आकर्षक प्रतिफलले म्युचुअल फण्डको बजार बिस्तार भईरहेको छ – एनएमबि क्यापिटल प्रमुख कमल नेपाल


एनएमबि बैंकको भगिनी संस्था एनएमबि क्यापिटलको व्यवस्थापनमा आजदेखि एनएमबि सरल बचत फण्ड ईका १० करोड इकाई निष्काशन खुल्ला भएको छ । जसमा सर्वसाधारणलाई २५ करोड रुपैंया बराबरका २ करोड ५० लाख इकाई निष्काशन सुरु भएको हो । कोष व्यवस्थापक एनएमबि क्यापिटलको नेतृत्व निमित्त प्रमुख कार्यकारी अधिकृतका रुपमा कमल प्रसाद नेपालले गरिरहेका छन् ।

विगत २६ वर्षदेखि बैंकिङ तथा पूँजी बजारका क्षेत्रमा आबद्ध रहँदै आएका नेपाल पछिल्लो ११ वर्षदेखि एनएमबि क्यापिटलमा आबद्ध छन् । प्रमुख व्यवस्थापकको रुपमा क्यापिटल प्रवेश गरेका नेपालको नेतृत्वमा पहिलो पटक सामुहिक लगानी कोषका इकाई निष्काशन भएको हो ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा जन्मिएर हाल काठमाण्डौंको पेप्सीकोलामा बसोबास गर्दै आएका नेपालले गत साउन १ गतेदेखि एनएमबि क्यापिटलको नेतृत्व सम्हाल्दै आएका छन् । २०५३ सालमा तत्कालीन पश्चिमाञ्चल ग्रामीण विकास बैंकबाट करिअरको सुरुवात गरी अल्पाइन डेभलपमेण्ट बैंक, गरिमा विकास बैंकमा समेत कार्यानुभव बटुलेका नेपाल हाल क्यापिटलको नायब महाप्रबन्धकको जिम्मेवारीमा समेत छन् । बिहीबारदेखि निष्काशन सुरु भएको सामुहकि लगानी कोष र समग्र बजारका सम्बन्धमा नेपालसँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

एनएमबि सरल बचत फण्ड ई का इकाईहरु निष्काशन गर्दै हुनुहुन्छ । यो फण्डका बारेमा लगानीकर्तालाई कसरी बुझाउन चाहनुहुन्छ ?

एनएमबि सरल बचत फण्ड ई खुलामुखी योजना हो । विगतमा हामीले ३ वटा बन्दमुखी योजनाहरु सञ्चालनमा ल्याईसकेका छौं र यो पटक पहिलो खुलामुखी योजना ल्याएका हौं । बजारमा बन्दमुखी योजनाहरु पर्याप्त मात्रामा भएकाले र लगानीकर्ताहरुलाई फरक किसिमको योजनामा लगानी गर्ने अवसर श्रृजना गर्ने उद्देश्यले यो योजना ल्याईएको हो ।१ अर्ब रुपैयाँ आकारको फण्डमा पहिलो चरणमा एनएफओ (न्यू फण्ड अफरिङ) को माध्यमबाट ४० करोडका इकाईहरु निष्काशन गर्न लागिएको हो । जसमा बिज पूँजीको रुपमा १४ प्रतिशत कोष प्रवद्र्धक एनएमबि बैंकबाट र १ प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेडबाट लगानी भई सकेको छ भने बाँकी २५ करोड रुपैयाँको मात्र सर्वसाधारणमा इकाई निष्काशन गर्ने हो । यसमा लगानीकर्ताहरुले न्यूनतम १०० ईकाइ र अधिकतममा ४० लाख ईकाइसम्मको लागि आवेदन दिन सक्नुहुनेछ ।

अरु खुल्लामूखी फण्डको तुलनामा यो फण्ड फरक छ कि छैन ? छ भने कसरी ?

