कर छलीमा राष्ट्र बैंकको सहयोग, हबिब बैंकले मर्जरपछि हिमालयन बैंकको सेयर बेच्दा ८५ करोड कर नोक्सानी


नेपाल राष्ट्र बैंकले नै कर छलीमा बैंक तथा वित्तीय संस्थाहरुलाई मद्दत गरेको छ । केन्द्रीय बैंकले हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको सेयर नेपाल इन्भेष्टमेन्टसँगको मर्जरपछि बिक्री गर्न पाउने सर्त राख्दै कर छलीमा सहयोग गरेको हो ।

नेपाल राष्ट्र बैंकका कारण हिमालयन बैंकबाट हबिब बैंक बाहिरिँदै गर्दा करिब ८५ करोड रुपैयाँ सरकारलाई राजस्व नोक्सानी हुने देखिन्छ । हिमालयन बैंकले गरेको ड्यू डेलिजन्स रिपोर्ट अनुसारको नेटवर्थ मूल्यमा सेयर बिक्री गर्दा उक्त रकम बरावरको कर राज्यले नपाउने भएको हो । ड्यू डेलिजेन्स रिपोर्ट अनुसार बैंकको प्रतिकित्ता नेटवर्थ २८२ रुपैयाँ देखिन्छ । केन्द्रीय बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकलाई मर्जरको प्रारम्भिक अनुमति दिँदै गर्दा हबिब बैंकलाई मर्जरपछि मात्र सेयर बिक्री गर्न पाउने सर्त राखेको छ ।

नेपाल राष्ट्र बैंकले हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकलाई दिएको सैद्धान्तिक सहमति मै मर्जरपछि मात्र हबिब बैंकले आफ्ने सेयर बिक्री गर्न पाउने उल्लेख गरेको स्रोतले बतायो । “राष्ट्र बैंकले दिएको सैद्धान्तिक सहमतिपत्रको बुँदा १७ मा नेपाल इन्भेष्टमेन्टसँग मर्जर पूरा गरी एकीकृत कारोबार भएपछि हबिबले सेयर बिक्री गर्नसक्ने व्यवस्था गरेको छ,” स्रोतले भन्यो “यो बुँदाले मर्जरपछि सेयर बिक्री गर्नका लागि राष्ट्र बैंकको अनुमति लिइरहनु नपर्ने स्पष्ट हुन्छ ।”

आयकर ऐन २०५८ को दफा ४७ अनुसार गाभिएपछिको संस्थामा कायम रहेका सेयरधनीहरूले दुई वर्षभित्र सेयर बिक्री गर्दा पूँजीगत लाभ कर लाग्ने छैन । यो व्यवस्था अनुसार मर्जरपछि हबिब बैंकले हिमालयन बैंकको सेयर बिक्री गर्दा करिब ८५ करोड रुपैयाँ कर तिर्न बाध्य हुने छैन । तर, राष्ट्र बैंकले भने कर तिर्न नपर्ने गरी सैद्धान्तिक सहमति दिँदा नै मर्जरपछि सेयर बिक्री गर्नु भनेर उल्लेख गर्नुले कर छलीलाई टेवा पुर्याएको प्रष्ट हुन्छ । हबिबले भने मर्जर प्रक्रिया सुरु भएपछि सेयर कारोबार रोकिने भएकाले मर्जर अघि नै आफ्नो सेयर बिक्री गर्न खोजेको थियो ।

तर, राष्ट्र बैंकले राज्यलाई हुने राजस्व आम्दानी गुम्ने गरी हबिबलाई मर्जरपछि सेयर बिक्री गरेर कर नतिर्ने छिद्र बाटोमा पुर्याइदिएको हो । त्यति मात्र नभई विदेशी लगानीकर्ताले सेयर बिक्री गरेर आफ्नो लगानी विदेशी मुद्रामा फिर्ता लैजाने भएकाले विदेशी मुद्रा सञ्चितिमा समेत असर गर्ने देखिन्छ ।

हिमालयन बैंकमा पकिस्तानको हबिब बैंकको २० प्रतिशत अर्थात २ करोड १३ लाख ८८ हजार ८०१ कित्ता सेयर छ । यो सेयर प्रतिकित्ता २८२ रुपैयाँको दरमा बिक्री गर्दा १८२ रुपैयाँ लाभ हुने देखिन्छ । उक्त लाभमा २५ प्रतिशतका दरले पूँजीगत लाभकर गणना गर्दा करिब ८५ करोड रुपैयाँ हुन आउँछ । हबिब बैंकले गत वर्ष हिमालयन बैंकमा रहेको आफ्नो सेयर लगानी बिक्री गर्न लगानीकर्तासँग छलफल गरेको थियो । उनीहरुसँग सेयर मूल्यमा कुरा नमिलेपछि किनिबेचको विषय थाँती रहेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।