‘अण्डर इन्भ्वाइसीङ’ ले घट्यो रेमिट्यान्स, हुण्डी मार्फत भित्रन्छ मासिक ७ अर्ब

0
Shares

कोरोना महामारीपछि सुचारु भएको अन्तर्राष्ट्रिय व्यापारिक गतिविधिका कारण नेपाल भित्रिने रेमिट्यान्समा कमी आउन थालेको छ । आयातका लागि गरिने अण्डर इन्भवाइसीङ र हुण्डीको कारोबारले औपचारिक माध्यमबाट आउने रेमिट्यासमा गिरावट आएको हो ।

कोरोनाका कारण आर्थिक गतिविधि ठप्प थिए । सो अवधिमा विदेशमा रहेका नेपालीले नेपालमा पैसा पठाउनका लागि औपचारिक माध्यमको प्रयोग गर्नुको विकल्प थिएन । त्यसले गर्दा हुण्डीको कारोबार निरुत्साहित भएको थियो । हुण्डी निरुत्साहित भएको समयमा मासिक औसत ८० देखि ८१ अर्ब रुपैयाँ सम्म रेमिट्यान्स भित्रिएको देखिन्छ । तर, आर्थिक गतिविधि सुचारु भएपछि रेमिट्यान्स आप्रवाहमा कमी आउन थालिसकेको अवस्था छ ।

विगतका वर्षहरुको तुलनामा कोरोनाका कारण आर्थिक गतिविधि नभएका वर्षका महिनाहरुमा रेमिट्यान्सको आप्रवाह धेरै देखिएको छ ।

कोरोना महामारीको सुरुवाति महिनाहरुमा त्रासका कारण रेमिट्यान्स आप्रवाहमा कमी आएको देखिए पनि त्यसपछि क्रमिक सुधार आएको छ । यो अवधिमा विदेशमा रहेका नेपालीले विगतको तुलनामा पैसा नै धेरै पठाउने, व्यापारिक गतिविधि नभएपनि अण्डर इन्भ्वासीङ तथा हुण्डीको कारोबार पनि निरुत्साहित भएपछि रेमिट्यान्स बढेको थियो ।

तर, आर्थिक गतिविधि सुचारु भएसँगै अन्तर्राष्ट्रिय कारोबार पनि बढ्न थालेपछि अण्डर इभ्वाइसीङका कारण पनि रेमिट्यान्समा कमी आएको नेपाल राष्ट्र बैंकका एक अधिकारीले बताए । “अन्तर्राष्ट्रिय व्यापारमा अण्डर इन्भवाइसीङ गर्ने र उताको पैसा उतै तिर्ने अनि नेपालमा आएर स्वदेशी मुद्रामा भुक्तानी लिने गरेको देखिन्छ, ”ती अधिकारीले भने, “आर्थिक गतिविधि सुचारु भएसँगै अनौपचारिक अर्थतन्त्र पनि चलायमान भएकाले हुण्डी पनि केही बढेको देखिन्छ ।” कोरोनाको अवधिमा आर्थिक गतिविधि देखि मानिसको आवतजावत नभएकाले नियन्त्रण भएपनि पछिल्ला दिनहरुमा अनौपचारिक गतिविधिहरु बढ्न थालेको उनको भनाई छ । मानिसको आवतजावत बढेको हुनाले पनि नगद वा वस्तुहरु खरिद गरेर आउने हुँदा रेमिट्यान्समा प्रभाव परेको उनको बुझाई छ ।

