एक महिनामा १ अर्ब २१ करोडको घरायासी विद्युतीय सामाग्री आयात, ५ करोडको विद्युतीय चुल्हो

0
Shares

बिजुलीको सहज आपूर्ति भएसँगै नेपालमा पछिल्लो समयमा घरायासी विद्युतीय सामाग्रीको माग बढ्दा आयात पनि बढ्न थालेको छ । भन्सार विभागका अनुसार पछिल्लो एक महिनामा मात्र सवा अर्ब बराबरको विद्युतीय सामाग्री आयात भएको छ ।

जाडोयाम सुरु भएकाले जाडोमा उपयोग हुने विद्युतीय सामाग्रीहरुको बढी आयात भएको भन्सारको तथ्यांक छ । विभागले उपलब्ध गराएको तथ्यांक अनुसार एक महिना अर्थात चालु आवको पाँचौं महिना मंसिरमा १ अर्ब २१ करोड ६७ लाख ६६ हजार रुपैयाँ बराबरको विद्युतीय सामाग्री आयात भएको छ ।

नेपालमा विशेषगरी अस्ट्रेलिया, बहराइन, चीन, जर्मन, भारत, साउदी, अरब, मलेसिया, कतार, थाइल्याण्ड, इटाली, ओमन, फ्रान्स लगायत देशहरुबाट उक्त रकम बराबरको विद्युतीय सामाग्री आयात भएको विभागले जनाएको छ ।

मंसिर महिनमा विशेषगरी विद्युतीय जग, रेडियटर हिटर, विद्युतीय चुल्हो, पानी तताउने रड, आइरन, माइक्रोवेभ ओभनहरु, राइस कुकर लगायत सामाग्री बढी आयात भएका छन् ।

पानी तताउने रड

विभागको तथ्यांक अनुसार मंसिरमा सबैभन्दा बढी पानी तताउने रडको आयात भएको छ । मंसिरमा विभिन्न देशहरुबाट ४९ करोड ५२ लाख २५ हजार रुपैयाँ बराबरको ३ लाख ४९ हजार ६५३ वटा पानी तताउने रडको आयात भएको हो । जसबाट सरकारलाई ११ करोड ५४ लाख १२ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ । जाडो महिनामा नुहाउने तथा भाडा माझ्ने पानी तताउन यसको माग अत्याधिक हुने गरेको छ ।

विद्युतीय जग

त्यसैगरी सोही समय २८ करोड ८५ लाख ६० हजार रुपैयाँ बराबरको ६ लाख ३४ हजार ४०४ वटा विद्युतीय जगको आयात भएको छ । जसबाट सरकाले ७ करोड २ लाख ३३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । चिया, कफी, चाउचाउ तथा पानी तताउन सहज हुने भएकाले जाडो याममा इलेक्ट्रिक जगको माग बढेको हो ।

राइस कुकर

भन्सार विभागको तथ्यांक अनुसार विद्युतीय माध्यमबाट खाना बनाउन प्रयोग गरिने राइस कुकर पनि ठूलो संख्यामा आयात भएको छ । विभागका अनुसार यस महिना १७ करोड ५८ लाख ३५ हजार रुपैयाँ बराबरको १ लाख ४५ हजार ७६४ वटा राइसकुकर आयात भएको छ । जसबाट सरकारले ४ करोड २८ लाख २६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

माइक्रोवेभ ओभन

तथ्यांक अनुसार माइक्रोवेभ ओभन पनि ठूलो संख्यामा आयात भएको छ । नेपालमा होटल, रेष्टुरेन्ट, क्याफे तथा वेकरीमा यसको प्रयोग बढी हुन्छ । यस महिनामा नेपालमा १६ करोड १२ लाख ९४ हजार रुपैयाँ बराबरको १५ हजार ७८५ वटा माइक्रोवेभ ओभनहरु आयात भएको छ । जसबाट सरकारले ३ करोड ६७ लाख ७१ राजस्व संकलन गरेको छ ।

आईरन

नेपालमा एक महिनामा ३ करोड ९३ लाख ९२ हजार रुपैयाँ बराबरको ५९ हजार २ वटा आइरन आयात भएको छ । जसबाट राज्यले ९३ लाख ६९ हजार रुपैयाँ राजस्व संकलन गरेको तथ्यांकले प्रष्ट पारेको छ ।

रेडियटर हिटर

जाडो महिनामा हिटरको निकै प्रयोग गरिन्छ । अफिस होस् या घर विद्युत पुगेको ठाउँमा यसको प्रयोग हुने गरेको छ । यस महिनामा नेपालमा ५५ लाख ९६ हजार रुपैयाँ बराबरको ४ हजार ६३ वटा हिटरको आयात भएको छ । जसबाट सरकारले १३ लाख ३० हजार राजस्व संकलन गरेको छ ।

विद्युतीय चुल्हो

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पाँचौ महिना अर्थात मंसिरमा ५ करोड ८ लाख ६४ हजार रुपैयाँ बराबरको २३ हजार २१९ विद्युतीय चुल्हो आयात भएको छ । जसबाट सरकारले ७१ लाख ९४ हजार राजस्व संकलन गरेको छ ।

जसमा ३ करोड ७ लाख ५२ हजार रुपैयाँ बराबरको १३ हजार ८८९ इन्डक्सन चुल्हो र २ करोड १ लाख १२ हजार रुपैयाँ बराबरको ९ हजार ३३० वटा इनफ्रारेड चुल्हो आयात भएको हो ।

पछिल्लो केही महिना यता विद्युतीय चुल्होको प्रयोग र माग बढ्न थालेको छ । बिजुलीको आपूर्ति र उपलब्धता सहज हुनुका साथै एलपी ग्यासको मूल्य समेत बढेपछि अहिले विद्युतीय चुल्होको माग बढेको हो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।