वाणिज्य बैंकले सरकारलाई बुझाए १४ अर्ब रुपैयाँ आयकर (सूचीसहित)

0
Shares

वाणिज्य बैंकहरुले चालू आर्थिक वर्ष २०७८।७९ को ६ महिना अवधिमा सरकारलाई झण्डै १४ अर्ब बढी आयकर तिरेका छन् ।

सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुले गरेको नाफाबाट आयकर वापत १४ अर्ब ११ करोड ७६ लाख रुपैयाँ सरकारलाई बुझाएका हुन् । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो आम्दानीको ३० प्रतिशत कर तिर्नुपर्ने कानुनी व्यवस्था अनुसार पुस मसान्तसम्ममा सो रकम बराबरको कर बुझाएका हुन् ।

यो आयकर रकम वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७७।७८ को ६ महिना अवधिमा तिरेको भन्दा ८५ करोड ४१ लाख अर्थात ६.४४ प्रतिशतले बढि हो । गत आवको ६ महिनामा बैंकहरुले १३ अर्ब २६ करोड ३४ लाख रुपैयाँ आयकर वापत सरकारलाई बुझाएका थिए । बैंकको आम्दानीमा भएका वृद्धिसँगै बैंकहरुले तिर्ने करमा पनि वृद्धि भएको हो ।

सबैभन्दा धेरै कर तिर्ने बैंकको सूचीको अग्रणी स्थानमा रहेको एनआईसी एशिया बैंक एक्लेलै ६ महिनामा करिब एक अर्ब धेरै रुपैयाँ कर बुझाएको छ । एक नम्बरमा रहेको बैंकले १ अर्ब २ करोड ९४ लाख रुपैयाँ कर बुझाएको छ ।

दोस्रो नम्बरमा रहेको ग्लोबल आईएमई बैंकले पनि यस अवधिमा १ अर्ब बढी कर बुझाएको छ । बैंकले जनता बैंक सहित करिब डेढ दर्जन बैंक तथा वित्तीय संस्थालाई मर्जर तथा एक्वीजिशन गरेपछि खुद नाफामा समेत सबल बनेपछि बैंकले बुझाउने आयकर रकम पनि बढेको हो । बैंकले सरकारलाई १ अर्ब १ करोड ६६ लाख रुपैयाँ आयकर बुझाएको छ ।

थप दश बैंकले सरकारलाई ५० करोड रुपैयाँदेखि एक अर्ब रुपैयाँसम्म आयकर बुझाएका छन् । चालु आवको ६ महिना अवधिमा तेस्रो ठूलो आयकर बुझाएको नबिल बैंकले सरकारलाई ९३ करोड ५३ लाख बुझाउँदा राष्ट्रिय वाणिज्य बैंकले ८२ करोड २६ लाख, प्राइम कमर्सियल बैंक ७३ करोड ११ लाख, एनएमबि बैंक ७१ करोड २८ लाख, नेपाल इन्भेष्टमेन्ट बैंक ६९ करोड ६१ करोड, सिद्धार्थ बैंक ६९ करोड ४३ करोड, कृषि विकास बैंक ६६ करोड ४६ लाख, मेगा बैंक ६० करोड ३२ लाख, प्रभु बैंक ५७ करोड ९२ लाख र सिटिजन्स बैंकले सरकारलाई आयकर वापत ५१ करोड ७४ लाख रुपैयाँ बुझाएको छ ।

चालु आवको ६ महिना अवधिमा पन्ध्र बैंकले ५० करोडभन्दा कम आयकर बुझाएका छन् । सबैभन्दा कम कर तिर्ने बैंकहरुको पहिलो नम्बरमा भने सिभिल बैंक परेको छ । सिभिल बैंकले चालु आवको ६ महिनामा २२ करोड ८२ लाख रुपैयाँ सरकारलाई कर बुझाएको हो । नेपाल बंगलादेश बैंक र नेपाल बैंक कम आयकर तिर्ने बैंकको दोस्रो र तेस्रो नम्बरमा रहेका छन् ।

सरकारलाई ५० करोडभन्दा कम आयकर बुझाउने बैंकहरुमा स्ट्याण्डर्ड चार्टर्ड, सानिमा, माछापुच्छ्रे, कुमारी, एनसीसी बैंक, एभरेष्ट, नेपाल एसबिआई, सनराइज, हिमालयन, लक्ष्मी, सेञ्चुरी, बैंक अफ काठमाण्डू, नेपाल बैंक, नेपाल बंगलादेश बैंकर सिभिल बैंक रहेका छन् । यी बैंकहरुले २२ करोड ८२ लाखदेखि ४७ करोड ५७ लाख रुपैयाँसम्म आयकर बुझाएका छन् ।

