पक्राउ पर्नु अघि बचतकर्ताको घेराबन्दीमा इच्छाराज तामाङ, यसरी दिएका थिए दवाब (भिडियो सहित)


सिभिल कोअपरेटिभ लिमिटेडमा अर्बौ रुपैंयाको घोटाला प्रकरणमा मुछिएका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई सहकारीका बचतकर्ताहरुले आफ्नो रकम फिर्ता गर्नका लागि पटक पटक ताकेता गर्दै आएका थिए । यस क्रममा पछिल्लो पटक तामाङ पक्राउ पर्नुभन्दा केही दिन अघि मात्र सहकारीका बचतकर्ताले तामाङका साथै सहकारीका वहालवाला अध्यक्ष केशवलाल श्रेष्ठलाई आफ्नो निक्षेप रकम फिर्ता गराईदिन दवाब दिएका थिए ।

काठमाण्डौंको सोल्टीमोडस्थित सिभिल सहकारीको भवनमा ठुलो संख्यामा भेला भएका सहकारीका बचतकर्ताले पछिल्लो २ वर्षभन्दा लामो समयदेखि रकम फिर्ता पाउन ताकेता गरे पनि सम्बोधनको पहल नभएको भन्दै गाली समेत गरेका थिए । आफुहरुको धैर्यताको बाँध टुटेको भन्दै बचतकर्ताले विकल्पमा समेत छलफलका लागि तामाङसँग आग्रह गरेका थिए ।

३ हजार हाराहारी बचतकर्ताको ७ अर्ब हाराहारी निक्षेप लिएका तामाङले उक्त रकम अन्य व्यवसायमा लगानी गरे पछि समस्या सुरु भएको थियो । पछिल्लो पटक १३८ जनाले केन्द्रीय अनुसन्धान व्यूरोमा दिएको जाहेरीका आधारमा तामाङ र श्रेष्ठ सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ ४६ करोड ठगीको आरोपमा पक्राउ

पहिलो चरणको अनुसन्धानका लागि अदालतबाट ५ दिनको म्याद थप गरी अहिले उनीहरु माथि केन्द्रीय अनुसन्धान व्यूरोले अनुसन्धान गरिरहेको छ ।

इच्छाराज तामाङलाई ५ दिन थुनामा राख्न अदालतको अनुमति, जाहेरी दिने बढ्दै

शिक्षक, इञ्जिनयर लगायतका व्यक्तिहरुको सक्रियतामा सुरु भएको सहकारीमा ५० वर्षभन्दा माथिका व्यक्तिहरुको धेरै लगानी छ । तामाङ अध्यक्ष भएका बेलादेखि नै सहकारीमा समस्या सुरु भएको चर्चा चलिएको थियो । यस सम्बन्धमा विभिन्न निकायले पटक पटक तामाङलाई प्रष्टीकरण सोधे पनि त्यसको जानकारी सार्वजनिक भएको थिए ।

नेकपा एमालेमा प्रभावशाली व्यक्तित्व बनाएका तामाङलाई केपी शर्मा ओली प्रधानमन्त्री रहँदासम्म कुनै निकायले कडा रुपमा कार्वाही अघि नबढाउँदा आफुहरुको लगानी डुब्ने अवस्थामा पुगेको निक्षेपकर्ताहरुको आरोप छ । साथै उनीहरुले आफ्नो बचतको रकम तामाङले नेकपा एमालेको दलगत खर्चमा खर्चिएको समेत आरोप लगाएका छन् ।

सहकारी समस्यामा परेको थाहा पाउँदादेखि रकम फिर्ताका लागि ताकेता गरेका बचतकर्तालाई सहकारीले निक्षेप रकम बराबरको शेयर दिने भन्दै अल्मल्याउँदै आएको थियो । यद्यपी बचतकर्ताले शेयर नभइ आफुहरुको बचत रकम नै फिर्ता दिनु पर्ने अडान सहकारी समक्ष राख्दै आएका थिए ।

