृद्धि फाइनान्सको खराब कर्जा अनुपात तोकिएको सीमाभन्दा धेरै छ ।

४. प्रतिशेयर नेटवर्थ ६२ देखि २३० रुपैयाँसम्म

गत आवमा फाइनान्स कम्पनीको ६२ देखि २३० रुपैयाँसम्म प्रतिशेयर नेटवर्थ देखिएको छ । समृद्धि फाइनान्सको सबैभन्दा कम देखिएको छ भने गुडविल फाइनान्सको सबैभन्दा धेरै रहेको छ । ६ वटा फाइनान्स कम्पनीको प्रतिशेयर नेटवर्थ १५० रुपैयाँभन्दा धेरै छ ।

५. चुक्ता पूँजीमा आईसीएफसी अगाडि

गत आवमा आईसीएफसी फाइनान्सको चुक्ता पूँजी सबैभन्दा धेरै १ अर्ब २ करोड ४२ लाख देखिएको छ ।

चुक्ता पूँजीमा ११ फाइनान्सको पूँजी ८० करोडभन्दा माथि देखिएको छ भने चार कम्पनीको कम छ । मल्टिपर्पस फाइनान्सको सबैभन्दा कम ४० करोड रहेको छ भने नेपाल फाइनान्स, समृद्धि, र जानकी फाइनान्सको पूँजी पनि ८० करोडभन्दा कम छ ।

६. जगेडा कोषमा पनि गुडविल अब्बल, समृद्धिको ऋणात्मक

जगेडा कोषमा पनि गुडविल फाइनान्स अब्बल देखिएको छ । फाइनान्सको जगेडा कोषको आकार १ अर्ब १३ करोड रहेको छ । गोर्खाज, मञ्जुश्री र आईसीएफसीको ५० करोडभन्दा धेरै छ ।

समृद्धि फाइनान्सको जगेडाकोष १४ करोड ९१ लखले ऋणात्मक रहेको छ भने प्रोगेशिभ, बेष्ट, र मल्टिपर्पसको १० करोड रहेको छ ।
फाइनान्सहरुको जगेडा कोष औषतमा ३९ करोड ५५ लाख रहेकोमा ६ कम्पनीको औषतभन्दा धेरै छ भने ९ कम्पनीको औषतभन्दा कम छ ।

७.निक्षेप संकलनमा आईसीएफसी

गत आवमा आईसीएफसी फाइनान्सले सबैभन्दा धेरै १५.१८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । गुडविलले १०.०८ अर्ब संकलन गर्दा पोखरा, मञ्जुश्री, र गोर्खाजको ८ अर्ब रहेको छ ।

मल्टिपर्पस फाइनान्सले सबैभन्दा कम ३६ करोड ९७ लाख निक्षेप संकलन गरेको छ भने नेपाल फाइनान्स र समृद्धि फाइनान्सको पनि १ अर्बभन्दा कम छ । प्रोगेशिभ, बेष्ट र जानकीले ५ अर्बभन्दा कम निक्षेप संकलन गरेका छन् ।

८. कर्जा लगानीमा पनि आईसीएफसी अगाडि

कर्जा लगानीमा पनि आईसीएफसी फाइनान्सले सबैभन्दा अगाडि छ । फाइनान्सले गत आवमा १०.५८ अर्ब कर्जा लगानी गरेको छ । गुडविल, मञ्जुश्री, पोखरा र गोर्खाज फाइनान्सले साढे ५ अर्बभन्दा धेरै कर्जा लगानी गरेका छन् ।

नेपाल फाइनान्सले सबैभन्दा कम २९ करोड ७२ लाख रुपैयाँ मात्र कर्जा लगानी गरेको छ भने मल्टिपर्पस र समृद्धिले पनि १ अर्बभन्दा कम मात्र कर्जा लगानी गरेका छन् ।

९. खुद ब्याज आम्दानीमा पोखरा फाइनान्स अगाडि

गत आवमा पोखरा फाइनान्सले खुद ब्याज आम्दानीमा अन्य १४ फाइनान्स कम्पनीलाई पछाडि पारेको छ । फाइनान्सले गत आवमा ३१.९९ करोड खुद ब्याज आम्दानी गरेको छ । दोस्रो आईसीएफसी फाइनान्सको ३०.३९ करोड रहेको छ ।

नेपाल फाइनान्सको खुद ब्याज आम्दानी सबैभन्दा कम २ करोड मात्र रहेको छ । मल्टिपर्पस र समृद्धि फाइनान्सको खुद ब्याज आम्दानी साढे २ करोडदेखि पौने ३ करोडको बीचमा रहेको छ । बाँकीले ८ देखि २८ करोडसम्म खुद ब्याज आम्दानी गरेका छन् । मञ्जुश्री, गुडविल, गोर्खाज र श्रीइन्भेष्टको खुद ब्याज आम्दानी २० करोडभन्दा धेरै छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।