सूचीकृत अन्य कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ को साधारण सभाका लागि तयारी थाल्दै गर्दा जीवन बीमा कम्पनीहरु भने बल्ल आव २०७६/७७ को साधारण सभा गर्नका लागि अग्रसर भएका छन् ।
नेप्सेमा सूचीकृत कम्पनीहरुभन्दा एक वर्ष ढिला साधारण सभा गर्दै आएका जीवन बीमा कम्पनीहरु अब भने अघिल्लो आर्थिक वर्षको साधारण सभा गर्ने बाटोमा पुगेका हुन् । एक्चुरियल भ्यालुएसनको कारणबाट अन्य कम्पनीहरुको दाँजोमा जीवन बीमा कम्पनीहरुको साधारण सभामा ढिलाई हुँदै आएको छ ।
जीवन बीमा कम्पनीहरुले आफ्नो एक्चुरियल भ्यालुएसनको प्रतिवेदन स्वीकृतिका लागि बीमा समितिमा पेश गर्न थालेका छन् ।
बीमा समिति स्रोतका अनुसार नेपाल लाइफ इन्स्योरेन्स सहित तीन पुराना र तीन नयाँ गरी आधा दर्जन बीमा कम्पनीले एक्चुरियल भ्यालुएसनको प्रतिवेदन बीमा समितिमा बुझाएका छन् ।
हालसम्म नेपाल लाइफ, प्राइम लाइफ, एशियन लाइफ, सन नेपाल लाइफ, महालक्ष्मी लाइफ, ज्योति लाइफ इन्स्योरेन्सले एक्चुरियल भ्यालुएसन सम्पन्न गरि सो अनुसारको वित्तीय विवरण स्वीकृतिको लागि समितिमा पठाएका हुन् ।
बीमा कम्पनीहरुले समितिबाट उक्त भ्यालुएसनलाई आफ्नो एक्चुरी मार्फत स्वीकृत गरेपछि मात्रै लेखापरीक्षण प्रतिवेदन बनाउन पाउने छन् । एक्चुरियल भ्यालुएसन सम्पन्न गरेका बीमा कम्पनीहरुले मात्र पोलिसी होल्डरका लागि बोनसदर निर्धारण गर्न सक्छन् ।
केही कम्पनीहरुले एक्चुरियल भ्यालुएसन सम्पन्न गरेको वित्तीय विवरण पेश गर्न थालेको समितिले जनाएको छ । समितिका एक अधिकारीले भने “एकचुरियल भ्यालुएसन सम्पन्न नभई वित्तीय विवरण पारित हुँदैन, कम्पनीहरुले एक्चुरियल भ्यालुएसन सम्पन्न गरेर विवरण पेश गरेका छन् ।”
कम्पनीहरुले साधारण सभा गर्नु अघि बीमा समितिको अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था छ । जसका लागि कम्पनीहरुले सम्बन्धित एक्चुअरीसँग समन्वयन गर्छन् । कम्पनीले आफ्नो तर्फबाट एक्चुअरीलाई देखाएको वित्तीय विवरण प्राप्त भएपछि पनि बीमा समितिले आफ्नो एक्चुअरी मार्फत त्यसलाई पुनः हेर्न लगाउँछ ।
समितिबाट उक्त प्रतिवेदन स्वीकृत भएपछि मात्रै कम्पनीहरुले लाभांश प्रस्ताव गर्न तथा साधारण सभा आह्वान गर्नका लागि बाटो खुल्दछ । नेपालमा एक्चुरियल भ्यालुएसनको लागि जनशक्ति अभावका कारण विदेशी एक्चुअरीको भर पर्नुपर्ने बाध्यता छ ।
एक्चुरियल भ्यालुएसनको लागि विदेशी जनशक्तिमा निर्भर हुनुपर्ने कारण जीवन बीमा कम्पनीहरुले अन्य कम्पनी जसरी समयमा नै साधारण सभा सम्पन्न गर्न सकिरहेका छैनन् ।
भारतीय एक्चुरीहरुको प्राथमिकता बहुराष्ट्रिय तथा भारतका ठू(ठूला कम्पनीमा हुने र कम प्राथमिकतामा नेपाली बीमा कम्पनीहरुलाई रहने भएकाले नेपाली बीमा कम्पनीहरुको साधारण सभामा एक्चुरीको कारणबाटै ढिलाइ हुने गरेको छ ।
स्वदेशमै एक्चुरिअल भ्यालुयसन गर्ने सहज वातावरण नभएको कारण देखाउँदै कम्पनीहरुले समयमै लेखापरिक्षण प्रतिवेदन र वार्षिक साधारण सभा गर्न नसकेको बताउँदै आएका छन् ।
सञ्चालनमा रहेका १९ वटै जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारण सभा गर्न बाँकी छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया