कर्जा उठाउन अझै समय थपे वित्तीय प्रणालीमा दिर्घकालीन समस्या: बैंकर

0
Shares

बैंक वित्तीय संस्थाका ऋणीलाई कर्जा असुलीको खुकुलो नीतिलाई निरन्तरता दिए दिर्घकालीन समस्या आउन सक्ने बैंकहरुले बताएका छन् । बैंकहरुले कर्जा दिने र नउठाउने हो भने समग्र बैंकिङ प्रणालीमा पर्नसक्ने जोखिमको सन्दर्भमा केन्द्रीय बैंकले ध्यान दिन उनीहरुले सुझाएका हुन् ।

अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा सरोकारवालाहरुसंग नेपाल राष्ट्र बैंकले गरेको छलफलमा बैंकरहरुले कर्जा असुली नीतिको सन्दर्भमा विषेश ध्यान दिनुपर्ने औल्याएका हुन । बैंकहरुमा पछिल्लो २ वर्ष देखि कर्जा लगानी गरेको पैसा नफर्केको सहभागी एक बैंकरले बताए । “यसले कर्जाको डिफल्ट रेट बढ्दै जाने जोखिम बढाएको छ,” ती बैंकरले भने,“यो जोखिम न्यूनीकरणका लागि प्रिमियम रेट बढ्छ नै । जोखिम बढेपछि कर्जाको ब्याजदरको प्रिमियम बढाउँछ ।”

पछिल्ला दिनहरुमा मूल्य वृद्धि पनि बढ्दै गैरहेको विषयमा समेत बैंकरहरुले जिज्ञासा राखेका थिए । ओमिक्रोनले आर्थिक गतिविधिलाई असर नगर्ने अवस्था रहेकाले पनि सन्तुलित भएर अघि बढ्नु पर्ने उनीहरुको भनाई रहेको थियो । तरलता सहज देखि ऋणीको कारबाहीका विषयलाई समेत बैंकरहरुले उठाएको सहभागी बैंकरले जानकारी दिए ।

बैंक वित्तीय संस्थाले पछिल्लो ३ वर्षमा करिब १२ सय शाखा थप गरेको हुनाले सो अनुसारको व्यवसाय विस्तार गर्नु स्वभाविक रहेको बैकहरुको भनाइ थियो । तर, त्यो अनुपातमा स्रोत वृद्धि हुन नसकेको उनीहरुको गुनासो थियो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्दा ब्याजदर अन्तर, ब्याजदर गणना विधि, आधार दरको सन्दर्भमा केही लचक नीति अपनाउनु पर्ने बैंकरहरुको सुझाव रहेको छ । रेमिट्यान्सलाई औपचारिक माध्यमबाट भित्राउनुपर्ने, नगद सञ्चिती अनुपातलाई केही खुकुलो बनाउने, पुँजी गत खर्च समयमा गर्ने, एनआरएनको तथा विदेशी निक्षेप ल्याउने विषयलाई सम्बोधन गर्न आवश्यक रहेको उनले बताए । छलफलमा वित्तीय क्षेत्रमा अहिले देखिएको समस्या कारण पुँजी, कर्जा तथा निक्षेप अनुपातको खारेजी नै मूख्य रहेको उनीहरुको भनाई छ ।

अहिले पनि स्रोत छैन, कर्जाको माग उच्च भएपनि स्रोत अभाव छ । वित्तीय क्षेत्रको समस्या सहज गर्न नेपाल राष्ट्र बैंकको स्थायी तरलता सुविधा, रिपो तथा पुनरकर्जामा भर पर्नु परेको सहभागी अर्को बैंकरको भनाई छ । “ विगत ३ वर्ष देखि बैंकहरुले गरेको लगानी पुनः बैंकिङ च्यानलमा नफर्केपछि यसले आगामी दिनमा डिफल्ट रेट बढाउने जोखिम भयो,” उनले भने,“ऋणीलाई रिल्याक्सेसन दिएपछि कर्जा लगानी भएको पैसा बैंकहरुमा फर्कदैन । यसले डिफल्ट रेट बढाउछ । यसले बैंकहरुको प्रोभिजन बढाउछ । त्यसका साथै नाफामा असर गर्छ ।”

अहिले पनि बैंक वित्तीय संस्थाको सञ्चालन आम्दानी घटेको बताउदै बैंकहरुले खुद नाफाको वृद्धि दरमा पनि १० प्रतिशत भन्दा तल रहेको गुनासो गरेका थिए । त्यतीमात्र नभएर कर्जा निक्षेपको व्याजदर अन्तर पनि ३ प्रतिशतमा झरेको बताउने बैंकरहरुले बैंकिङ सेक्टरमै समस्या आउन सक्ने जोखिमको विषयमा राष्ट्र बैंकले सोच्नु पर्ने उनीहरुको भनाइ थियो । बैंकहरुले कर्जा दिने र रिल्याक्सेसन दिने, पुनरकर्जा दिने, कर्जा भुक्तानीको अवधि बढाई मात्र राख्ने, पेनाल्टी नलिने हो भने बैंकिङ प्रणाली नै जोखिममा जाने उनीहरुको बुझाई छ ।

कार्यक्रममा व्यवसायीहरुले तरलताको समस्या समाधानमा राष्ट्र बैंकले आवश्यक काम गर्न सुझाएका थिए । उनीहरुले व्याजदर बढाउन नहुने तथा तथा प्रिमियम वृद्धि गर्नुपर्ने सुझाव दिएको सहभागी एक बैंकरले बताए । त्यसैगरी व्यवसायीहरुले थप पुनरकर्जा व्यवस्था गर्न समेत आग्रह गरेका थिए । उनीहरुले कर्जा समयमा भुक्तानी नगरेको खण्डमा पेनाल्टी नलगाउन, नीतिगत सहजता कायम गरी स्रोतको सहज उपलब्धता गर्न तथा कारबाही गर्ने सन्दर्भमा लचकता अपनाइ मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्न राष्ट्र बैंकलाई सुझाएका थिए । छलफलमा सहभागीले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाले सम्बोधन गर्नुपर्ने विषयलाई लिखित रुपमा केन्द्रीय बैंकमा बुझाउने बताएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।