योजनाको प्रकृति अनुसार हरेक फण्ड फरक फरक प्रकृतिका हुन सक्छन् । हामीले निष्काशन गर्न लागेको फण्ड ईक्विटी बेस्ड फण्ड हो । यसमा योजनाको अधिकांश रकम ईक्विटीमा लगानी गरिन्छ । बजारमा आएका केही खुलामुखी फण्डहरु अन्य प्रकृतिका पनि छन् । केही योजनाहरु स्थिर आयमा बढी लगानी गर्ने गरी सञ्चालनमा आएका पनि छन् । फरक यति मात्र हुन्छ की तपाई आफ्नो योजनाको सञ्चालन कुन प्रकारले गर्दै हुनुहुन्छ । योजनाको लगानीको क्षेत्रको सीमा, योजना सञ्चालनमा आवद्ध कर्मचारीको कार्यदक्षता, बजार अनुसन्धानको दक्षता अनुभव, विगतको योजना सञ्चालनको अनुभव आदिले पनि एउटै प्रकारको योजना भएता पनि योजनाको सञ्चालनमा फरक आउँछ । हाम्रो विगतका योजनाहरुको कार्य सम्पादनले पनि हामीलाई यस खुलामुखी योजनामा एउटा फरक अनुभव र फरक प्रकारले लगानीकर्ताहरुलाई लगानीका लागि विश्वस्त हुन सक्ने आधार प्रस्तुत गरेका छौं । त्यसका लागि यस योजनामा हामीले “सिष्टमेटिक इन्भेष्टमेण्ट प्लान, डिभिडेण्ड रि इन्भेष्टमेट प्लान र सिष्टमेटिक विथड्रअल प्लान” का विशेषताहरु समावेश गरेका छौं । जसले गर्दा पक्कै पनि लगानीकर्ताहरुलाई भविष्यकोलागि अहिले बाट नै सानो सानो रकम लगानी गर्न सरल हुने र उहाँहरुको बचत पनि हुने विश्वास लिएका छौं ।

बन्दमुखी र खुल्लामुखी फण्डमा खासमा के के फरक छ ? लगानीकर्तालाई कुन फण्ड उपयुक्त हुन्छ ?

छोटकरीमा भन्नुपर्दा बन्दमुखी योजनाको फण्डको आकार निश्चित हुन्छ भने खुलामुखी योजनाको फण्डको आकार परिवर्तन हुन सक्छ । बन्दमुखी योजना निश्चित समयावधिमा परिपक्व हुने गरी निष्काशन गरिएको हुन्छ भने खुलामुखी योजनामा समयावधि तोकिएको हुँदैन । यो निरन्तर चलिरहन्छ ।

बन्दमुखी योजनाका ईकाइहरु नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भई दोश्रो बजारमा कारोवार हुन्छ भने खुलामुखी योजनाका ईकाइहरु नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत हुँदैन र योजना आफैले नै ईकाईको खरीद बिक्री तथा कारोबार कारोवार योजना व्यवस्थापक तथा तोकिएका एजेण्टहरु मार्फत हुन्छ । बन्दमुखी योजनाका ईकाइहरु नेपाल स्टक एक्सचेञ्जमा बजार मूल्यको आधारमा किनबेच हुन्छ भने खुलामुखी योजनाका ईकाइहरु योजनाको खुद सम्पत्ति मूल्यको आधारमा किनबेच हुन्छ ।

दुबै प्रकारको योजनाका आ–आफ्नै विशेषताहरु हुन्छन् । त्यसले गर्दा यो नै योजना उपयुक्त हुन्छ भन्ने कुरा आउँदैन । बजार घटेको अवस्थामा पनि बन्दमुखी योजनालाई सही तवरले व्यवस्थापन गर्न सकियो भने त्यसबाट लगानीकर्ताहरुलाई धेरै नोक्सानी हुने संभावना कम हुन्छ भने खुलामुखी योजनामा लगानीकर्ताहरुले योजनावद्ध रुपमा लगानी गर्ने हो भने बजार घटेको अवस्थामा पनि फाईदा हुन सक्छ । बजारको उतार चढावले पनि योजनाको सञ्चालनमा फरक पर्ने हुनाले बजारको अध्ययन गर्नु जरुरी हुन्छ । लगानीमा जोखिमको अवस्था जहिले पनि रहन्छ र जोखिमको सही मूल्याङ्कन गरी घट्दो बजारमा पनि उपलब्ध अवसरहरुलाई सही समयमा उपयोग गर्न सकियो भने यसबाट पक्कै पनि योजनालाई सफल रुपमा सञ्चालन गर्न सकिन्छ । यसबाट नै योजना व्यवस्थापकको सही परीक्षण हुन्छ । अतः लगानीकर्ताहरुले उपरोक्त अवस्थाहरुलाई अध्ययन र विश्लेषण गरेर लगानी गर्न सक्नुहुनेछ ।

