हायर पर्चेज कर्जा दिने संस्थाले तीर्ने भन्दा ४ प्रतिशत धेरै ब्याज लिन पाउने

0
Shares

हायर पर्चेज कर्जा दिने संस्थाले ग्राहकबाट लिने ब्याजदर बढेको छ । नेपाल राष्ट्र बैंकले त्यस्ता संस्थाले ऋण लिएको ब्याजदरमा ४ प्रतिशतसम्म थप गरेर ग्राहकलाई सापट दिन पाउने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० लाई संशोधन गर्दे सापट दिदाँ लिन पाउने ब्याजदर बढाएको हो । यसभन्दा अघि यस्ता संस्थाले लिएको ऋणको ब्याजदरमा ३ प्रतिशतसम्म मात्र थप गरेर सापटी दिन सक्ने व्यवस्था थियो ।

नेपाल राष्ट्र बैंकले संशोधन गरेको नयाँ व्यवस्था अनुसार हायर पर्चेज कम्पनीले ऋण तथा सापटी लिई कर्जा प्रदान गरेको अवस्थामा यसरी प्राप्त गरेको ऋण तथा सापटीमा दिनुपर्ने औसत ब्याजदरमा ४ प्रतिशत भन्दा बढी नहुने गरी हायर पर्चेज कर्जामा औसत ब्याजदर अन्तर कायम गर्नु पर्ने व्यवस्था गरेको हो । यस्ता प्रकृतिका कम्पनीहरुले खुद सम्पत्तिको १० गुणा भन्दा बढी ऋण तथा सापटी लिन नपाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । यस प्रयोजनको लागि खुद सम्पत्ति भन्नाले चुक्ता पँुजी, स्वतन्त्र कोषहरु र नाफा नोक्सान मौज्दातको कुल रकमलाई बुझाउनेछ उक्त व्यवस्थामा उल्लेख छ ।

कम्पनीले कर्जा प्रवाह गर्दा धितोको मूल्यको अधिकतम ८० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्नु पर्नेछ । त्यसैगरी कम्पनीले एउटै ग्राहक, फर्म, कम्पनी वा समुहलाई प्रदान गर्न सक्ने कर्जाको सीमा अघिल्लो त्रयमासको खुद सम्पत्तिको बढीमा ३० प्रतिशतसम्म कायम गरिएको उक्त व्यवस्थामा उल्लेख छ ।

नयाँ व्यवस्था अनुसार हायर पर्चेज कम्पनीले ग्राहकबाट किस्ता रकम असुल हुन नसकी बक्यौता रहेमा त्यस्तो किस्ता रकम ६ महिना भन्दा बढी अवधिले भाखा नाघेमा बक्यौता किस्ता रकमलाई शंकास्पद कर्जामा वर्गीकरण गरी ५० प्रतिशत नोक्सानी व्यवस्था कायम गर्नुपर्ने उल्लेख छ । त्यसैगरी किस्ता रकम एक वर्ष भन्दा बढी अवधिले भाखा नाघेमा सम्पूर्ण कर्जा रकमलाई खराब वर्गमा वर्गीकरण गरी शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ ।

त्यसैगरी यस्ता कम्पनीले पनि सञ्चित कोष कायम राख्नु पर्नेछ । त्यस्तो सञ्चित कोषमा चुक्ता पुँजीको दोब्बर रकम नभएसम्म प्रत्येक आर्थिक वर्षको खुद मुनाफाबाट कम्तीमा २० प्रतिशत र त्यस पछिका आर्थिक वर्षमा खुद मुनाफाको कम्तीमा १० प्रतिशत रकम थप्दै जानुपर्ने संशोधित व्यवस्थामा उल्लेख छ । यस्तो सञ्चित कोषमा जम्मा भएको रकम राष्ट्र बैंकको स्वीकृति नलिई अन्य शीर्षकमा रकमान्तर गर्न वा खर्च गर्न समेन पाइने छैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।