भाषणले मात्र ग्याँस बजार विस्थापित गर्न सक्दैन: एभरेष्ट ग्याँस संसारका अध्यक्ष घिमिरे

0
Shares

सरकारले एलपी ग्याँस आयातलाई घटाउन विद्युतिय चुल्होको प्रयोगमा जोड दिइरहेको छ । उजार्मन्त्रीदेखि विद्युत प्राधिकरणका कार्यकारी निर्देशकसम्मले विद्युतिय सामाग्री प्रयोग बढाउन सर्वसाधारणलाई आग्रह गरिरहेका छन् ।

सरकारले नै विद्युतीय चुल्होको प्रयोग गर्न सार्वजनिक आह्वान गर्न थालेपछि ग्याँस उद्योगीहरु समेत ग्याँस बजारको प्रवद्धनमा जुट्न थालेका छन् ।

चौतर्फी रुपमा सरकार ग्याँस विस्थापनमा लागि परेपछि ग्याँस उद्योगी तथा बिक्रेताहरुले ग्याँस बजारलाई सुरक्षित बनाउनेतर्फ क्रियाशिल भएका हुन् ।

एभरेष्ट ग्याँस संसारका अध्यक्ष शिव प्रसाद घिमिरे विद्युतीय चुलोको प्रयोगले ग्याँस बजारमा तत्काल कुनै असर नपर्ने दाबी गर्छन् ।

सरकारले तयारी बिना नै विद्युतीय चुल्हो अभियान चलाउँदा त्यसले तत्काललाई ग्याँस बजारमा कुनै असर नगर्ने उनको भनाई छ ।

“तत्काल भनिए जस्तो, भाषण गरिएजस्तो इन्डक्सन चुल्होले ग्यासलाई विस्थापन गर्ने अवस्था छैन ।” अध्यक्ष घिमिरेले भने “सकारले भने जस्तो पूर्वाधार तयार छैन्, भाषणले मात्र ग्याँस बजार विस्थापित हुँदैन, भाषण गर्दा पनि पूर्वाधार तयार गरेर गर्नुपर्छ ।”

पूर्वाधार (नेपालमा नै विद्युतिय चुलोको उत्पादन) तयार नै नगरी सरकारले उत्पादन गरेको विद्युतले मात्र ग्याँस बजार विस्थापित नहुने उनको भनाई छ । “स्वाट्ट सुन्दा उदेश्य राम्रो हो, बगिरहेको नदिनाला प्रयोग गरेर डलर तिरेर आयात गरिने एलपी ग्याँस विस्थापित गर्दा नेपालको ठूलो धनरासी बचत हुन्छ” उनले भने “तर जसरी भनिएको हो त्यसरी काम हुने वाला देखिँदैन् । त्यसकारण ग्याँसबजार असुरक्षित छ जस्तो लाग्दैन ।”

के हो एभरेष्ट ग्याँस संसार ?

झट्ट सुन्दा एभरेष्ट ग्याँस संसार भनेको कुनै ग्याँसको नाम जस्तो मात्र लाग्छ । तर एभरेष्ट ग्याँस संसार नोपलमा करिब ३ दशक अघि आएको र ठूलो ग्याँस उद्योग समूह हो । नेपालका विभिन्न जिल्लाहरुमा रहेका विभिन्न ब्रान्डका ग्यासको छाता संगठन हो ।

जसको एभरेष्ट (काठमाडौँ र आसपासका जिल्लाका लागि), त्रिशूल (भैरहवा), कामाख्या (सुनसरी), प्रिमा (इटहरी), साहारा (हेटौंडा), सैपाल (कैलाली) र सुगम (धादिङ्ग) ग्यास गरी जम्मा ७ वटा ग्यास ब्राण्डहरू नै यस एभरेष्ट ग्याँस संसारको छातामुनी रहेका छन् ।

करिब ३००० डिलरहरूको सञ्जाल माफर्त एभरेष्ट ग्याँस संसारले नेपालको कुना-कुनामा सेवा प्रदान गर्दै आएको छ भने वार्षिक करिब १७ प्रतिशतको हाराहारीमा प्रयोगकर्ता बढीरहेको अध्यक्ष घिमीरेले बताए ।

एउटै नाम देशैभरी फैलाउने सोच

एभरेष्ट ग्याँस संसारका अध्यक्ष घिमीरेले एभरेष्ट ग्याँस संसारको छातामुनी रहेका विभिन्न ब्रान्डहरुलाई एउटै नामबाट नेपालका कुना कुनामा पुर्याउने सोच रहेको बताउँछन् ।

घिमिरेले एभरेष्ट ग्याँस संसार मार्फत ७ वटा ब्राण्डहरुलाई एउटै छातामुनी राखेका छन् । त्यसमा पनि देशका विभिन्न जिल्ला तथा ठाउँहरुमा विभिन्न नामले रहेका यी ग्याँस हरुलाई एउटै नाम दिएर देशभरी पुर्याउने सोच रहेको बताउँछन् । उनले भने,“ भविष्यमा यी सातैवटा ब्रान्डलाई एउटै नाम दिएर देशैभरी लैजाने सोच छ ।”

प्रमुख लक्ष्य नै जनचेतना

नेपालमा ग्याँस बजार अव्यवस्थित र जोखिम हुनुमा जनचेतनाको अभाव रहेको उनको भनाई छ । “ग्याँस आफैँमा विस्फोटक होइन” उनले भने,“ तर जनचेतनाको अभावमा अलि जोखिम भने छ ।” “मेरो प्रमुख लक्ष्य नै जनचेतना जगाएर जोखिम बजारलाई व्यवस्थित बनाएर लैजाने हो ।”

साथै उनले अव्यवस्थित ग्याँसको प्रयोगलाई मध्य नजर गर्दै प्रशिक्षकहरुबाट ग्यासको प्रयोग कसरी गर्ने, आगो लागि भए के गर्ने ?, आगो लाग्न नदिन के गर्ने, लाग्यो भने कसरी नियन्त्रण गर्ने भन्ने कुरालाई गाउँ तथा सहरहरुमा अभियानकै रुपमा संचालन गरिने तयारी भइरहेको पनि बताए । उनले यस अघि पनि विभिन्न आम सञ्चारका माध्यमहरुबाट आम उपभोक्तालाई सूचीकृत गर्ने काम गरीरहेको पनि जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।