सेयर बजारबाट महिना दिनको छोटो समयमा नै मनग्य नाफा आर्जन गर्न सफल भएको कुराकानी हामीले चिया पसल, चोक, चौतारी जस्ता मानिसहरुको भेला हुने स्थानहरुमा तपाई हामीले सुनिरहेकै कुराहरु हुन् ।
सेयर बजार बुलिस प्रवृत्तिमा रहँदा लगानी गर्नेहरुको संख्या बढेसँगै सहर–बजारका दोकान तथा चोक चोकमा सेयरका गफहरु हुने गर्दछन् ।
वर्ष दिनमै लगानीको दोब्बर वा तेब्बरसम्म प्रतिफल प्राप्त हुने क्षेत्रका रुपमा समेत कतिपयले सेयर बजारलाई अर्थाइएको पाइन्छ ।
यस्ता अल्पकालीन लगानीकर्ता अर्थात स्पेकुलेटर ट्रेडर्सहरुले छोटो समयमा आकर्षक नाफा कमाृने लोभमा ठूलै जोखिम लिएका हुन्छन् । सबै स्पेकुलेटर ट्रेडर्सहरुले नाफा मात्रै कमाउँछन् भन्ने पनि हुँदैन ।
छिटो–छिटो सेयरको खरिद बिक्री गर्दा सेयर काराबारमा लाग्ने कसिसनका कारण खर्च वृद्धि हुने, जोखिम पनि बढ्ने पटक–पटक खरिद बिक्री निर्णय गर्दा अध्ययन समेत धेरै गर्नुपर्ने हुन्छ । समय धेरै दिनुपर्ने र नयाँ सूचना प्राप्त हुनासाथ खरिद बिक्रीमा सक्रिय रहनुपर्ने भएकाले व्यस्त जीवनशैली धारण गर्ने लगानीकर्ताका लागि यो क्षेत्र उपयुक्त पनि हुँदैन । अब प्रश्न उठ्छ, जोखिम लिएर अल्पकालका लागि बढी प्रतिफलका लागि सेयर किन्ने बेच्नेले बढी कमाउँछ कि दीर्घकालीन रुपमा लगानीकर्ताले बढी कमाई गर्छ ?
पक्कै पनि अल्पकालमा सेयर बजारमा खेल्दा बढी नाफा भएको देखिन सक्छ तर यसमा धेरै जोखिम रहेको हुन्छ । अध्ययनहरुले के देखाएको छ भने अन्य क्षेत्रको लगानीभन्दा सेयर बजारको दीर्घकालीन लगानीको प्रतिफल बढी हुने गर्दछ । दीर्घकालीन लगानीमा पनि एक कम्पनीमा मात्र लगानी नगरी विभिन्न क्षेत्रका कम्पनीहरुमा लगानी विविधिकरण गरी लगानी गर्दा जोखिम कम गर्न सकिन्छ । सेयर बजारलाई मुख्य पेशा नबनाएका धेरै साधारण लगानीकर्ताहरुले दीर्घकालीन लगानी गर्नु उपयुक्त हुन्छ । त्यसमा पनि सेयर बजारलाई समय दिन नभ्याउने जाखिरे तथा व्यवस्त जीवनशैली भएकाहरुका लागि अर्को उपयुक्त क्षेत्र हो सामुहिक लगानी कोष अर्थात म्युचुअल फण्डको इकाईमा लगानी ।
एनआईबिएल समृद्धि फण्ड १ काे इकाईबाट तीन गुणा प्रतिफल
नेपालमा पहिलो पटक खुलामुखी सामुहिक लगानी कोष योजनाको सुरुवातकर्ता तथा सबैभन्दा व्यवसायिक सामूहिक लगानी कोष हो, एनआईबिएल म्युचुअल फण्ड ।
