अपर तामाकोशीको नाफा ८६ करोड, प्रतिशेयर आम्दानी ३२ रुपैयाँ माथि

0
Shares

राष्ट्रिय गौरवको आयोजना अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८६ करोड १९ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत आवको यसै अवधिमा १ करोड ७८ लाख नोक्सानी ब्यहोरेको कम्पनीको विद्युत उत्पादन सुरु भएसँगै नाफा बढेको हो ।

आयोजना सञ्चालनमा आएको ३ महिनामा कम्पनीले बिजुली बिक्रीबाट १ अर्ब ७२ करोड ७७ लाख ५१ हजार रुपैयाँ आम्दानी गरेको हो । कम्पनीले भदौ २५ गतेदेखि ६ वटै युनिटबाट ४५६ मेगावाट बिजुली व्यवसायिक रुपमा उत्पादन थालिसकेको छ । असारको तेस्रो सातादेखि बिजुली को परीक्षण उत्पादन थालेकोमा थप युनिटहरुमा साउन र भदौमा कम्पनीले आयोजनाबाट परीक्षण बिजुली उत्पादन थालेको थियो ।

कम्पनीको दायित्व भने बढेर करिब ९० अर्ब पुगेको छ । अपर तामाकोशीले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार ४१ अर्ब दीर्घकालिन कर्जा, २ करोड ९ लाख प्रोभिजन, दीर्घकालीन कर्जाको ब्याज ३१ अर्ब ७६ करोड २८ लाख १६ हजार, र अन्य गैह्र चालु दायित्व ९९ करोड ५३ लाख ८० हजार गरी कुल ७३ अर्ब ७७ करोड ९१ लाख कुल गैह्र चालु दायित्व रहेको छ । यस्तै अल्पकालिन ऋण ४ अर्ब, अन्य चालु दायित्व १ अर्ब ७२ करोड ११ लाख गरी ५ अर्ब ७२ करोड ११ लाख रहेको छ । यसरी कम्पनीको कुल दायित्व ८९ अर्ब ८८ करोड ९३ लाख ७४ हजार रुपैयाँ छ ।

चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको अपर तामाकोशीको वार्षिक प्रतिशेयर आम्दानी ३२.४८ रुपैयाँ, प्रतिशेयर नेटवर्थ ५८.१० रुपैयाँ रहेको छ ।  कम्पनीको शेयरधनी कोष २० करोड ८ लाख ९१ हजार रुपैयाँले ऋणात्मक रहेको छ ।

आयोजना बनाउन नेपाल विद्युत प्राधिकरण मार्फत सरकारको १३ अर्ब, शेयरधनीहरु नेपाल टेलिकम, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानबाट १४ अर्ब रुपैयाँ दीर्घकालिन ऋण र प्राधिकरणबाट २ अर्ब अल्पकालीन ऋण रहेको कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीको अनुरोधमा सरकारले विद्युत प्राधिकरण मार्फत लगानी गरेको १४ अर्ब रुपैयाँको ब्याजदर घटाएर ६ प्रतिशत कायम गर्नु सकारात्मक रहको र अन्य ऋण लगानीकर्तालाई ब्याजदर घटाउने अनुरोध गरेको कम्पनीले जनाएको छ । ४५६ मेगावाट जडित क्षमताको माथिल्लो तामाकोसीबाट वार्षिक २ अर्ब २८ करोड १० लाख युनिट बिजुली उत्पादन हुनेछ । यसबाट कम्पनीले वार्षिक बिजुली बिक्रीबाट ९ अर्ब रुपैयाँ आम्दानी गर्नेछ ।

विभिन्न कारणले आयोजना निर्माण सम्पन्न गर्नमा ढिलाइ भएको, निर्माण अवधिको ब्याज, विदेशी मुद्रा सटही व्ययभार र निर्माणका क्रममा प्रशासनिक खर्चमा भएको बढोत्तरीले आयोजनाको लागत बढेको कम्पनीले वित्तीय विवरणमा उल्लेख गरेको छ ।  कम्पनीले लगानीकर्तालाई भविष्यमा थप प्रतिफल दिन रोल्वालिङ डाइभर्सन र रोल्वालिङ खोला आयोजना निर्माण सुरु गर्न लागेको जनाएको छ । रोल्वालिङ बनेपछि बिजुली उत्पादन भई आम्दानी समेत बढ्नेछ । यसका लागि उचित ब्याजदरमा आवश्यक ऋण व्यवस्थापनमा चुनौति रहेको कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।