फेसनमा आफ्नै ब्राण्ड स्थापीत गर्दै २१ वर्षीय एक यूवा, ‘कश्यपी नेपाल’ लाई उचाई दिँदै


मेहनत र लगनशिलताबाट नै हरेक व्यक्तिले सफलताको शिखर चुम्छन् । हर जो कोहीले सपना देख्छन् । चाहे ठुलो होस् या सानो नै किन नहोस् । देखेको सपनालाई पूरा गर्नका लागि हरपल लागि पर्छन् । मनदेखि गर्न चाहेको कुरालाई पूरा गर्नका लागि व्यक्ति हरपल लागी परिरहन्छ ।

ललितपुर, सातदोबाटोमा जन्मिएका किसन श्रेष्ठ उमेरले २१ वर्षका भए । आफुले देखेको सपनालाई यर्थाथमा बदल्नका लागि मेहनत गरिरहेका किसनले अहिले सफलताको बाटो समातेका छन् । सपना र आफुले अघि सारेको अवधारणालाई बजारमा चिनाउन उनी कहिले साथि भाई त कहिले परिवारको साथ लिँदै अघि बढिरहेका छन् ।

किशोरावस्थामा नै किसनले आफ्नै लगानीमा नयाँ व्यवसायको अवधारणा अघि ल्याएका हुन् । १९ वर्ष कै उमेरमा किसनले जन्माएको फेसन वेयर ब्राण्ड ‘कश्यपी नेपाल’ अहिले लोकप्रिय बन्दै गइरहेको छ । सन् २०१९ मा किसनले नेपाली बजारमा कश्यपी नेपालको उदय गराएर अहिले स्थापित गराउन कडा परिश्रषम गरिरहेका छन् । हुने विरुवाको चिल्लो पात भने झै किसनले किशोरावस्थामा व्यवसायमा हालेको हात अहिले धेरैको नजरमा पर्न थालिसकेको छ । काठमाडौँ मै जन्म, काठमाडौँमा नै बाल्यकाल बिताएका किसन नेपालमा नै केही गर्छु भन्ने मनसायले नै कश्यपी नेपाललाई जन्म दिएको बताउँछन् ।

किसनले स्नातक तहको अध्ययन गर्दा गर्दै यो ब्राण्डको सुरुवात गरेका हुन् । ‘सस्टेनेवल फेसन’ को बारेमा धेर थोर ज्ञान भएका किसनले त्यतै तर्फ आफ्नो ध्यान खिचेर आफ्नै अलग्गै ब्राण्डको सुरुवात गरेका हुन् । आफ्नो सोचलाई बजारमा चिनाउनका लागि उनले आफ्नो सोच र अवधारणाका बारेमा साथीसँग ‘शेयर’ गरे । साथिहरुसँग मिलेर उनले बजारको अध्ययन गरे । नेपाली बजारमा ‘सस्टेनेवल फेसन’ सम्बन्धि व्यवसाय पनि सफल हुन्छ भन्ने निष्कर्ष निकाले पछि मात्र कश्यपी नेपाललाई अघि बढाएको किसन बताउँछन् ।

किसनले ३० हजार रुपैंयाको लगानीमा आफ्नै ब्राण्ड खडा गरेर बजार उपस्थिती जनाएका हुन् । नेपालमा शैक्षिक योग्यता हासिल गरेर विदेशी भूमितर्फ जाने र उतै रहने सोच नेपाली युवा पुस्तामा बढ्दो छ । तर किसनको मनमा भने कहिले त्यो सोच पलाएन । उनलाई ‘आफ्नै देशमा जे भए पनि गर्छु, सकेको गर्छु’ भन्ने भावना जागिरहन्थ्यो र अहिले पनि त्यो भावनाबाट उनी डगमगाएका छैनन् । “आफुमा भएको ज्ञानलाई किन अरु देशमा छर्ने ?” उनी भन्छन् “जे गर्छु, यतै गर्छु भन्ने लाग्छ” । “आफ्नो ‘स्किल’ लाई कि अरु देशमा किन घुमाउने” उनले थपे ।

व्यवसायकि पारिवारिक माहोलले आफ्नै व्यवसाय गर्ने सोच

किसन श्रेष्ठको परिवारिक पृष्ठभूमी व्यवसायसँग जोडिएको छ । किसनका बुबाले खाद्यान्नको व्यवसाय सम्हालेका थिए । उनकै प्ररेणाले किसनले आफ्नै व्यवसाय गर्ने सोच बनाए । “हजुर बुबाहरुले व्यवसाय नगरे पनि बुबाले खाद्यान्न सम्बन्धि व्यवसाय गर्नु हुन्थ्यो, उहाँले धेरै कुरा सिकाउनु भयो” किसनले भने ।