यस म्युचुअल फण्डले पहिलो खुलामुखी एनआइबिएल सहभागिता फण्ड र तीन बन्दमुखी प्रकृतिका एनआईबिएल मृद्धि फण्ड १, एनआईबिएल प्रगति फण्ड र एनआईबिएल समृद्धि फण्ड गरी ३ अर्ब ६५ करोड बराबरको कुल चार वटा फण्ड सञ्चालन गरिसकेको छ । यस्तै एक अर्ब ६० करोडको एनआईबिएल ग्रोथ फण्ड नामक अर्को थप एक सामुहिक लगानी कोष योजना सञ्चालनका लागि असोजमा नियामक निकाय धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको कोष प्रवद्र्धक रही एनआईबिएल एस क्यापिटलको ब्यवस्थापन अन्तर्गत एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल समृद्धि फण्ड १ यहि पुस २३ गते शुक्रबार परिपक्व भएको छ । यो योजना सामूहिक लगानी कोषको नियमावली अनुसार उक्त मितिदेखि शुक्रबारदेखि खारेजी प्रकृयामा गएको छ । त्यतिबेलासम्म यो योजनामा सुरुमा १० हजार रुपैयाँ हालेको लगानीकर्ताले सात वर्षको अवधिमा साँवा १० हजार बाहेक थप २० हजार ८८५ रुपैयाँ बराबरको प्रतिफल कमाइ गर्ने देखिएको छ ।
एनआईबिएल समृद्धि फण्ड १ को इकाईमा १० हजार लगानी गर्नेले योजनाले दोस्रो वर्ष १५ प्रतिशतका दरले प्रतिफल वितरण गर्दा १ हजार ५०० नगद लाभांश पाए । उक्त प्रतिफल ( नगद लाभांश) रकमले पुनः दश रुपैयाँका दरले (दोस्रो बजारमा योजनाको इकाईमूल्य अंकित मूल्य १० भन्दा तल र माथि कारोबार भएपनि अंकित मूल्यमा नै खरीद भएको मान्दा) १५० इकाई प्राप्त गरे । यसरी सो इकाई सहित दोस्रो वर्षमा यस योजनामा सहभागि लगानीकर्ताहरुको इकाई १,१५० पुग्यो ।
यसैगरी तेस्रो वर्षमा १८, चौथो वर्षमा १२, पाँचौ वर्षमा ६.५०, छैटौं वर्षमा १२ र सातौं वर्षमा ३५ प्रतिशत प्रतिफल वितरण गरेको छ । सो प्रतिफल रकमलाई पुनः योजनामा लगानी गर्दा लगानीकर्ताको लगानी पहिलो वर्ष १ हजार इकाई दोस्रो वर्षमा १,१५०, तेस्रो वर्षमा १,३५७, चौथो वर्षमा १,५१९, पाँचौं वर्षमा १,६१८, छैटौं वर्षमा १,८१२ र यसरी प्रतिफललाई समेत पुनः सोही योजनको इकाई खरीद गर्दा योजनाको अन्तिम वर्ष (सातौं वर्ष) मा २,४४७ इकाई पुगेको छ ।
NIBL Sambridhi Fund 1 (Re-Investment) | ||||
FY | Dividend (%) | Divident (RS) | Total Investment Amount | Total Unit |
2071/2072 | 0 | 0 | 10,000 | 1,000 |
2072/2073 | 15 | 1,500 | 11,500 | 1,150 |
2073/2074 | 18 | 2,070 | 13,570 | 1,357 |
2074/2075 | 12 | 1,628.40 | 15,198.4 | 1,519.8 |
2075/2076 | 6.5 | 987.896 | 16,186.30 | 1,618.63 |
2076/2077 | 12 | 1,942.36 | 18,128.65 | 1,812.87 |
2077/2078 | 35 | 6,345.03 | 24,473.68 | 2,447.37 |