पछिल्ला दिनमा तामाङले निक्षेप फिर्ता माग्ने बचतकर्तालाई त्रैमासिक रुपमा १० हजारदेखि ५० हजार रुपैंया दिँदै आएका थिए । बचतकर्ता भने आफ्नो बचतको व्याज आएको वा साँवा फिर्ता भएको भन्ने प्रश्न गर्दै पाएको रकम लिँदै जाने गरेका थिए । पछिल्लो पटक दशैंको समयमा तामाङले ज्येष्ठ नागरिकबाट सुरु गरेर उमेरलाई पहिलो प्राथमिकतामा राखेर १० हजार रुपैंयाको दरले रकम फिर्ता गरेका थिए । त्यो रकम सबै बचतकर्ताले भने पाएका छैनन् ।

सोल्टी मोडस्थित सहकारीको कार्यालयमा तामाङ र श्रेष्ठ घेराबन्दीमा परेपछि के के भएको थियो भिडियोमा हेर्नुहोस्

राजनीतिक आडमा उच्च व्यवस्थापकको चलखेलले बैंकिङ क्षेत्र जोखिममा

७० करोड रुपैंया बराबरका निक्षेपकर्ताहरु मात्र प्रहरीमा पुगे पनि अरु धेरै निक्षेपकर्ताले आफ्नो रकम डुब्ने डरले प्रहरीमा जाहेरी दिएका छैनन् । सबै निक्षेपकर्ताको हिसाब गर्दा कम्तीमा पनि ५ अर्बदेखि ७ अर्ब रुपैंया हिनामिना भएको र त्यसमा आफ्नो पनि ठुलो रकम फसेको एक निक्षेपकर्ताले नोटबजारलाई बताए ।

पछिल्लो २ वर्ष यता आफ्नो निक्षेपको साँवा मात्र फिर्ता गर्न दवाब दिए पनि तामाङले विभिन्न बहानामा रकम फिर्ता नगरेको बताएका उनले मासिक रुपमा भत्ता सरह सानो सानो किस्ता दिएर फर्काउने गरेको बताए । आफ्नो रकम डुब्ने डरमा प्रहरीलाई जाहेरी नदिएको बताएका ति निक्षेपकर्ताले पछिल्लो पटक सामुहिक रुपमा रकम फिर्ता गर्न दवाब दिए पनि सुनुवाई नभए पछि केही निक्षेपकर्ताले प्रहरीमा जाहेरी दिएको बताए । “सबै निक्षेपकर्ताले जाहेरी दिएका छैनौं, सबैले जाहेरी दिने हो भने करोडको रकम अर्बमा उक्लिन्छ,” उनले भने ।

उता केन्द्रीय अनुसन्धान व्यूरोले भने हालसम्म १३७ जनाबाट ठगीको विबरण सहित तामाङ र कोअपरेटिभका बिरुद्ध जाहेरी आएको जनाएको छ । जाहेरीकर्तासँगै यो रकम बढ्ने र अनुसन्धान पनि लम्बिन सक्ने बताएको व्युरोले दोस्रो चरणको अनुसन्धानका लागि फेरी म्याद थप हुन सक्ने जनाएको छ । यस्तो भएको खण्डमा २५ दिनसम्म म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गर्न सकिने पनि व्युरोले जनाएको छ ।

कोअपरेटिभका पुर्व अध्यक्ष तामाङ तथा बहालवाला अध्यक्ष श्रेष्ठ सहित पक्राउ पर्नेहरुमा एलिना तुलाधर, बुद्धराज तामाङ, हरिहर लामिछाने, भगवानबहादुर सिंह, विजयविक्रम शाह, मायोनानी महर्जन रहेका छन् । कौस्तुभ केतन ढुंगाना, शंकरप्रसाद पाठक, राकेश महर्जन र संगीत श्रेष्ठ पनि उक्त घोटाला प्रकरणमा प्रहरीको नियन्त्रणमा छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।