प्रविधिको विकाससंगै वित्तीय अपराधको नयाँ स्वरुप, कसरी जोगिने यस्तो ठगीबाट ?

0
Shares

पछिल्लो समयमा अनलाइन कारोबारको बृद्धिसँगै, साइबर क्राइमहरू अझ परिष्कृत हुँदै गएका छन् । उनीहरूले ग्राहकको खाताबाट पैसा चोर्ने नयाँ तरिकाहरू पत्तालगाई रहेका छन् ।

ग्राहकको बैंकिङ विवरण तथा गोप्य जानकारी लिनका लागि उनीहरूले ग्राहकको पहिचान विवरण (के.वाइ.सी) हरू अपडेटगर्ने, पुनः के.वाइ.सी अपडेट गर्ने सुझाव दिएर, जागिरहरूको प्रस्ताव गरेर, ग्राहकको खाता ब्लक गर्ने धम्की दिएर वा हुँदै नभएको आपत्कालीन अवस्थाको बारेमा समेत कुराकानी गरी मनोभावनामा समेत खेल्ने गरेको देखिन्छ ।

साइबर जालसाजीहरूले ग्राहकलाई आफुहरु बैंकर, बीमा एजेन्ट, स्वास्थ्य वा दूरसञ्चार कर्मचारी र सरकारी अधिकारी भएको बाहना बनाउने गरेको पनि दखिन्छ । कतिपय अवस्थामा उनीहरूले खाता अवरुद्ध भएको, आपत कालीन अवस्था आइपरेको, महत्वपूर्ण चिकित्सा हेरचाह सामग्रीको अभाव भएको हुँदा छिटो पैसा भुक्तानी गर्नु पर्ने लगायत अन्य धेरै बाहानाहरू बनाउदै ग्राहकहरूलाई आफ्नो बैंकिङ विवरणहरु उपलब्ध गर्न आग्रह गर्छन् । यसरी जालसाझहरुले पाएको बैंकिङ विवरणहरुको आधारमा खाताबाट पैसा निकाल्ने गर्छन् । त्यसैगरी तपाईलाई ्चिट्ठा परेको छ भन्दै अप्रत्यासित फोन, म्यासेज र इमेलहरु पठाउने विधिहरु अपराधिहरुले प्रयाग गर्दै आएको देखिन्छ ।

तर, अहिले प्रविधिको विकास भएसँगै प्रविधिमा आधारित भएर वित्तीय ठगी गर्नेहरुले नयाँ तरिकाहरु अपनाउन थालेको देखिन्छ । अनलाइन कुनै वेभसाइटहरुमा वा स्वार्थ समूहहरुले निश्चित स्वार्थ पूरा गर्न बनाएका अप्रमाणित मोबाइल एप्लिकेसन्समा लग–इन गर्न लगाई बैंक खाताहरुको विवरण माग्ने, ए.टी.एम कार्ड, भिषा कार्ड, डेविट कार्ड, क्रेडिट कार्डहरुको विवरण माग्ने तथा वान टाइम पासवर्ड (ओ.टि.पि) र पिनकोड माग्ने गरिरहेका छन् ।

यदि कोहि अपरिचित व्यक्तिले तपाईलाई फोन तथा म्यासेज गरी तपाइको ओ.टि.पि तथा पिनकोड मागिरहेको छ भने आजै सतर्कता अपनाउनु होस् । आफ्नो खाता सुरक्षित गर्न आजै निम्न प्रक्रिया अपनाउन सकिन्छ ।

कुनै वित्तीय कारोबार गर्दा आफ्नो मोबाइलमा आउने ओ.टि.पि तथा पिनकोड कसैलाई नबताउने:

तपाईको बैंकले तपाईलाई कहिल्लै पनि ओ.टि.पि तथा पिनकोड अन्य व्यक्तिसंग सेयर गर्न लगाउँदैन । यदि कसैले त्यस्तो भनिरहेको छ भने सचेत हुनुहोस् र चनाखो बन्नुहोस् । सधैं याद गर्नुहोस् कि तपाईको बैंक तथा वित्तीय संस्थाले तपाईको गोप्य सूचना कहिल्यै पनि फोन तथा म्यासेजमा माग्दैन ।

शंकास्पदलिंकहरु क्लिक नगर्नुहोस्:

सबै टल्कने वस्तु हिरा हुँदैनन् भनेजस्तै निकै आकर्षक अवसरहरु देखाइरहेका कम्पनीका वेभसाइटहरु पनि साँचो तथा प्रमाणित नहुन सक्छन् । त्यसैले कुनै पनि बैंक तथा वित्तीय संस्थाको लिंक आयो र तपाईलाई अनौठो, अपत्यारिलो लाग्यो भने त्यस्तो लिंक नखोल्नु होस् ।

बैंक तथा वित्तीय संस्थाको सेवाग्राही नम्बर आधिकारिक वेभसाइटबाट लिनुहोस्ः

साइबर जालसाझ तथा ठगहरुले लाभाग्राहीलाई उल्टो तथा गलत कस्टुमर केयर नम्बर दिन सक्छन् र फलानो बैंकबाट बोलेको भनी झुक्काउन सक्छन् । त्यसैले जहिले पनि बैंकको आधिकारिक सेवाग्राही नम्बर लिनुहोस् वा बैंकको आधिकारिक वेभसाइट र एपफलो गर्नुहोस् ।

विश्वसनीय जागिर तथा ई–कमर्श पोर्टल बाहेक अरुमा भुत्तानी नगर्नुहोस्ः

ठगहरुले ग्राहकबाट बैंकिङ विवरणहरु प्राप्तगर्न पछिल्लो समयमा जागिरको विज्ञापन गर्न लागेका छन् । देशमा बढिरहेको बेरोजगारीको समस्यालाई मध्यनजर गर्दै यस्ता जालसाझहरुले रोजगारको लागि भौतारिरहेका युवावर्गलाई आफ्नो सिकार बनाउँछन् । नाम रजिष्टर गर्दा नै उनीहरुले ग्राहकको बैंकिङ विवरण माग्छन् र त्यही विवरणलाई आधार बनाइ पैसा चोर्छन् ।

यदितपाई पनि जागिरको खोजीमा हुनुहुन्छ र कतै अनलाइन निवेदन दिँदा तपाईको बैंकिङ विवरण माग्छ भने सतर्क हुनुहोस् ।

सुन्दा, पढ्दा सरल लाग्ने तर व्यवहारमा लागु गर्दा निकै प्रभावकारी हुने यी साधारण उपायहरु अपनाउनु होस् । आफु, आफ्नो परिवार र आफ्नाहरुलाई अनलाइन ठगहरुको चक्रव्यूबाट बचाउनु होस् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।