कोरोनाका कारणले गर्दा रेमिट्यान्स बैंकिङ च्यानल मार्फत आएको हुनाले बढेको नेपाल राष्ट्र बैंकका पुर्व गर्भनर डा. चिरञ्जिवी नेपालले बताए । “आर्थिक गतिविधि विस्तार भएसँगै हुण्डीको कारोबार पनि बढेको छ,” नेपालले भने, “हुण्डीको कारोबार बढेपछि रेमिट्यान्स घटेको हो ।” नेपाल राष्ट्र बैंकले छुट्टै संयन्त्र बनाएर हुण्डी कारोबारलाई हतोत्साहित गर्नुपर्ने उनको सुझाव छ । उक्त संयन्त्रलाई सक्रिय बनाएर हुण्डी कारोबारलाई कारबाही नै गरेको खण्डमा बैंकिङ च्यानलबाट आउने रेमिट्यान्समा वृद्धि हुने उनको बुझाई छ ।

हुण्डीको कारोबार निरुत्साहित गर्नका लागि नेपाल राष्ट्र बैंकको सक्रियता आवश्यक हुने उनले बताए । “केन्द्रीय बैंकको सुपरिवेक्षण विभागको विदेशी विनियम विभागले रेमिट्यान्स कम्पानीहरुको प्रभावकारी अनुगमन तथा सुपरिवेक्षण गर्ने हो भने रेमिट्यान्स बढ्छ,” उनले भने,“रेमिट कम्पनीहरुको मासिक कारोबारलाई मात्र निगरानी गरेको खण्डमा पनि फरक पर्छ ।” उनले आफ्नो कार्याकालमा रेमिट्यान्स आप्रवाहमा कमी आउँदा विदेशी विनियम विभाग मार्फत रेमिट कम्पनीको अनुगमन तथा सुपरिवेक्षण प्रभावकारी बनाएपछि बढेको अनुभव पनि सुनाए । रेमिट कम्पनीहरुले जिम्मेवार भएर काम गरिदिँदा मात्र बैंकिङ च्यानलबाट आउने रेमिट्यान्स बढ्ने उनको बुझाई छ ।

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ६ वर्षको मासिक रेमिट्यान्स आप्रवाहलाइ हेर्दा गत आर्थिक वर्षमा प्रति महिना औसत ८० अर्ब रुपैयाँ आएको देखिन्छ । त्यसैगरी अघिल्लो वर्ष अर्थात २०७६ साउन देखि २०७७ असारसम्मको तथ्याङकको आधारमा औसत मासिक ७२ अर्ब ९४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको देखिन्छ । कोरोना सुरु हुनुभन्दा अघिको वर्षको मासिक औसत रेमिट्यान्स आप्रवाह ७३ अर्ब २७ करोड रुपैयाँ रहेको छ । कोरोना सुरु हुनुभन्दा अघिको वर्ष र कोरोना अवधिको वर्षलाइ आधार मान्दा करिब ७ अर्ब रुपैयाँ धेरै रेमिट्यान्स औपचारिक माध्यमबाट भित्रिएको देखिन्छ ।

पछिल्ला वर्षहरुमा औपचारिक माध्यमबाट रेमिट्यान्स भित्रिने क्रममा सुधार भने आएको छ । तर, हुण्डीको कारोबार पनि कायम नै देखिन्छ । कोरोनाको अवधिमा अनौपचारिक अर्थतन्त्र पूर्ण रुपमा नै निस्क्रिय रहेको हुनाले हुण्डीको कारोबार पनि ठप्प जस्तै थियो । सो अवधिमा विदेशमा रहेका नेपालीले पैसा पठाउदा बैंकिङ च्यानलको नै प्रयोग गर्नुको विकल्प पनि थिएन । त्यसले गर्दा पनि रेमिट्यान्स बढेको हो ।

कोरोना महामारीको दोस्रो लहर पछि सुचारु भएको आर्थिक गतिविधिले अनौपचारिक अर्थतन्त्रलाइ पनि गति प्रदान गरेको छ । त्यसले गर्दा चालु आर्थिक वर्षमा रेमिट्यान्सको आप्रवाह क्रमिक रुपमा घट्न थालेको देखिन्छ । कोरोनाका कारण २०७६ चैत देखि २०७८ साउन सम्म आर्थिक क्रियाकलाप प्रभावित भएका थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।