पहिलो पटक खुल्लामूखी योजनामा काम गर्दै हुनुहुन्छ, कत्तिको आशावादी हुनुहुन्छ ?

खुलामुखी योजना पहिलो भएता पनि योजना सञ्चालनमा हामीले ७ वर्षको अनुभव लिईसकेका छौं । करिब ५ अर्व बराबरको फण्डको सञ्चालन गरी लगानीकर्ताहरुलाई आशातित प्रतिफल दिन सफल भएका छौं । हाम्रो विगतका योजनाहरुको सफलतालाई हेर्दा र हालसम्म हामीप्रति लगानीकर्ताहरुले देखाउनु भएको अपार विश्वासलाई समेत दृष्टिगत गर्दा यस खुलामुखी योजनामा पनि लगानीकर्ताहरुले हामीलाई पुनः आफ्नो विश्वास देखाउनु हुनेछ भन्ने कुरामा पूर्ण आशावादी छौं । यसले गर्दा पनि हामीलाई थप हौसला प्राप्त भई लगानीकर्ताहरुलाई उच्चतम प्रतिफल दिनेतर्फ हामीलाई सदैव उत्प्रेरित रहने प्रेरणा मिलेको छ ।

नेपालको म्युचुल फण्डको बजारलाई कसरी हेर्नु भएको छ ?

विगत केही वर्ष अघिसम्म नेपालमा म्युचुअल फण्डलाई बुझ्ने लगानीकर्ताको समूह केही सानो थियो । अधिकांश साना लगानीकर्ताहरुलाई म्युचुअल फण्डको बारेमा थाहा नै थिएन र खासै चासो पनि दिएको देखिदैंनथ्यो । संख्यात्मक रुपमा सानो भएपनि लगानीको हिसावले संस्थागत लगानीकर्ताहरुको बाहुल्यता थियो । त्यसबेला म्युचुअल फण्ड सञ्चालनमा अनुभवको कमीले गर्दा पनि दक्ष जनशक्तिको समेत कमी थियो । तर अहिलेको अवस्थासम्म आईपुग्दा अधिकांश म्युचुअल फण्डहरुले ५ वर्षभन्दा बढीको अनुभव गरिसके । नयाँ फण्डहरुले बजारको अनुभवबाट धेरै कुराहरु सिकिसके र योजनालाई राम्रै तवरले सञ्चालन गरिरहेका छन् ।

अहिले बजारमा लगानीकर्ताहरुको संख्या पनि अत्यधिक वृद्धि भएको छ । ईकाई खरीद बिक्रीको कारोवार हेर्ने हो भने ठुला साना सबै लगानीकर्ताहरु म्युचुअल फण्डप्रति आकर्षित भएको देखिएको छ । त्यसैगरी नेपाल धितोपत्र बोर्डले पनि म्युचुअल फण्डको निष्काशनको स्वीकृतिलाई प्राथमिकतामा राखेको देखिएको छ । यसले गर्दा पनि आगामी दिनमा म्युचुअल फण्डको बजार लगानीकर्ताहरुकोलागि आकर्षकको केन्द्र हुने हामीले विश्वास लिएका छौं ।

म्युचुअल फण्डमा लगानीकर्ताको रुची कम भएको महसुस गरिन्छ । किन होला ?