किसनकी आमा फेसन डिजाइनर थिइन् । आमा डिजाइनर भएकाले नै पनि आफ्नो झुकाव पहिरनको व्यवसायमा परेको किसन बताउँछन् । आमाको कामको प्रभाव आफुमा परेको र कपडा व्यवसाय बाटै बजारमा चिनिने सोच पलाएको उनी बताउँछन् ।

टेक्सटाइल उद्योगबाट करिअरको सुरुवात

किसन श्रेष्ठले कलेज पढ्दा पढ्दै आफ्नो करिअरको शुरुवात टेक्सटाइल उद्योगबाट गरेका हुन् । जागिरभन्दा पनि आफ्नै केही व्यवसाय शुरु गरौँ भन्ने सोच राखेका उनलाई उक्त उद्योगले साथ थियो ।

एकाउण्ट र स्टक डिपार्ट सम्हालेका श्रेष्ठले त्यहीबाट कपडाको व्यवसायमा केही गर्छु भन्ने सोच अनुसार योजना बनाए । “स्र्टाटअपमा नै केही गर्न मन थियो, कपडा उद्योगमा काम गरे पछि कपडा तर्फ नै केही गरौँ भन्ने लाग्यो” उनले भने ।

कश्यपी नेपालले के के उत्पादन गर्छ ?

कश्यपी नेपाल कपडाको ब्राण्ड हो । कश्यपीले ‘टिनेज’ उमेर समूहलाई लक्षित गर्दै विभिन्न किसिमका कपडाहरुको उत्पादन गर्छ । बाँस तथा कपास लगायतका कच्चा पदार्थलाई प्रशोधन गरी कश्यपीले कपडाहरुको उत्पादन गर्ने गरेको छ ।

“कश्यपी नेपालको उद्देश्य भनेको राम्रो फेसन ब्रान्डका रुपमा स्थापित हुनु हो । स्थानीय संसाधनहरु, शीप, कला तथा कौशलको उपयोग गरेर बनाइएका उत्पादनहरु बजारमा पस्कनु कश्यपीको लक्ष्य हो,” किसन भन्छन् ।

स्वदेशी कच्चा पदार्थको प्रयोग, स्वदेशमै उत्पादन

कश्यपी नेपालले स्वदेशीे कच्चा पदार्थको माध्यमबाट कपडा उत्पादन गर्छ । आजसम्म कश्यपीले बजारमा बिक्रि वितरण गर्ने सामान बनाउनका लागि बाहिरी मुलकुबाट कुनै पनि कच्चा पदार्थ नल्याएको किसनको दाबी छ । कुन कच्चा पदार्थ कुन सामान बनाउनको लागि उपयुक्त हुन्छ भनेर छनौट गरेपछि कश्यपी नेपालको आफ्नै डिजाईनजरले कपडाको डिजाईन बनाउने गर्छन् । आफुले डिजाईन गरेका सामान उत्पादन गर्नका लागि भने कश्यपीले हाल तीन वटा उद्योगसँग सहकार्य गर्दै आएको छ ।

एक्लो सहकार्य, परेको खण्डमा साथीको सहयोग

किसनले जसरी आफ्नै लगानीमा कश्यपीलाई जन्म दिए त्यसै गरी एक्लैले बजारमा प्रतिस्पर्धा गर्दैछन् । कश्यपी नेपालमा उनको एकल लगानी छ । व्यवसाय चलाउनका लागि थप स्रोतको आवश्यक्ता पर्दा साथीभाईको सहयोग लिएर काम चलाउने गरेको उनी बताउँछन् । आवश्यक्ता अनुसार मौसमी रुपमा केही कामदारलाई रोजगारी समेत दिने गरेको उनको भनाई छ ।

लकडाउको सदुपयोग

किसनले विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण नेपालमा गरिएको पहिलो चरणको लकडाउनलाई मज्जाले सदुपयोग गरे । उनले सो समयमा आफ्नो ब्राण्डको वेबसाइट बनाउनेदेखि अन्य व्यवस्थापनका कामहरु गरेर बजारमा उपस्थितीलाई बलियो बनाउने आधार बनाए । पहिलो लडडाउनमा व्यवसाय सुस्त भए पछि त्यसको सदुपयोग अन्य विधामा गरेको किसन बताउँछन् ।