98.50 | 14,474 | |||
Mangsir NAV @12.62*Unit 2,447.36 | 12,620 | 30,885.78 |
मंसिर मसान्तमा एनआईबिएल समृद्धि फण्ड १ को प्रतिइकाइ खुद सम्पत्तीको मूल्य १२.६२ रुपैयाँ रहेको छ । यो भनेको दायित्व कटाएर बाँकी रहने सबै सम्पत्ति बिक्री गर्दा यो योजनाको एक इकाइको मूल्य यति बराबर हुन आउँछ भन्ने बुझिन्छ । मंसिरमा कायम प्रतिइकाई खुद सम्पत्ति मूल्य अन्तिम दिन पुस २३ गतेसम्म कायम रह्यो कि रहेन भनेर ठोकुवा नै गर्न त नसकिँदैन, किनभने योजनाको केही लगानी हिस्सा (२० प्रतिशत) सेयर बजारमा पनि रहेको छ तर अधिकांश अर्थात ८० हिस्सा मुद्दती निक्षेपमा रहेको छ ।
मंसिर मसान्तको ८० प्रतिशत मुद्दती निक्षेपमा लगानी रहेकाले धेरै फेरबदल नहुने हुँदा मंसिरको तथ्याङ्कलाई (प्रतिइकाइ खुद सम्पत्ती मूल्य १२.६२) लाई आधार मान्दा परिपक्व अवधिसम्म कुर्नेले योजनाको सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरूलाई कुल लगानी २ हजार ४४७ इकाई पुग्ने देखिन्छ । उक्त संख्याको इकाईलाई १२.६२ रुपैयाँका दरले फिर्ता भुक्तानी गर्दा इकाईधनीले कुल ३० हजार ८८५ रुपैयाँ पाउने देखिन्छ । यो भनेको लगानीको तीन गुणा बढी हो ।
योजनाको सात वर्षको सबै प्रतिफल (कुल १४ हजार ४७३ रुपैयाँ बराबरको १ हजार ४४७ इकार्ई) पुनः सोही योजनाको इकाईमा लगानी गरी अन्तिममा फिर्ता पाउँदा साँवा बाहेक नै इकाईधनीले दुई गुणा बढी अर्थात २० हजार ८८५ रुपैयाँ कमाउनेछ । जुन साबाँबाहेक प्रतिफल मात्रै २०८.८५ प्रतिशत हो ।
यस आधारमा हेर्दा सामुहिक लगानी कोष योजनाका इकाई लगानी गरेर नै योजनाको अवधिमा नै दुई गुणा प्रतिफल पाउने देखिन्छ । कतिपय व्यक्तिहरु भने आवश्यक ज्ञानको अभावमा चाहेर पनि सेयरमा लगानी गर्न आँट गर्न सक्नदैनन् । सेयरबाट पैसा कमाउन चाहने तर बजारको ज्ञान कम भएका तथा दोस्रो बजारमा प्रत्यक्ष जोखिम लिएर होमिने आँट नभएका लगानीकर्ताहरुका लागि सामुहिक लगानी कोषका इकाई उपयुक्त विकल्प हो भन्ने सिद्ध हुन्छ ।
यस्ता कोषमा लगानी गर्दा पनि ७ वर्षमा लगानी तेब्बर भएको उदाहरण एनआईबिएल समृद्धि फण्ड १ बाट नै देखिएको छ । पछिल्लो समय प्राथमिक बजारमा प्रवेश गर्ने लगानीकर्ता बढ्दो क्रममा रहेको र गत आवबाटै शतप्रतिसम्म प्रतिफल वितरण गरेका आधारमा हेर्दा भविष्यमा बजार बुलिस भएमा म्युचुअल फण्ड पनि मल्टिब्यागर स्टक नबन्ला भन्न सकिन्छ ।