तपाई कसरी भन्न सक्नुहुन्छ की म्युचुअल फण्डमा लगानीकर्ताको रुची कम भएको छ भनेर ? पछिल्लो समयमा हेर्ने हो भने संख्याको हिसावले ईकाईको खरीद बिक्री अत्यधिक मात्रामा भएको छ । एउटा कुरा के हो भने म्युचुअल फण्डमा अन्य कम्पनीको जस्तो बोनस शेयर जारी हुँदैन जसले गर्दा लगानीकर्ताको इकाईको मूल्य वृद्धि होस् । तर कतिपय कम्पनीले अहिले पनि नगद लाभांश दिई नै रहेका छन् । सबै लगानीकर्तालाई बोनस शेयर नै चाहिन्छ भन्ने पनि होईन । नगदको पनि आवश्यकता पर्दछ ।

म्युचुअल फण्ड भनेको लामो समय भविष्यको लागि गरिने लगानी हो । बजारको अध्ययन गर्न, लगानीको क्षेत्र पहिचान गर्न, सही कम्पनीको शेयर छनौट गर्न र सहि समयमा शेयर बिक्री गर्न अध्ययन तथा ज्ञानको कमी भएका लगानीकर्ताहरुको लागि यो नै सबैभन्दा उत्तम क्षेत्र हो । अहिले लगानीकर्ताको संख्या बढीरहेकाले पनि यस किसिमका लगानीकर्ताहरुको संख्या पनि अधिक छ । उहाँहरुको लागि त यो नै सबैभन्दा सही सावित हुन सक्ने देखिन्छ ।

प्रत्यक्ष रुपमा दोस्रो बजारमा गरिने कारोबार र खुलामुखी म्युचल फण्डमा गरिने लगानी कुन सुरक्षित, किन र कसरी ?

प्रत्यक्ष रुपमा दोश्रो बजारमा गरिने लगानीमा त्यसको मूल्य बजारबाट निर्धारण भएको आधारमा खरीद बिक्री हुने गर्दछ । खुलामुखी योजनामा योजनाको खुद सम्पत्तिको मूल्यमा नै खरीद बिक्री हुने, ब्रोकरेज शुल्क नलाग्ने हुँदा खुलामुखी योजनामा गरिने लगानीमा लागत कम पर्न आउँछ । यसले गर्दा लागतको हिसावले खुलामुखी योजना उपयुक्त हुन सक्दछ ।

पहिले नै लाभांशको दर घोषणा गरेर लगानीकर्तालाई प्रलोभनमा पार्ने अभ्यास भईरहेका छन् यसलाई कसरी लिनु भएको छ ?

योजनाको निष्काशन गर्नुपूर्व लाभांशको दर उल्लेख गर्नु भविष्यको प्रक्षेपण मात्र हो । योजनाको प्रकृति अनुरुप जुन आधारहरुलाई लिएर योजनाको सञ्चालन गरी मुनाफाको प्रक्षेपण गरिएको हुन्छ सोही अनुरुप नै योजनाको सञ्चालन गरी प्रक्षेपित लक्ष हासिल गर्ने आधार हो । तर प्रक्षेपण गरिए अनुरुप नै मुनाफा हुन्छ भन्न सकिदैंन । कहिले कम हुन्छ भने कहिले बढी पनि हुन सक्छ । यो सबै बजारको उतार चढाव र फण्डको सञ्चालन प्रक्रियामा भर पर्दछ । पहिले नै यति मुनाफा वितरण गर्छौं भनेर घोषणा गर्नु राम्रो कुरा होइन । तथापि प्रक्षेपण नगरी र योजनाको भविष्य कस्तो हुनेछ भन्ने कुरा लगानीकर्तालाई जानकारी नगराई योजना सञ्चालन गर्न पनि मिल्दैन । लगानीकर्ताले पनि त योजनाको भविष्यको बारेमा बुझेर नै त्यसमा लगानी गर्ने हो । प्रक्षेपण गरिएको लाभांशको दरलाई नै अन्तिम लाभांशको रुपमा लिन मिल्दैन ।

जोखिम र प्रतिफलका आधारमा म्युचुअल फण्डको प्रकृतिले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ होला । लगानीकर्तालाई यो विषय कसरी बुझाउन चाहनु हुन्छ ?

