बैंकहरुले शेयर कारोबारबाट कमाए १२.३९ अर्ब, कुल नाफामा साढे १९ प्रतिशत योगदान


सञ्चालनमा रहेका २७ बाणिज्य बैंकले गत आर्थिक वर्षका शेयर कारोबार गरेर मात्रै १२ अर्ब ३८ करोड रुपैयाँ आम्दानी गरेका छन् । कोरोना भाइरसका कारण आर्थिक गतिविधि ठप्प भएपछि निरन्तर बढेको शेयर बजारमा बैंकहरुले प्रत्यक्ष लगानी मार्फत सो आम्दानी गरेका हुन ।

आर्थिक गतिविधि ठप्प भएपनि बैंकहरुले पनि लगानीका क्षेत्र पाउन सकेनन् । त्यसपछि बैंकहरु पनि संस्थागत लगानीकर्ताको रुपमा शेयर बजारमा लगानी गर्न थाले । बैंकहरुले कर्जा दिएको पैसा पनि शेयर बजारमा र उनीहरुको प्रत्यक्ष लगानी पनि सोही बजारमा हुदा धितोपत्र बजार सूचक निरन्तर सुधारको गतिमा रह्यो । फलस्वरुप धितोपत्र बजार सूचक ३ हजार भन्दा माथि रह्यो ।

गत आर्थिक वर्षमा बैंकहरुले शेयर कारोबारबाट मात्रै १२ अर्ब ३९ करोड ७६ लाख रुपैयाँ आम्दानी गरेका छन् । यो आम्दानी अघिल्लो आर्थि वर्ष २०६६/०७७ को तुलनामा २०९ प्रतिशतले धेरै हो । अघिल्लो आवमा बैंकहरुले शेयर कारोबार मार्फत ४ अर्ब एक करोड ११ लाख रुपैयाँ आम्दानी गरेका थिए ।

गत आवमा बैंकहरुले कुल ६३ अर्ब ३७ करोड ३८ लाख रुपैयाँ खुद नाफा गरेका छन् । बैंकहरुको यो नाफामा शेयर कारोबारबाट भएको नाफाको योगदान १९.५७ प्रतिशत हुन आउँछ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा बैंकहरुको शेयर बजार मोह धेरै नै देखिन्छ ।

गत आर्थिक वर्षमा बैंकहरुले १२ अर्ब भन्दा धेरै शेयर बजारबाट कमाएपछि खुद नाफा ६३ अर्ब भन्दा माथि पुगेको छ । तर, अघिल्लो आवामा बैंकहरुले शेयर बजारबाट ४ अर्ब मात्र कमाउदा पनि ५२ अर्ब ८० करोड रुपैयाँ खुद नाफा गरेका थिए । बैंकहरुले गत आवमा पनि अघिल्लो आवकै तुलनामा शेयर करोबार मार्फत आम्दानी गरेको भएपनि नाफा वृद्धि दर ०.९५ प्रतिशतमा सिमति हुन्थ्यो ।

गत आवमा बैंकहरु अघिल्लो आवमा भन्दा ८ अर्ब ३८ करोड रुपैयाँ धेरै शेयर बजारबाट कमाएका छन् । खुद नाफावाट गत आवको शेयर बजारबाट भएको वृद्धि आम्दानी घटाई अघिल्लो आवको खुद नाफासंग तुलना गर्दा करिब एक प्रतिशतको मात्र वृद्धि देखिएको हो ।

बैंकहरुले शेयर कारोबार मार्फत गरेको आम्दानीलाई अन्य सञ्चालन आम्दानीमा देखाउने नेपाल बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले बताए । “बैंकहरुले शेयर घर, जग्गा बिक्रीबाट भएको आम्दानी अन्य सञ्चालन आम्दानीमा देखाउछन,” उनले भने,“गत आर्थिक वर्षमा बैंकहरुले घर जग्गा बिक्री गरेर खासै नकमाएको हुनाले त्यो आम्दानी करिब शेयर कारोबारबाट मात्रै भएको हो ।”

गत आवमा कोरोना भाइरसको महामारीकाबीच बैंकहरुले कर्जा विस्तार २६.३ प्रतिशतले विस्तार गरेको भएपनि खुद ब्याज आम्दानीमा भने २ प्रतिशतको मात्र वृद्धि देखिएको छ । तर, अन्य शिर्षकका आम्दानीमा उच्च सुधार आएपछि बैंकहरुको खुद नाफा २० प्रतिशत भन्दा धेरैले बढेको छ । बैंकहरुको आम्दानीको मूख्य स्रोत भने ब्याज आम्दानी हो । गत आवमा बैंकहरुले फि तथा कमिसन, टेडिङ इनकम र अन्य सञ्चालन आम्दानी क्रमश ः १०, २१.०३ र २०९.०८ प्रतिशतले बढाएका छन् ।

गत आर्थिक वर्षमा बैंकहरुले लगानीका क्षेत्र नपाउने र निक्षेप थपिने क्रम वढेसंगै कर्जाको ब्याजदर नै एकल अंकमा झरेको थियो । एकल अंकमा ब्याज झरेसंगै बैंकिङ प्रणालीको पैसा शेयर बजार तर्फ गयो । त्यसका गर्दा शेयर बजारलाई मात्र कोरोनाको असर देखिएन ।
गत आर्थिक वर्षमा शेयरबजारबाट सबैभन्दा धेरै हिमालयन बैंकले कमाएको छ । बैंकले २ अर्ब २२ करोड रुपैयाँ शेयर बजारबाट कमाएको छ । बैंकको उक्त शिर्षकको आम्दानी अघिल्लो आवको तुलनामा १५ गुणा धेरै कमाएको छ । अघिल्लो आवमा हिमालयन बैंकले शेयर कारोबार मार्फत १४ करोड ५३ लाख रुपैयाँ मात्र गरेको थियो ।

गत आवमा शेयर कारोबारबाट अर्ब भन्दा धेरै कमाउने बैंकहरुमा नबिल बैंक, सिद्धार्थ बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक रहेका छन् । तर, गत आवमा नेपाल एसबिआई बैंकले सबैभन्दा थोरै २ करोड रुपैयाँ मात्र शेयर बजारबाट कमाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।