गैर–बैंकिङ व्यवसाय निरुत्साहित हुँदा पनि बैंकहरुको नाफा १०% ले बढ्यो

0
Shares

बैंकहरुको धेरै नाफा गर्न आम्दानी धेरै हुने क्षेत्रमा लगानी गर्ने अभ्यासमा धक्का पुगेको छ । वित्तीय प्रणालीको तरलता समस्या तथा नेपाल राष्ट्र बैंकका कारण गैर–बैंकिङ क्षेत्रको आम्दानी खुम्चीएको हो ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत सेयर लगानीमा कडाई गरेको छ । त्यसैगरी चालु आवको सुरुवात देखिनै बैंकहरुमा तरलता तथा कर्जा लगानी योग्य रकम अभावको समस्या देखियो । सो समस्या हालसम्ममा पनि कायम नै छ । यसले गर्दा पनि बैंकहरुको गैर–बैंकिङ क्षेत्रको लगानीमा असर गरेको हो ।

त्यती मात्र नभई चालु आवको दोस्रो त्रैमासको अन्त्यतिर आयातमा समेत केही कडाइको नीति लियो । सरकारले आयातमा कडाई गरेसंगै बैंकहरुको रिटेल कर्जा प्रबाहमा समेत असर गर्यो । केन्द्रीय बैंकले पूँजी, कर्जा तथा निक्षेप अनुपातको सट्टा कर्जा तथा निक्षेप अनुपात लागु गर्यो । त्यसमा पनि ९० प्रतिशतको सीमा तोक्यो । यो व्यवस्थाले बैंकिङ क्षेत्रमा देखिएको समस्याका कारण बैंकहरु छिटो आम्दानी हुने क्षेत्र भन्दा पनि राष्ट्र बैंकले तोकेको क्षेत्रमा लगानी गर्ने अवस्था रह्यो । यसको असर चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणमा देखिएको छ ।

चालु आर्थिक वर्षको पुसमसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार २६ बैंकहरुले कुल ३३ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा गरेका छन् । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.०२ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा बैंकहरुले ३० अर्ब ४१ करोड रुपैयाँ खुद नाफा गरेका थिए ।

चालु आवको सो अवधिमा बैंकहरुको खुद ब्याज आम्दानी १२.२२ प्रतिशतले बढेको छ । त्यसैगरी फि तथा कमिसन शुल्क बापतको आम्दानी १४.६८ प्रतिशतले बढेको छ । बैंकहरुले आम्दानी गर्ने यी दुई शिर्षकको आम्दानीमा सुधार आएपछि १० प्रतिशतको नाफा वृद्धि सम्भव भएको हो । चालु आवको पहिलो ६ महिनामा बैंकहरुले ६७ अर्ब रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । गत आवको सोही अवधिमा यस्तो आम्दानी ६० अर्ब रुपैयाँ मात्र थियो ।

चालु आवको पुससम्ममा बैंकहरुले सेयर कारोबार अर्थात टे«डिङ मार्फत गर्ने आम्दानीमा ४.१३ प्रतिशतले कमी आएको छ भने अन्य सञ्चालन आम्दानी २८.९० प्रतिशतले घटेको छ । गत आवको पुससम्ममा बैंकहरुको टे«डिङ इनकम ७.६९ प्रतिशतले बढेको थियो भने अन्य सञ्चालन आम्दानी ६५.९३ प्रतिशतले बढेको थियो । तर सो अवधिमा बैंकहरुको खुद ब्याज आम्दानी भने करिब ४ प्रतिशतले घटेको थियो ।

गत आवको पुस मसान्तसम्ममा बैंकहरुले गैर बैंकिङ आम्दानीमा सुधार आएपनि ब्याज आम्दानी घटेको थियो त्यसकारण समग्र नाफा पनि घटेको थियो । वित्तीय विवरण प्रकासीत गरेका २६ बैंकहरुले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा खुद नाफा १० प्रतिशतले बढाएका छन् । बैंकहरुको यो नाफा वृद्धि दर गत आर्थिक वर्षको पुससम्मको तुलनामा धेरै हो । गत आवको सो अवधिमा बैंकहरुको नाफा घटेको थियो ।

चालु आर्थिक वर्षको पुसमसान्तसम्मको वित्तिय विवरण अनुसार निजी क्षेत्रमा नबिल, ग्लोबल आइएमई र एनआइसी एसिया बैंकको खुद नाफा २ अर्ब भन्दा माथि रहेको छ । तर, सरकारी लगानी रहेका राष्ट्रिय वाणिज्य बैंक चौथो स्थानमा रहेको छ । बैकले सो अवधिमा १ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा गरेको छ ।

चालु आवको पुससम्ममा सबैभन्दा धेरै नाफा गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले सो अवधिमा २ अर्ब ६६ करोड रुपौयँ खुद नाफा गरेको छ । यो अवधिमा सबैभन्दा थोरै नाफा गर्नेमा सिभिल बैंक रहेको छ । बैंकले चालु आवको पहिलो ६ महिनामा ५० करोड ४० लाख रुपैयाँ खुद नाफा गरेको छ ।

चालु आवको पुसम्ममा ५ बैंकहरुको नाफा भने घटेको छ । नाफा घट्नेमा सनराइज बैंक, नेपाल बंगलादेश बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, प्रभू बैंक र प्राइम कमर्सियल बैंक रहेका छन् । हिमालयन बैंकले भने वित्तीय विवरण प्रकाशित गरेको छैन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।