 

तपाईंले भनेको कुरा ठिक हो । हरेक लगानीमा पक्कै पनि जोखिम हुन्छ र त्यसमा अदृष्य रुपमा प्रतिफल पनि लुकेको हुन्छ । प्रतिफलको आशाले नै केही जोखिम लिएर लगानी गर्ने हो । सबै क्षेत्रमा जोखिम नहुने हो भने सबैको प्रतिफल एकनाश हुनुपर्ने हो । तर त्यो हुँदैन । त्यसमा महत्वपूर्ण कुरा के हो भने फण्डको प्रकृति र सोको व्यवस्थापन कसरी भएको छ भन्ने नै हो । म्युचुअल फण्डमा पनि त्यसै आधारमा योजना तयार गर्ने र सञ्चालन गर्ने गरिन्छ ।

कुनै योजना ईक्विटीमा आधारित हुन्छन् भने कुनै स्थिर आम्दानीमा आधारित हुन्छन् । ईक्विटीमा गरिने लगानीमा जोखिमको मात्रा बढी हुन्छ भने प्रतिफल पनि त्यसै अनुसार बढी हुन सक्छ । त्यसैगरी स्थिर आम्दानीको क्षेत्रमा बढी लगानी गर्दा जोखिम कम हुन्छ भने नाफाको दर पनि कम हुन्छ ।

हामीले सञ्चालनमा ल्याएको बन्दमुखी योजनाको कुरा गर्ने हो भने एउटा योजना स्थिर आम्दानीमा आधारित छ भने अर्को ईक्विटीमा आधारित छ । अहिले निष्काशन गर्न लागिएको एनएमबि सरल बचत फण्ड–इ खुलामुखी योजना हो र यो योजना ईक्विटीमा आधारित छ । यस योजनाले अधिकतम ९० प्रतिशतसम्म ईक्विटीमा लगानी गर्नसक्छ भने बढीमा ६० प्रतिशतसम्म स्थिर आम्दानी हुने उपकरणमा र बढीमा २५ प्रतिशत नगद तथा बैंक मौज्दातमा रहने हुन्छ । अतः जोखिम र प्रतिफललाई ब्यालेन्स गरेर नै फण्डको परिचालन गर्नु योजना व्यवस्थापकको चुनौति हो ।

लगानीकर्ताले पनि यसै आधारमा आफ्नो लगानीलाई विविधिकरण गरेर विभिन्न क्षेत्रमा लगानी गर्दा त्यसले जोखिम र प्रतिफललाई ब्यालेन्स गर्न सकिन्छ ।

मुद्धती निक्षेपबाट प्रतिफल वितरण गर्ने विषयलाई प्राथमिकतामा राखिन्छ । जानकारले त फण्डमा लगानी नगरी सिधैं मुद्धती बचत गर्न सक्छन् नि होइन ?

मुद्दती निक्षेपमा गरिने लगानी स्थिर आम्दानीको क्षेत्र हो । ब्याजदर र बजार मूल्यको बिचमा जहिले पनि विपरित सम्बन्ध कायम रहेको हुन्छ । यसले गर्दा ब्याजदर बढ्दा बैंक वित्तीय संस्थालाई निक्षेप आवश्यक पर्न जान्छ । उक्त समयमा अन्य क्षेत्रमा लगानीको अवसर देखिंदा लगानीकर्ताहरु पनि अन्यत्र लगानीका लागि आकर्षित हुन्छन् । फलस्वरुप बजार मूल्य पनि सोही अनुरुप घट्न जान्छ ।

यहाँनिर अलिकति बुझाई फरक भएको जस्तो लाग्यो । मुद्दती निक्षेपमा लगानी गर्न सक्ने अधिकतम सीमा भनेको १५ प्रतिशत मात्र नै हो । त्यो भन्दा बढी लगानी गर्न पाईदैंन । अब भन्नुस, मुद्दती निक्षेपमा लगानी गरेर मात्र लगानीकर्तालाई प्रतिफल दिन सकिन्छ त ? योजनाले जहिले पनि नियामक निकायकले तोकेको सीमा र परिधिभित्र रही लगानीकर्ताको हितलाई ध्यानमा राखेर आफ्नो फण्ड परिचालन गर्ने हो ।

देशको अर्थव्यवस्थाको अवस्था, राज्यले लिएको नीति, मौद्रिक नीति आदिले पनि ब्याजदर र बजार मूल्यमा फरक पार्ने हुँदा मुद्दती निक्षेपबाट मात्र प्रतिफल वितरण गर्ने विषयलाई प्राथमिकतामा राख्न सकिदैंन । लगानीको क्षेत्र संकुचित भएको अवस्था तथा बजार मूल्य घटेको र प्रतिफल कम भएको अवस्थामा मात्र तोकिएको सीमासम्म मुद्दती निक्षेपमा लगानी गरिने हो । तर योजनाले गर्ने लगानीमा विविधिकरण हुने हुँदा मुद्दती निक्षेपबाट प्राप्त प्रतिफल भन्दा योजनाको लगानीबाट प्राप्त प्रतिफल उच्च हुन सक्छ । तथापि फण्डले गर्ने लगानीमा पनि जोखिमको अवस्था भने रही नै रहन्छ ।

भारत र नेपालको सन्दर्भमा कुरा गर्ने हो भने हामीकहाँ म्युचुअल फण्डमा आबद्ध हुनेहरु ज्यादै न्यून छन्, किन यस्तो भएको होला ?

भारत ठुलो जनसंख्या भएको देश हो । भारतमा भन्दा नेपालमा म्युचुअल फण्डमा आवद्ध हुनेको संख्या न्यून हुनु स्वभाविक नै हो । नेपालमा म्युचुअल फण्ड सञ्चालनमा आएको भरखर ७ वर्ष व्यतित भएको छ । त्यसले गर्दा पनि विगत १–२ वर्ष पहिलेसम्मको कुरा गर्ने हो भने तपाईंले भनेको कुरा ठिक नै हो ।

हामीकहाँ शेयरलाई बुझ्ने जनसंख्या सीमित छ । त्यसमा पनि म्युचुअल फण्डलाई बुझ्ने संख्या अति नै कम छ । सुरु सुरुमा २५–३० हजार जनाले आवेदन गर्ने अवस्था थियो भने आज त्यो संख्या लाख भन्दा माथि पुगेको छ । लगानीकर्ताको संख्या पनि त्यसै अनुरुप बढेको छ । बजारमा धेरै योजनाहरु सञ्चालनमा आउँदा लगानीकर्ताहरुले त्यसतर्फ चासो दिएर बुझ्न थालेका छन् साथै लगानीकर्ताहरुलाई लगानीका अवसरहरु उपलब्ध भै राखेका छन् । त्यसैगरी कारोवार पनि दिन प्रतिदिन वृद्धि हुँदै गईरहेको छ । अहिले ब्रोकर कम्पनीहरुले पनि देशका विभिन्न स्थानहरुबाट शेयर खरीद बिक्रीकोलागि शाखाहरु सञ्चालनमा ल्याएका छन् । त्यसैगरी अनलाईनबाट समेत कारोवार गर्ने व्यवस्था कार्यान्वयनमा आएको छ । यसले लगानीकर्ताहरुको संख्या आगामी दिनमा अझ वृद्धि हुने देखिन्छ ।

हामीकहाँ म्युचुअल फण्ड लिट्रेसी कम हुनुको कारक के हो र यसमा कसरी सुधार गर्न सकिन्छ ?

मैले भरखर नै भनिसके की पहिलाको तुलनामा भन्दा अहिले म्युचुअल फण्डको बारेमा जनमानसमा साक्षरता केही बढेको छ । बैंक वित्तीय संस्थाहरुले समेत यसमा आवेदन गर्न सक्ने र देशभरका शाखा कार्यालयहरुबाट समेत आवेदन गर्न सकिने भएकाले पनि लगानीकर्ताहरुको संख्या बढेसंगै यसतर्फ पहिलेको तुलनामा बढी जिज्ञासाहरु पनि आउन थालेका छन् । नियामक निकायले पनि म्युचुअल फण्डको बारेमा साक्षरता कार्यक्रमलाई समय अनुसार सञ्चालन गर्नुपर्छ भन्ने लाग्छ ।

