जापान र अमेरिकाको तुलनामा चीनमा बालबालिका हुर्काउन गाह्रो

0
Shares

चीनमा एक बच्चालाई १८ वर्षसम्म हुर्काउन जापान र अमेरिकामा लाग्ने लागत भन्दा बढी लाग्ने देखिएको छ । चीनमा बाल जन्मदरमा कमी आएपछि नीतिकर्ताहरुले उक्त समस्या सम्बन्धी अनुसन्धान अघि सारेका थिए ।

अनुसन्धानको क्रममा चीनमा बच्चा हुर्काउन सात गुणा खर्च हुने देखिएको छ । जसकारण मानिसहरुले तुलनात्मक रुपमा कम बच्चा जन्माउन सुरु गरेका छन् । बच्चा हुर्काउन लाग्ने खर्च जापान र अमेरिकाको तुलनामा चीनमा धेरै रहेको छ ।

बाल जन्म दरमा कमी आउँदा र ज्येष्ठ नागरीकको सङ्ख्या उल्लेखित रुपमा वृद्धि हुँदा यसले चीनको स्वास्थ तथा सामाजिक सुरक्षा प्रणालीमा समस्या उत्पन्न गर्ने विज्ञहरुको भनाई रहेको छ। देशमा वृद्ध मानिसहरुको सङ्ख्या बढ्दै जाँदा त्यसले कालान्तरमा कार्यशील जनसङ्ख्यामा कमी ल्याउने र विश्वकै दोस्रो ठूलो अर्थतन्त्र मानिएको अर्थतन्त्रमा गम्भीर असर पु¥याउने दाबी विज्ञहरुको रहेको छ ।

चीनमा एक सन्तानको नीति हटाएर तीन सन्तानको प्रावधान अघि सारिएता पनि बाल जन्म दर माथि उक्लिन सकेको छैन । सन् २०२१ को राष्ट्रिय तथ्याङ्क विभागको डाटा अनुसार बाल जन्म दर ७.५२ प्रति १००० रहेको छ । जुन तथ्याङ्क विभागले डाटा संकल्न गर्न लागेपछि कै सबैभन्दा न्यून हो ।

बाल जन्म दर कम हुनुको प्रमुख कारण भने बच्चा हुर्काउन लाग्ने खर्च नै रहेको छ । त्यसैले चीनका केही प्रान्तहरुमा दुई वा तीन वटा बच्चा जन्माउने जोडीहरुलाई सरकारले पैसा दिने व्यवस्था समेत गरेको छ ।

बेजिङ अवस्थित युवा जनसङ्ख्या अनुसन्धान संस्थानले गरेको अध्ययन अनुसार सन् २०१९ सम्ममा एक बच्चालाई १८ वर्ष सम्म हुर्काउन ४ लाख ८५ हजार युवान अर्थात् ७६ हजार ६ सय २९ डलर लाग्ने गरेको छ । जुन त्यो वर्षको जीडिपी पर क्यापिटाको ६.९ गुणा हो । यति मात्र नभई बच्चा हुर्काउन लाग्ने लागत चीनका सहर अनुसार फरक रहेको छ । अरु सहरको तुलनामा बेजिङ र साङगाईमा एउटा बच्चा हुर्काउन ९ लाख ६९ हजार युवान लाग्ने गरेको छ । तथापि सन् २०१५को तथ्याङ्क अनुसार अमेरिकामा एक बच्चा हुर्काउन जीडिपी पर क्यापिटाको ४.११ गुणा रहेको छ भने सन् २०१० को तथ्याङ्क अनुसार जापानमा बच्चा हुर्काउन जीडिपी पर क्यापिटाको ४.२६ गुणा रहेको छ ।

विश्वका १३ देशहरुलाई समेटेर गरिएको अध्ययनमा चीन दक्षिण कोरिया भन्दा पछि रहेर दोस्रो बाल जन्म दर कम हुने देशमा परेको छ । घट्दै गएको जन्म दरले चीनको आर्थिक अवस्थामा गम्भीर असर पु¥याउने चेतावनी युवा संस्थाले दिएको छ । चीनले आफ्नो कुल जीडिपीको ५ प्रतिशत जनसङ्ख्या वृद्धिमा उपयोग गर्नुपर्ने र जुन परिवारले दुई वा दुई भन्दा बढी बालबालिका जन्माउने रहर गर्छन् , ती परिवारलाई प्रोत्साहन गर्न युवाले सुझाव दिएको छ । चीनले शिक्षामा थप अनुदान, बालबालिका हेरचाह केन्द्रको निर्माण, सुत्केरी अवस्थामा श्रीमान श्रीमतीलाई बिदा, आमदानीमा कम कर जस्ता व्यवस्था अघि सारेमा जनसङ्ख्या वृद्धि हुने पनि युवाले बताएको छ ।

चीनको चर्चित सामाजिक सञ्जाल वोएबोमा मानिङ नाम गरेकी एक आमाले लेख्छिन् “अध्ययनमा देखिएको भन्दा धेरै रकम बच्चा हुर्काउनमा खर्च हुने र यस्तो अवस्थामा जुन परिवारले दुई वा दुई भन्दा बढी छोराछोरी जन्माउछन्, उनीहरु मेरो कल्पना भन्दा बाहिर रहेका छन् ।

वोएबो मै वकिल ज्याङ लेख्छिन्, “समाजले महिललाई मात्रै बच्चा जन्माउने र हुर्काउने दायित्व दिनुले, आमा बन्नु थप बोझिलो लाग्ने र खर्च व्यवस्थापन गर्न नसक्दा महिलाहरुले कम बच्चा जन्माउन लागेको छन् । अभिभावकत्व निर्वाह गर्नुमा पिता र माता दुवैकोे समान हिस्सा हुनुपर्ने र यस सम्बन्धी काम अघि बढाउनु आवश्यक छ ।”

नेपालमा पनि २०७८ सालमा गरिएको जनगणना अनुसार जन्म दरमा कमी आएको छ । देशमा ज्येष्ठ नागरीकको सङ्ख्या धेरै र युवा जनसङ्ख्या कम हुँदा के–कस्ता समस्याहरु आउँछन् भन्ने बारेमा अध्ययन हुनु आवश्यक छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।