विदेशी विनिमय सञ्चितिमा दबाब परेपछि सुन आयात कोटा पनि घट्न सक्ने

0
Shares

सुनचाँदी व्यवसायीहरुले विद्यमान दैनिक २० किलो सुन अप्रयाप्त भएको भन्दै कोटा बढाउन माग गरिरहेको बेला  नेपाल राष्ट्र बैंकले भने सुन आयातको कोटा घटाउने संकेत गरेको छ । उच्च आयात तथा रेमिट्यान्सको आप्रवाहमा कमी आएसंगै विदेशी विनिमय सञ्चितिमा दबाब परेपछि सुन आयात कोटा पनि घटाउने संकेत गरेको हो ।

राष्ट्र बैंकले हालका लागि दैनिक २० किलो सुन आयात गर्न अनुमति दिएको छ । व्यवसायीको सिफारीसमा वाणिज्य बैंक मार्फत उक्त सुन आयात हुने गर्छ ।

हालको व्यवस्था अनुसार दैनिक आयात हुने सुन मध्ये बाग्मती अञ्चलका ८ वटा जिल्लालाई ५० प्रतिशत अन्य जिल्लाका लागि ५० प्रतिशतका दरले वितरण गर्दै आएको छ । यसरी वितरण हुने सुन प्यान नम्बर भएका व्यवसायीले मात्र खरिद गर्न पाउने व्यवस्था रहेको नेपाल राष्ट्र बैंकका एक अधिकारीले बताए ।

“अहिलेको अवस्थामा सुनको आयात बढ्ने सम्भावना नै छैन,” ती अधिकारीले भने,“गाडी आयातमा रोक लगाउदा राजस्वमा असर गर्ने भएकाले विदेशी विनिमय सञ्चिति घट्ने अवस्थामा आयातमा रोक लगाउने सुन तथा मदिरामा नै हो ।” तर, सुन व्यवसायीले भने हालको कोटाले बजारको माग धान्न नसकेको भन्दै सुन दैनिक ४० किलो आयात गर्न दिनुपर्ने माग राख्दै आएका छन् ।

अहिलेका लागि मरिज, केराउ, छोकडा तथा सुपारी आयात पुर्ण रुपमा बन्द नै गरको अवस्था छ । विदेशी विनिमय सञ्चितिले ८ महिनासम्मको बस्तु तथा सेवा आयात गर्न नसक्ने अवस्था आएको खण्डमा प्यानिक अवस्था आउने उनले बताए । “अहिलेको विदेशी विनिमय सञ्चितिले १० महिनाका लागि वस्तु तथा सेवा आयत गर्न पुग्ने अवस्था छ,” ती अधिकारीले थपे,“ विदेशी विनिमय सञ्चितिमा आएको गिरावट आत्तिनु हाल्नु पर्ने अवस्था नभएपनि सचेत भएर काम गर्नुपर्ने देखिन्छ ।”

विदेशी मुद्रा आउने स्रोत भनेको रेमिट्यान्स हो । चालु आर्थिक वर्ष सुरु भएदेखि रेमिट्यान्स आप्रबाहमा कमी आउन थालेको छ । चालु आवको पहिलो महिना साउनमा मात्रै रेमिट्यान्स आप्रबाह १८.१ प्रतिशतले घटेको छ । यो अवधिमा आयात अत्याधिक बढेको छ । निर्यातमा उल्लेख्य सुधार हुन सकेको छैन् । भदौको महिनामा पनि रेमिट्यान्स आप्रबाहमा सुधार आएको देखिदैन ।

अहिले औपचारिक च्यानलाबाट आयात भएको सुनको दुरुपयोग भएको देखिँदैन । एक व्यवसायीका विभिन्न नाममा धेरै फर्म भने हुन सक्छन् । त्यसका लागि नेपाल राष्ट्र बैंकले कानुनलाई आधार मानेर रोक्न पनि सक्दैन । अन्तराष्ट्रिय बजार मुल्य अनुसार बाणिज्य कर तिरेर ल्याएको सुनमा बैंकले राखेको मार्जिन समेत तिरेर खरिद गर्ने हो । व्यवसायीले सुन वितरण गर्दा कसरी गरेका छन भने सुक्ष्म तहमा नेपाल राष्ट्र बैंक नपुगेको ती अधिकारीको भनाई छ । व्यवसायीले बिक्री गरेको सुनको विवरण बाणिज्य बैंकहरु संग भने हुन्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।