गत आर्थिक वर्षको ६ महिना अवधिको तुलनामा ९ बैंकले कम आयकर बुझाएका छन् भने १८ बैंकको आयकर बढेको छ । समीक्षा अवधिमा सिभिल बैंकको नाफा गत आवको ६ महिनाको तुलनामा उच्च रुपमा बढेसँगै आयकर रकम सबैभन्दा धेरै बढेको छ । बैंकले बुझाउने आयकर २११ प्रतिशतले बढेको छ । बैंकले गत आवको ६ महिनामा ७ करोड ३३ लाख आयकर सरकारलाई बुझाएकोमा चालु आवको ६ महिनामा बैंकले २२ करोड ८२ लाख रुपैयाँ आयकर तिरेको छ ।

समीक्षा अवधिमा सिद्धार्थ बैंकको ६५.८६ प्रतिशत, सेञ्चुरी ५४.७७ प्रतिशत, नेपाल एसबिआई ५२.०४, र एनसीसी बैंकले सरकारलाई बुझाएको आयकर ५१.३४ प्रतिशतले बढेको छ ।  स्ट्याण्डर्ड चार्टर्ड, सिटिजन्स, माछापुच्छ्रे, मेगा, एनआईसी एशिया र कृषि विकास बैंकले बुझाएको आयकर १० देखि ४९ प्रतिशतसम्म बढेको छ । समीक्षा अवधिमा ७ बैंकको आयकर करम एकदेखि दश प्रतिशतसम्म बढ्दा ९ बैंकको घटेको छ । आयकर घट्ने बैंकको शीर्ष स्थानमा रहेको नेपाल बैंकको आयकर ६२.९२ प्रतिशतले घटेर २६ करोड ८९ लाख रुपैयाँमा झरेको छ । नेपाल बैंगलादेश बैंक ३४.६७ प्रतिशत, कुमारी बैंक २२.१२ प्रतिशत, सनराइज २१.३९ प्रतिशत, बैंक अफ काठमाण्डू १२.९२ प्रतिशत, एभरेष्ट बै.क १२.७९ प्रतिशत, प्राइम कमर्सियल बैंक ६.२३ प्रतिशत, सानिमा बैंक १.५२ प्रतिशत र लक्ष्मी बैंकले बुझाएको आयकर रकम ०.९५ प्रतिशतले घटेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले आयकर वापत ३० प्रतिशत कर तिर्नुपर्छ । बैंकहरुले करपछिको नाफामा १० प्रतिशत कर्मचारी बोनस छुट्याएपछिको रकमबाट ३० प्रतिशत आयकर सरकारलाई बुझाउनु पर्ने प्रवाधान छ । घर बहाल कर वापत १० प्रतिशत र ५ प्रतिशत ब्याजकर तिर्ने गरेका छन् । ठूला करदाता कार्यालयमा गत आर्थिक वर्ष २०७७।७८ वाणिज्य बैंकहरुले २७ अर्ब ३६ करोड बढी आयकर तिरेका थिए । यस आधारमा सरकारको राजश्व संकलनमा वाणिज्य बैंकहरूको योगदान ठूलो रहेको देखिन्छ ।

नेपालमा कुनै पनि संस्थाको वार्षिक आयकर १० हजार रुपैयाँभन्दा बढी भएमा वार्षिक अनुमानित आम्दानीको ४० प्रतिशत पुस मसान्तमा र ३० प्रतिशत थप गरी ७० प्रतिशत चैत मसान्तमा र असार मसान्तमा शतप्रतिशत बुझाउनुपर्छ । अनुमानित आम्दानीबाट बुझाइएको आयकर वास्तविक आम्दानीभन्दा कम हुन गएमा सरकारलाई १५ प्रतिशत ब्याज थप गरी अपुग कर बुझाउनुपर्ने हुन्छ । तर, अनुमानित आम्दानीभन्दा वास्तविक आम्दानी कम भएर बुझाइएको कर बढी हुन गएमा अर्को वर्षका लागि हिसाब मिलान गरिने सरकारी प्रवाधान छ ।

नाफा रकम विभिन्न खर्चरकर छुट्याएपछि आउने नाफा मात्र बैंकहरुको खुद नाफा हो । जुन नाफाबाट बैंकहरुले लगानीकर्ताहरुलाई लाभांश दिन सक्छन् । चालु आर्थिक वर्षमा वाणिज्य बैंकहरुको खुद नाफा ३४ अर्ब २१ करोड ६ लाख ४५ हजार रुपैयाँ भएको नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकले देखाएको छ । जुन गत आवको यसै अवधिको तुलनामा १०.१० प्रतिशत बढी हो । अघिल्लो आव २०७७।७८ को ६ महिनामा बैंकहरुले ३१ अर्ब ७ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।