पुन:लगानी नगर्नेले नै कमाए दुई गुणा
एनआईबिएल समृद्धि फण्ड १ ले विसं २०७१ मंसिर १८ देखि २१ गतेसम्म प्रति इकाई १० रुपैयाँका दरले १ अर्ब रुपैयाँ बराबरको १० करोड ईकाई बिक्री गरेको थियो ।
सात वर्षको अवधिमा इकाईधनीलाई योजनाले वितरण गरेको कुल ९८.५० प्रतिशत प्रतिफल (नगद लाभांश) र योजना परिपक्क भई योजना अन्तर्गतको सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरूलाई भुक्तानी गर्दा दुई गुणा कमाएका छन् ।
वि.सं. २०७१ पुस २३ गते बाँडफाँड भएको यस योजनाको अवधि पुस २३ गते शुक्रबार समाप्त भई खारेजी जान लाग्दा एनआईबिएल समृद्धि फण्ड १ को योजनाको इकाईमा सात वर्ष अघि दश हजार रुपैयाँ हालेको लगानीकर्ताले २२ हजार ४७० कमाइ गर्ने भएको हुन् ।
७ वर्ष परिपक्व अवधि रहेको यो योजनाले पहिलो आर्थिक वर्ष लाभांश वितरण नगरेपनि दोस्रो वर्षमा १५ प्रतिशतका दरले, तेस्रो वर्ष १८ प्रतिशतका दरले र चौथो वर्ष १२ प्रतिशत, पाँचौ वर्ष ६.५० प्रतिशत र छैटौं वर्ष १२ प्रतिशत र सातौं वर्षमा सबैभन्दा धेरै ३५ प्रतिशतका दरले नगद लाभांश दिएको छ । जसअनुसार इकाई खरीदका लागि सुरुमा १० हजार हाल्नेले यो अवधिसम्म ९ हजार ८५० रुपैयाँ त प्रतिफल वापत नै कमाइसकेका छन् ।
NIBL Sambridhi Fund 1 | |||
FY | Investment | Dividend (%) | Divident (RS) |
2071/2072 | 10,000 | 0 | |
2072/2073 | 10,000 | 15 | 1,500 |
2073/2074 | 10,000 | 18 | 1,800 |
2074/2075 | 10,000 | 12 | 1,200.00 |
2075/2076 | 10,000 | 6.5 | 650.00 |
2076/2077 | 10,000 | 12 | 1,200.00 |
2077/2078 | 10,000 | 35 | 3,500.00 |
98.50 | 9,850 | ||
NAV Mangsir @12.62*1000 Unit | 12,620 | ||
Total Retern Amount (RS) |
22,470 |
मंसिर मसान्तमा योजनाको प्रतिइकाइ खुद सम्पत्तीको मूल्य भने १२.६२ रुपैयाँ रहेको छ । यो भनेको दायित्व कटाएर बाँकी रहने सबै सम्पत्ति बिक्री गर्दा यो योजनाको एक इकाइको मूल्य यति बराबर हुन आउँछ भन्ने बुझिन्छ ।
मंसिरको प्रतिइकाइ खुद सम्पत्ती मूल्य १२.६२ लाई आधार मान्दा परिपक्व अवधिसम्म कुर्नेले योजनाको सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरूलाई (१२ हजार ६२० रुपैयाँ फिर्ता भुक्तानी गर्ने देखिन्छ । योजनाको सात वर्षको सबै प्रतिफल (९ हजार ८५० रुपैयाँ) सहित इकाईधनीले कुल २२ हजार ४७० पाउनेछ । जुन साबाँबाहेक १२ हजार ४७० रुपैयाँ बढी हो ।
सामुहिक लगानी कोष के हो ?
