निर्यातकर्तालाई सरकारले विशेष सहुलियतको व्यवस्था गर्नुपर्नेमा जोड

0
Shares

कोभिड १९ बाट प्रभावित निर्यात व्यवसायीलाई सरकारले विशेष सहुलियतको व्यवस्था नगरेकोमा निर्यातकर्ताहरुको गुनासो छ ।

मंगलबार काठमाडौंमा आयोजित २४ औँ वार्षिक साधारण सभा तथा छैठौं निर्यात दिवस २०७८ को उद्घाटन सत्रमा बोल्दै व्यवसायीहरुले कोभिडको मारमा परेका व्यवसायीले चर्को ब्याजदर तिर्नु परेको तथा सरकारले सहुलियतको व्यवस्था नगरेको आरोप लगाएका हुन् ।

निर्यात परिषदका अध्यक्ष हरी बहादुर कार्की भने, “नेपाल सरकारले निर्यात योग्य वस्तु उत्पादन र निर्यातकर्तालाई सहुलियत दरमा बैंकिङ व्याज उपलब्ध गराइदिनु पर्यो ।” कार्कीले नगद प्रोत्साहन, निर्यातयोग्य वस्तुको भन्सार प्रणालीमा सहजता, चर्को व्याजदर, तरलताको संकट लगायतका बिषयमा सरकारले सुनुवाई नगरेको बताएका हुन् ।

यसैगरी चर्को हवाई भाडा र दक्ष जनशक्तिको अभावका कारण निर्यात वृद्धिमा बाधा पुग्नुका साथै बजार प्रर्वदनमा कमी, विदेशबाट कच्चा पदार्थ ल्याउनु पर्ने बाध्यता रहेको उनको भनाई थियो । सरकारले निर्यात प्रवद्धनका लागि नगद प्रोत्साहनमा प्रक्रियागत झन्झटको अन्त्य तथा कर मुक्तिको घोषणा गर्नुपर्ने माग गरेका छन् ।

चालु आवको पाँच महिनामा नेपालबाट १ खर्ब २ अर्ब ९२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जसमा मटमास र पामतेल मात्र ५७ अर्ब ९८ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।

गत वर्षको तुलनामा १ सय ५ दशमलव ६१ प्रतिशतले नेपालको मुल निकासी बढेपनि व्यापषर घाटा करिब उस्तै छ । यस अवधिमा ८ खर्व ३८ अर्व ४० करोड ८२ लाख रुपैयाँ आयतका लागि बाहिरिएको छ । यस अवधिमा राज्यले ७ खर्व ३५ अर्व ४८ करोड व्यापार घाटा बेहोर्नु परेको भंसार विभागको तथ्यांकले देखाएको छ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।