कश्यपी अर्थात पृथ्वी

कश्यपीको संस्कृत अर्थ हुन्छ पृथ्वी । आफ्नो उत्पादन वातावरणसँग सम्बन्धित भएकाले ब्राण्डको नाम पनि सोही अनुसार रोखेको किसनको भनाई छ । फेसन उद्योग, संसारमा सबैभन्दा धेरै प्रदूषण उत्सर्जन गर्ने मध्ये एकमा पर्ने गरेको छ । यो अवस्थामा वातावरणीय उत्पादनका कच्चा पदार्थको प्रयोगबाट कपडा बनाउने गरेकाले त्यसको सम्बन्ध पृथ्वीसँग रहेको जनाउन कश्यपी शब्दलाई ब्राण्ड बनाएको उनी बताउँछन् ।

बजार मूल्य ८०० देखि २ हजार

कश्यपी नेपालले उत्पादन गरेका लत्ता कपडाको बजार मूल्य ८ सय रुपैयाँदेखि २ हजार रुपैंयासम्म पर्दछ । आफुले उत्पादन गरेको वस्तुको गुणस्तर र लागतको आधारमा मूल्य निर्धारण गरिएको सजनको तर्क छ । कश्यपीले बजारमा महिला तथा पुरुषका लागि हुक, टिसर्ट, सर्ट, ज्याकेट, स्याकेट, कोट, हुडी लगातका कपडाको उत्पादन तथा बिक्री बितरण गर्दै आएको छ ।

डिजिटल माध्यमबाट व्यापार

कश्यपी नेपालले अघिल्लो वर्ष पाटनमा रहेको एउटा स्टोरबाट आफ्ना उत्पादनको बिक्रि बितरण गर्दै आए पनि अहिले भने पूर्ण रुपमा डिजिटल माध्यमबाट व्यापार गर्दै आएको छ । कश्यपी नेपालको वेबसाइट, विभिन्न किसिमका सामाजिक सञ्जालहरुः फेसबुक तथा इन्स्टामार्फत आफ्नो बजार बिस्तार गर्दै आएको र प्रतिकृया पनि राम्रो आईरहेकाले किसनमा उत्साह थपिएको छ ।

नेपाल युवा उद्यमी फोरमको स्टार्टअप अवार्डको शीर्ष ७ मा कश्यपी नेपाल

कश्यपी नेपाललले नेपाल उद्यमी फोरमको स्टार्टअप अवार्ड समेत हासिल गरेको छ । उक्त अवार्डको शीर्ष ७ मा कश्यपी नेपाल परेको थियो । साथीहरुको सहयोगमा कश्यपी नेपालले उक्त अवार्डको लागि आवेदन दिएको थियो । “सस्टेनेवल फेसन” को अवधारणा अघि ल्याएकै कारण उक्त अवार्डको फाइनलसम्म पुग्न सफल भएको किसनको अनुभव छ ।

सस्टेनेवल फेसनको अवधारणलाई बुझाउने चुनौती

किसन अहिले कश्यपी नेपाललाई नै पुरै समय दिन्छन् । आगामी दिनमा पनि यहि व्यवसायलाई नेपाली कपडा बजारमा स्थापित गराउने उनको सोच छ । आफुले अगाडि बढाएको सस्टेनेवल फेसनको अवधारणालाई बजारमा पहिचानका रुपमा अटाउन उनलाई मन छ । “नेपालमा सस्टेनेवल फेसन इन्ड्रष्ट्रि भन्ने त छैन” उनी भन्छन्, “सस्टेनेवल फेसन प्रतिको मान्छेको बुझाई, सोच, हेराईलाई क्लियर पार्नु छ, कन्सेप्टको बारेमा बुझाउनु छ” । नेपालमा ७ अर्बको फेसन इन्ड्रष्ट्रिको मार्केट भए पनि सस्टेनेवल फेसनको हिस्सा भने थोरै मात्रमा रहेकाले यसमा भविष्य देखेको किसन बताउँछन् ।

किशोरावश्था मै व्यवसायमा होमिएका किसनलाई आफ्नो कामप्रति परिवारको पूर्ण साथ, सहयोग मात्रै होईन परिवारको हौसला पनि छ । आफ्नो व्यवसाय प्रति परिवारको सहयोग रहेको बताउने किसन अरु कसैको साथ सहयोग लिनु भन्दा पनि अघि बढ्नका लागि आफैले बाटो खन्नु पर्ने बताउँछन् । यही विश्वासलाई आत्मसाथ गर्दै अघि बढेका किसनले आफ्नै देशमा केही गर्ने सपना देखेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।