तरलता अभाव : राष्ट्र बैंकले २० अर्ब दिँदा बैंकहरुले मागे झण्डै ५४ अर्ब, रिपोको ब्याजदर पनि बढ्यो

0
Shares

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थामा तरलताको समस्या उत्कर्षमा पुगेको छ । कोरोना संक्रमणदरमा कमी आएसंगै बढेको आर्थिक गतिविधिका कारण बैंकिङ प्रणालीबाट पैसा बाहिरिएपछि तरलता अभावको समस्या झनै जटील बन्दै गएको हो ।

सरकारले बजेट खर्च गर्न नसक्दा नयाँ निक्षेप सिर्जना हुन नसकेपछि बैंकिङ क्षेत्रमा तरलता अभाव देखिएको छ । साथै चाडपर्व लक्षित व्यवसाय तथा कारोबार विस्तारका लागि बैंकहरुमा कर्जाको माग अत्याधिक रहेको छ भने निक्षेप समेत घट्न थालेको छ । जसले गर्दा तरलता अभावसँगै अन्तर बैंक कारोबारको ब्याजदरले सीमा पार गरेको छ ।

बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव र अन्तर बैंक ब्याजदरलाई नियन्त्रण गर्न राष्ट्र बैंकले बिहीबार २० अर्बको रिपो जारी गरेको छ । केन्द्रीय बैंकले २० अर्ब बराबरको रिपो जारी गर्दा बैंकहरुले भने ५३ अर्ब ७० करोड रुपैयाँ माग गरेका छन् । राष्ट्र बैंकले बिहीबार जारी गरेको रिपो असोज १४ गते परिपक्क हुनेछ।

यसअघि पनि राष्ट्र बैंकले भदौ १७ गते २० अर्ब बराबरको ७ दिने तथा असोज ७ गते ३० अर्ब बराबरको १४ दिने रिपो जारी गरेको थियो । चालु आर्थिक वर्ष सुरुभयता राष्ट्र बैंकले तीन पटकमा गरेर ७० अर्बको रिपो जारी गरिसकेको छ ।

चालु आर्थिक वर्ष सुरु भएसंगै वित्तीय प्रणालीबाट निक्षेप बाहिरिने र कर्जा लगानी विस्तार हुने क्रम बढेको छ । त्यसैगरी सरकारले करको रुपमा उठाएको पैसा पनि खर्च नगरी ढुकुटीमा सञ्चित गरेर राखेको अवस्था छ । चालु आर्थिक वर्ष सुरु भएपछि मात्र करिब १०२ अर्ब रुपैयाँ सरकारी ढुकुटीमा जम्मा भएको छ ।
कोरोनाका कारण ठप्प भएको आर्थिक गतिविधि सुचारु भएसंगै बैंकमा निक्षेप नथपिने र बैंकमा भएको पैसा पनि बाहिरिने क्रमले तरलताको समस्या झनै जटील बन्दै गएको हो । त्यसका साथै चालु आर्थिक वर्ष सुरु भएसंगै रेमिट्यान्स आप्रवाहमा पनि कमी आएकाले बैंकहरुमा निक्षेप घटेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार रिपो जारीभएपछि बैंकिङ प्रणालीमा ४० अर्ब रुपैयाँ बढी तरलता पुगेको । यो अवधिमा बैंकहरुको अन्तर बैंक ब्याजदर पनि ५ प्रतिशतको हाराहारीमा पुगेपछि बैंकहरुले नेपाल राष्ट्र बैंकबाट एसएलएफ उपभोग गरेका छन् । यो साता सुरु भएपछि मात्र ६ दिनमा बैंक तथा वित्तीय संस्थाले ६५ अर्ब बढी रकम एसएलएफ प्रयोग गरेको अवस्था छ ।

बैंकहरुमा तरलताको अभाव चुलिदा रिपोको ब्याजदर समेत बढ्दै गएको छ । बिहीबार जारी भएको २० अर्बको रिपोका लागि १६ बैंकले १२६ आवेदन मार्फत ४.८० प्रतिशतदेखि ४.९० प्रतिशतसम्म ब्याजदर प्रस्ताव गरेका थिए । जसको औसत ब्याजदर ४.८७ प्रतिशत कायम भएको छ । जुन अघिल्लो पटको भन्दा धेरै हो । अघिल्लो असोज ७ गते बैंकहरुले ४.७९ प्रतिशत ब्याजदरमा रिपो कबोल गरेका थिए ।

राष्ट्र बैंकका अनुसार २० अर्बको रिपो जारी गरेपछि अहिले बैंकिङ प्रणालीमा करिब ४० अर्ब बराबरको तरलता रहेको छ । रेमिट्यान्सको आप्रवाह दरमा आएको कमि र सरकारी खर्च बढ्न नसक्दा वित्तीय क्षेत्रमा नयाँ निक्षेप आउँन सकेको छैन् । बैंकिङ प्रणालीमा लगानी योग्य रकमको अभाव राष्ट्र बैंकले विभिन्न उपकरणहरुको प्रयोग गरेर तरलता प्रवाह गर्ने र तरलता धेरै हुँदा प्रशोचन गर्ने गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।