अहिले विभिन्न अनलाईन मिडियाहरुले म्युचुअल फण्डको बारेमा जानकारीमूलक सूचनाहरु पनि संप्रेषण गर्ने गरेका छन् । यसले पनि लगानीकर्ताहरुमा जागरुकता ल्याएको देखिन्छ । देशका सबै स्थानहरुमा अहिले अनलाईनबाट सूचना जानकारी लिने प्रवृत्तिको विकास भईरहेको छ । विगत १८ महिनादेखि देशभर आएको कोभिड–१९ को प्रभावका कारण अधिकांश कार्यक्रमहरु अनलाईनको माध्यमबाट नै भएका छन् । हामी योजना व्यवस्थापकहरुको पनि दायित्व हुन आउँछ की हामीले पनि योजना सञ्चालनमा ल्याउनु पूर्व यहाँहरु जस्तो अनलाईन मिडियाबाट समेत योजनाको बारेमा लगानीकर्ताहरुलाई जानकारी गराउन सकेमा पनि त्यसले पनि म्युचुअल फण्डतर्फ सबैलाई यसतर्फ बुझ्न र यसप्रति आकर्षित गर्न मद्दत गर्दछ ।

दोस्रो बजारको सन्दर्भमा म्युचुअल फण्डको प्रभावकारिता कम भएको आरोप लाग्ने गरेको छ यसमा तपाई के भन्नु हुन्छ ?

म्युचुअल फण्डहरुले जहिले पनि लगानीकर्ताको हित हुने गरी उनिहरुको लगानीको उच्चतम व्यवस्थापन गर्ने हो । बजारको अवस्था अनुसार मात्र योजनाले शेयर खरीद बिक्री गर्ने हो भने त लगानीकर्ताको हीत कहाँ हुन्छ र ? हो, हिजोको दिनमा यस्ता कुराहरु आउने गरेको थियो होला । तर अहिलेको समयमा मलाई योजनाहरुले राम्रो तवरले नै आफ्नो जिम्मेवारी र भूमिका निर्वाह गरे जस्तो लाग्छ ।

एनएमबि सरल बचत फण्ड–इ का बारेमा लगानीकर्ताहरुलाई के भन्न चाहनु हुन्छ ?

एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने “एनएमबि सरल बचत फण्ड–इ” यो एउटा खुलामुखी योजना हो । जसको निष्काशन आज भदौ १७ गते विहीवारदेखि सुरु भएको छ । यसमा एकजना लगानीकर्ताले न्यूनतम १०० ईकाइ र अधिकतममा ४ लाख ईकाइसम्म खरीद गर्न सक्नुहुनेछ ।

एनएनबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा आईसकेका योजनाहरुबाट प्राप्त ७ वर्षको कार्यअनुभव, सक्षम र योग्य रिसर्च टिम, विगतका योजनाहरुबाट प्रदान गरिएको प्रतिफल जस्ता आधारहरुलाई हेरी हामीले यस खुलामुखी योजनालाई विगतका अन्य योजनाहरु भन्दा पनि अझ बढी सफलतापूर्वक सञ्चालन गरी उच्चतम प्रतिफल दिने प्रयास गर्नेछौं । यहाँहरुले पनि योजनाका सम्बन्धमा प्रकाशन गरिएको विवरणपत्रको राम्ररी अध्ययन गरी योजनाको लगानी सम्बन्धमा जोखिमको समेत अध्ययन गरी लगानी गर्न सक्नु हुनेछ । यस योजनामा लगानीकर्ताहरुले भविष्यकोलागि समेत योजना गरी सानो सानो निश्चित रकम समेत लगानी गरी आफ्नो भविष्यमा आउने ठुलो खर्च व्यवस्थापनका लागि समेत अहिलेबाट नै योजना बनाउन सक्नुहुने छ । हामी यहाँहरुको लगानीलाई सुरक्षित गरी अधिक भन्दा अधिक प्रतिफल दिनेतर्फ अग्रसर हुनेछौं ।

… ‘एनएमबि सरल बचत फन्ड इ’ को ४ करोड इकाइको बिक्री खुल्यो …

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।