तरलता व्यवस्थापनका लागि करिब चार महिनामा १४ खर्बको ‘एसएलएफ’ उपयोग

0
Shares

चालु आर्थिक वर्ष सुरुभएयता बैंकिङ्ग प्रणालीमा देखा परेको तरलता अभाव व्यवस्थापनका लागि बैंकहरुले करिब चार महिनाको अवधिमा झण्डै १४ खर्ब बराबरको स्थायी तरलता सुविधा (एसएलएफ) उपयोग गरेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार साउन यता बैंकहरुले ६७८ पटकमा १३ खर्ब ९७ अर्ब ९८ करोड एसएलएफ उपयोग गरेका छन । एसएलएफको अवधिको ७ दिनको हुने गरेको छ ।

पछिल्लो ३ दिनमा मात्रै बैंकहरुले तरलता व्यवस्थापनको लागि एक खर्ब ३२ अर्ब ५२ करोड रुपैयाँ एसएलएफ उपयोग गरेका छन । कात्तिक २२ गते ४५ अर्ब ६० करोड रुपैयाँ लिएका बैंकहरुले २३ गते ५१ अर्ब ८२ करोड तथा २५ गते ३५ अर्ब १० करोड रुपैयाँ लिएका छन ।

नेपाल राष्ट्र बैंकले सीसीडी रेसियो खारेज गरेर सीडी रेसियो ९० प्रतिशत कायम गरेपछि तरलता अभाव सुरु भएको हो। चालु आर्थिक बर्ष सुरु भएयता बैंकहरुको कर्जा प्रवाह ३ खर्ब ४ अर्ब रुपैयाँले बढेको छ । तर यसअवधिमा बैंकहरुको निक्षेप भने जम्मा ३७ अर्ब रुपैयाँले मात्र वृद्धि भएको छ । जसले गर्दा अधिकांस बैंकको सीडी रेसियो ९० प्रतिशत नाघेको छ ।

निक्षेप घट्ने क्रम रोकिएन

कात्तिक महिना सुरु भएयता बैंकहरुको निक्षेप निरन्तर घटिरहेको छ । पछिल्लो ३ सातामा मात्रै बैंकिङ्ग प्रणालीबाट ३१ अर्ब रुपैयाँ बाहिरिसकेको छ । कात्तिकको पहिलो साता बैंकहरुबाट २० अर्ब, दोस्रो साता २ अर्ब तथा तेस्रो साता ९ अर्बगरी ३१ अर्ब निक्षेप बाहिरिएको हो । यसअवधिमा बैंकहरुले थप २७ अर्ब कर्जा लगानी गरेका छन । कात्तिकको पहिलो साता एक अर्ब भन्दा कम कर्जा लगानी गरेका बैंकहरुले दोस्रो र तेस्रो सातामा २७ अर्ब कर्जा विस्तार गरेका हुन ।

कात्तिक महिनाको पहिलो साताको सुरुवातीमा केन्द्रीय बैंकले ब्याजदरमा नीतिगत हस्तक्षेप गरेदेखि नै निक्षेप घट्न थालेका हो । असोज अन्तिम साता प्रणालीमा ४२ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप रहेकोमा कार्तिक तेस्रो साता अर्थात कार्तिक १७ गतेसम्ममा निक्षेप घटेर ४२ खर्ब ३८ अर्बमा झरेको छ । त्यस्तै असोज अन्तिम साता बैंकिङ्ग प्रणालीमा रहेको कर्जा लगानी ३९ खर्ब ९८ अर्ब रुपैयाँ थियो । कार्तिक तेस्रो साता अर्थात कार्तिक १७ गतेसम्ममा बढेर ४० खर्ब २५ अर्बमा पुगेको छ ।

वित्तीय प्रणालीमा तरलता अभावको समस्या जटिल बन्दै गएपछि बैंक वित्तीय संस्थाले असोज महिनाको ब्याजदर बढाएका थिए । असोज महिनामा ब्याजदर बढाउँदा ९८ अर्ब रुपैयाँ निक्षेप थपिएको थियो । उक्त निक्षेपले पनि तरलता अभावको समस्या सहज नभई झनै कर्जा लगानी योग्य रकमको समेत अभाव देखिन थाल्यो । त्यसपछि बैंकहरुले पुनः कात्तिक महिनामा ब्याजदर बढाए । कात्तिक महिनाका लागि बैंक वित्तीय संस्थाले बढाएको ब्याजदरमा नेपाल राष्ट्र बैैंकले प्रत्यक्ष नीतिगत हस्तक्षेप गर्यो ।

रिपोमा उच्च माग

राष्ट्र बैंकले तरलता व्यवस्थापनको लागि बिहीबार १४ दिनका लागि २० अर्ब रुपैयाँ रिपो जारी गरेको थियो। जसमा ५५ अर्ब ६५ करोड रुपैयाँ बराबरका लागि आवेदन परेको छ । १९ वटा बैंक तथा वित्तीय संस्थाहरुले ६८ वटा आवेदन मार्फत उक्त रकम माग गरेका थिए । जसको औषत ब्याजदर ४.९८ प्रतिशत कायम भएको छ। रिपोको ब्याजदर पनि चालु आव सुरु भएयताकै सबैभन्दा उच्च हो ।

राष्ट्र बैंकले बिहीबारसमेत गरेर ९ पटक रिपो जारी गरिसकेको छ। कुल ९ पटकमा २ खर्बको रिपो जारी भएकोमा बैंकहरुले ४ खर्ब ९२ अर्ब बराबरको रकम माग गरेका थिए।

सरकारले पूँजीगत खर्च गर्न नसक्ने अवस्था, रेमिट्यान्स आप्रवाहमा कमी, सरकारी ट्रेजरी विलको अधिक निष्काशन तथा उच्च आयातले गर्दा वित्तीय प्रणालीमा तरलता अभावको समस्या जटिल बनेको एक बैंकरले बताए । यसका अलवा दशैं तथा तिहार लगायतका चाडपर्वका लागि बैंकिङ प्रणालीबाट बाहिरिएको ठूलो रकम अझै प्रणालीमा फिर्ता भएको छैन। यसले पनि बैंकहरुलाई समस्यामा पारेको छ ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।