व्यक्तिगत र संस्थागत रुपमा छरिएर रहेका लगानीहरुलाई एकीकृत गरेर बनाइने कोष हो सामुहिक लगानी कोष योजना ।
नेपालमा हाल यस्तो कोष बैंकको सहायक कम्पनी (मर्चेन्ट बैंकर) हरुबाट बहुमत सेयर लगानी गरी बनाइएको हुन्छ । बैंकका सहायक कम्पनीहरुले यस्तो कोषको सञ्चालन गर्छन् भने कोष सञ्चलनकालागि छुट्टै व्यवस्थापकहरु नियुक्त गरिएको हुन्छ ।
लगानीका लागि निश्चित उद्देश्य राखेर खुला गरिने यस्ता सामूहिक लगानी कोषका इकाईमा थोरै पूँजी हुने लगानीकर्ताहरुले पनि सहभागिता जनाउन सक्छ । न्यूनतम १ हजार रुपैयाँदेखि नै लगानी गर्न सकिने भएकाले खाजा खर्च बचाएर पनि यस्ता कोषको इकाईहरु खरीद गर्न सकिन्छ ।
यसमा लगानी गरेपछि लगानीकर्ताले आफ्नो लगानी रकमको चिन्ता लिनुपर्दैन । कोषका इकाई बिक्री गरी जम्मा हुने रकम सञ्चालक कम्पनीहरुले नियुक्त गरेका कोष व्यवस्थापकहरुले लगानी सम्बन्धि रणनीतिहरु बनाएर लगानी गरिदिन्छन् । योजना व्यवस्थापकमा को–को रहन्छन् भन्ने जानकारी इकाइ जारी गर्ने क्रममा सार्वजनिक रुपमा प्रकाशन गरिने आह्वानपत्रमा उल्लेख गरिएको हुन्छ ।
कोष सञ्चालकहरुले यो संकलित पूँजीलाई कोषको रुपमा राख्छन् र त्यसलाई इकाइ जारी गर्नुअघि तोकिएका क्षेत्रमा लगानी गर्छन् । धेरैजसो सामूहिक लगानी कोषको अधिक हिस्सा सेयर बजारमा हुने गरेको छ भने पछिल्लो समय ऋणपत्रमा लगानी पनि बढ्दो क्रममा रहेको पाइन्छ । यसरी लगानी क्षेत्र र रणनीतिहरु अनुसार लगानीबाट प्राप्त हुने प्रतिफल वार्षिक रुपमा आर्थिक वर्ष समाप्त भएपछि वितरण गर्ने गरिन्छ । कोष व्यवस्थापकको बैठकले लगानी र त्यसबाट प्राप्त हुने आम्दानी अनुसार हरेक आर्थिक वर्ष सम्पतीपछि इकाई धनीहरुलाई वितरण गर्छन । लगानीबाट प्रतिफल प्राप्त नभए प्रतिफल नबाँड्ने सम्भावना पनि हुन्छ । कोष नोक्सानीमा गएमा प्रतिफल बाँड्नैपर्ने बाध्यता रहन्न । प्रतिफल वितरण गर्ने नगर्ने भन्ने कुरा कोष नाफा गएको छ की घाटामा छ त्यसमा निर्धर हुन्छ ।
यसरी तोकिएको अवधि समाप्त (परिपक्व) भएपछि भने सामूहिक लगानी कोषको नियमावली अनुसार योजना खारेजीमा लगिन्छ । खारेजीपछि योजना अन्तर्गतको सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरूलाई फिर्ता भुक्तानी गरिन्छ । प्रायः प्रतिइकाइ खुद सम्पत्तीको आधारमा नै प्रतिफल वितरण गर्ने गरिन्छ । कोष सञ्चालकहरुले हरेक महिना राष्ट्रिय आर्थिक दैनिक पत्रिकामा कोषको वित्तीय विवरण प्रकाशित गर्छन् । त्यसैले योजनाको इकाई खरीद गर्दा योजनाले कत्ति कमाएको छ बी छैन पनि हेर्ने गर्नुपर्छ । यस्ता कोष सञ्चालन लागत कति छ ? कोषले कुन क्षेत्रमा कति लगानी गरेको छ ? नाफा घाटा के भइरहेको छ, प्रतिइकाइ सम्पत्तीको मूल्य घटबढ के कसरी भैरहेको छ त्यसको सुक्ष्म अध्ययन गर्न सकिन्छ ।
कोष संस्थागत लगानीकर्ता भएकाले व्यक्तिगत लगानीकर्ताले पनि स्वविवेकीय लगानी गर्नका लागि यस्ता याोजनाले लगानी गरेका क्रिप्ट र योजनाको मासिक वित्तीय विवरण हेर्ने गर्छन्न् । आफुले व्यक्तिगत रुपमा कोषमा लगानी नगरेपनि यस्ता कोषको योजनाहरुले कस्ता क्षेत्रका कुन कुन कम्पनीमा लगानी बढाइरहेका छन् वा घटाइरहेका छन् भन्ने कुरालाई आधार मानेर आफ्नो लगानी रणनीति बनाउन उपयुक्त हुने जानकारहरु बताउँछन् ।
प्रतिक्रिया