कोरोनाले उपत्यकाका ५०% ट्याक्सी व्यवसायी विस्थापित, सरकारबाट कुनै सहुलियत नपाएको गुनासो

0
Shares

दोलखा घर भएका दुर्गा बहादुर खत्रीले अघिल्लो वर्ष अर्थात २०७६ साल माघमा ऋण धन गरेर ट्याक्सी किने ।

खत्रीले ऋण धन गरेर ट्याक्सी जोडेको दुई महिना नबित्दै विश्वभर महामारीका रुपमा फैलिएको कोभिड-१९ का कारण देशमा लकडाउन सुरु भयो । लकडाउनले खत्रीको ट्याक्सी गुड्न पाएन । ऋण गरेर किनेको ट्याक्सी चलाउन नपाएपछि उनको आम्दानी नै ठप्प भयो । जसले गर्दा दैनिक गुजारामै समस्या आयो ।

एक दशक अगाडि काठमाण्डौका सडकमा माइक्रोबस गुडाउन सुरु गरेका खत्री ६ वर्ष माइक्रोबस चलाएपछि वैदेशीक रोजगारीका क्रममा कुबेत गएका थिए । कुुबेतमा चार वर्षजति काम गरेपछि स्वदेश मै केही गर्ने सोचका साथ फर्किएका उनले कुवेतको कमाई र ऋण गरेर ट्याक्सी किने । तर, टयाक्सी किनेदेखि नै विभिन्न चरणमा भएका लकडाउनले उनी पलायन हुने अवस्थामा पुगेको बताउँछन् ।

“विदेशबाट फर्किएका नेपालीलाई सरकारले ‘क’ वर्गका बैंकबाट १० लाखसम्म ऋण दिने व्यवस्था थियो । त्यति बेला एउटा नयाँ ट्याक्सीलाई ३५ लाख रुपैयाँ पथ्र्यो । सबै प्रक्रिया पुर्याएर बैंकमा जाँदा पनि उनले प्रयाप्त ऋण पाउन सकेनन् । बैंकले पुरानो ट्याक्सीमा लगानी नगर्ने भन्दै खाली हात पठाइदिए । त्यसपछि नातेदारबाट ऋण लिएरै भएपनि उनले पुरानै ट्याक्सी किने ”

लकडाउन भन्दा पहिले ट्याक्सी चलाएर नै मासिक ६० देखि ७० हजार कमाउने गरेका उनले लकडाउनपछि परिवार धान्न पनि मुस्किल परेको बताउँछन् । दुर्गा बहादुर भन्छन्, वर्षेनि राजस्व बढेको छ, तेलको मूल्य बढ्छ, उपभोग्य वस्तु वर्षेनी छोइनसक्नु भएको छ तर ९ वर्ष देखि ट्याक्सी भाडा बढेको छैन ।”

स्वदेशमा केहि गर्छु भनेर ट्याक्सी चलाउन थालेका दुर्गा बहादुर त्यही ट्याक्सी बेचेर विदेश जाने सोचमा पुगेका छन् । “स्वदेशमा केहि गर्छु भनेर पनि नहुँदो रहेछ अब फेरि म विदेश जान्छु । अहिले त ट्याक्सीको मूल्य पनि छैन । राम्रो भिषा लाग्यो भने म यो व्यवसायबाटै पलायन हुन्छु, यसको करिब ४ लाख रुपैयाँ ऋण अझै बाँकी छ ।” उनले भने ।

त्यसैगरी सर्लाहीका रमेश गुप्ता पनि काठमाण्डौमा भाडामा ट्याक्सी लिएर चलाउँछन् । उनी पनि यो व्यवसायबाट पलायन हुने सोचमा रहेका छन् । गुप्ताले ट्याक्सी चलाउनु अघि धनगढीबाट नेपालगञ्ज सम्मको रात्री बस चलाउथे । रात्री बस चलाउँदै आएका गुप्ता परिवार काठमाण्डौमा नै बस्ने भएपछि काठमाण्डौमा ट्याक्सी चलाउन लागे । कोरोना महामारी र लकडाउनले गर्दा उनको हालत पनि खत्रीको जस्तै भयो ।

“हामी त उही बिहानै आउने र बेलुका सम्म सडक रुघ्ने जस्तै भएका छौँ । दिनमा १ हजार देखि पन्ध्र सय कहिले काँही २ हजार रुपैयाँसम्म कमाई हुन्छ । साहुलाई बुझाउँदैमा सकिन्छ । गुप्ताले गुनासो पोखे ।

कहिलेकाहीँ बाटो रुँघेको देखेर टुटल पठाओले पनि जिस्काउँछन् होला । न त भाडा बढ्छ न कमाइ छ अब दशैँबाट यो ट्याक्सी चलाइन्न होला अब फेरि रात्री बस नै चलाउछु” गुप्ताले भने । उनकी श्रीमतीले बसुन्धारामा तरकारी ब्यापार गर्छिन् । त्यही तरकारी व्यवसायले नै अहिले परिवार चलिरहेको उनले बताए ।

सरकारले ट्याक्सी चालकको पीडालाई नबुझेको उनको गुनासो छ । विसं २०६९ सालदेखिको ट्याक्सी मिटर भाडा समायोजन नहुँदा ट्याक्सी संचालकहरु मर्कामा परेको उनले बताए ।

खत्री र गुप्ताको मात्र होइन अहिले काठमाडौंमा ट्याक्सी चलाउँदै आएका १२ हजार ५०० बढी ट्याक्सी चालकहरुको अवस्था उस्तै छ । कोभिडका कारण अझैपनि जनजिवन सामान्य नबनिसकेकाले धेरैजसो ट्याक्सी चालकहरुको सोच यो पेशाबाट बाहिरेनेमा नै छ । अधिकांश ट्याक्सी चालकहरु कि त नयाँ रोजगारी कि त मिलेसम्म विदेश पलायन हुने अवस्थामा पुगेका छन् ।

लकडाउनपछि काठमाण्डौ उपत्यकामा चल्ने ट्याक्सी व्यवसाय धरासायी अवस्थामा पुगेको छ भने कति व्यवसायीहरु विस्थापित भइसकेका छन् । नेपाल सरकारले अघिल्लो वर्षको चैत्रबाट लकडाउन जारी गरेदेखि नै यातायात क्षेत्र ठप्प भयो । व्यवसायीहरुले लाखौँ खर्चेर किनेका सवारी साधन ग्यारेजमै थन्किए भने कति सवारी चालकहरु साहु र बैंकबाट ल्याएको ऋण चुकाउन नसकेर यो क्षेत्र नै त्याग्ने अवस्थामा छन् ।

अहिले यातायात व्यवसाय मध्यको ट्याक्सी व्यवसाय पनि त्यहि अवस्थामा पुगेको छ । सडकका पेटीमा यात्रुको पर्खाइमा रहेका उनीहरुलाई यात्रु भेटाउन नै मुस्किल छ । त्यसमा पनि टुटल र पठाओले त उनीहरुको व्यवसायलाई झनै मर्का थपिदिएको छ ।

अहिले काठमाण्डौ उपत्यकाभित्र करिब ३ अर्ब रुपैयाँ भन्दा धेरैको लगानीमा १२ हजार ५०० व्यवसायिक ट्याक्सी छन् । अबौं रुपैयाँ लगानी रहेको ट्याक्सी व्यवसायमा कोरोनाका कारण परेको असरलाई न्यूनीकरण गर्न सरकारले हालसम्म पनि कुनै सहुलियत तथा छुटको व्यवस्था नगर्दा वित्तीय सहयोग गर्ने बैंक तथा वित्तीय संस्थालाई नै ऋणधन गरेर जोडेको ट्याक्सी बुझाउनुपर्ने अवस्थामा पुगेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका ट्याक्सी तर्फका केन्द्रिय सदस्य अर्जुन गौतमसँग ५ वटा ट्याक्सी छन् । लकडानका कारण न आम्दानी जुट्यो न त यात्रु पहिला जति नै भेटिन्छन् । गौतमले २ वर्षदेखि बैंकमा कर्जा तिरेका छैनन् । अब बैंकले नै ट्याक्सी लिलाम गर्ने हो कि भन्ने चिन्तामा छन् उनी ।

“अघिल्लो सरकारलाई लिखित रुपमा आफ्ना समस्याहरु बुझाई समाधानका उपायहरु समेत सुझाएका थियौं,” गौतमले भने,“ अहिलेसम्म हामीले सरकारबाट केही पाएका छैनौं ।” नयाँ सरकार गठन भएपछि लिखित तथा मौखिक केही माग नगरेको उनको भनाई छ ।

उपत्यकामा चल्ने साढे १२ हजार ट्याक्सीमध्ये करिब ७० प्रतिशत व्यवसायी स्वरोजगार छन् । कोरोना माहामारीभन्दा पहिला करिब ३० हजारको हाराहारीमा ट्याक्सी चालकहरु थिए । तर अहिलेको अवस्थासम्म आइपुग्दा करिब ५० प्रतिशत अर्थात १५ हजार ट्याक्सी चालक पलायन भइसकेको नेपाल मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष हरिकृष्ण बस्नेतले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।