लक्ष्मी बैंकलाई २ अर्बको ऋणपत्र बिक्री गर्न अनुमति, सनराइजको ३ अर्बको आउँदै

0
Shares

नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरुले चुक्ता पूँजीको कम्तिमा २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेपछि बैंकहरुकोे ऋणपत्र निष्कासनको क्रम बढेको छ ।

बैंकहरुमा बर्षेनी लगानीयोग्य रकमको अभाव बढ्न थालेपछि केन्द्रीय बैंकले मौद्रिक नीति मार्फत दीर्घकालीन स्रोत परिचालनका लागि सहजता प्रदान गर्न अनिवार्य रुपमा ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेको हो।

यसै क्रममा लक्ष्मी बैंकले २ अर्ब तथा सनराइज बैंकले तीन अर्ब ऋणपत्र निष्कासन गर्ने प्रक्रिया अघि बढाएका छन् ।

‘लक्ष्मी बैंक डिबेन्चर २०८६’

नेपाल धितोपत्र बोर्डले लक्ष्मी बैंकलाई २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न अनुमति दिएको छ । यस्तै सनराइन बैंकले पनि ३ अर्ब बराबरको ऋणपत्र बिक्रीको माग गर्दै बोर्डमा आवेदन गरेको छ ।

धितोपत्र बोर्डले लक्ष्मी बैंकलाई प्रतिइकाई १ हजार रुपैयाँ दरमा २० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति दिएको हो । यसमध्ये ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १२ लाख इकाई बैंकले व्यक्तीगत तबरबाट अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

लक्ष्मीले वार्षिक १० प्रतिशत ब्याजदर दिनेगरी दश वर्षे अवधिको ‘१० % लक्ष्मी बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । जसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैकिङले गर्नेछ । यो ऋणपत्रलाई केयर रेटिङ एजेन्सी इक्रा नेपालले मध्यम खालको सुरक्षा जनाउने एलबीबीबी प्लस रेटिङ दिएको छ ।

‘सनराइज डिबेञ्चर २०८३’

यस्तै सनराइज बैंकले पनि ३ अर्बको ऋणपत्र जारी गर्ने अनुमति माग गर्दे बोर्डमा आवेदन गरेको छ । “सनराइज डिबेञ्चर २०८३” नामक ७ बर्षे अवधिको उक्त ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत व्याजदर अर्धवार्षिक रुपमा भुक्तानी गर्ने बैंकले जनाएको छ ।

बैंकले निष्काशन गर्ने ३ अर्ब ऋणपत्रमध्ये एक अर्ब २० करोडको १२ लाख कित्ता सर्वसाधारणमा निष्काशन हुनेछ भने एक अर्ब ८० करोड बराबरको १८ लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ।

बैंकले ऋणपत्र जारी गर्न सिद्धार्थ क्यापिटललाई डिबेञ्चर निष्काशन तथा बिक्री प्रबन्धक चयन गरिसकेको छ।