नेपाली मुद्रा हालसम्मकै कमजोर अवस्थामा, यस्ता छन् फाइदा /बेफाइदा

0
Shares

अमेरिकी डलर भाउ अहिलेसम्मकै महङ्गो बनेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि निर्धारण गरेको अमेरिकी मुद्रा (डलर) को बिक्री दर १२३.४४ रुपैयाँ र खरिद दर १२२.८४ रुपैयाँ रहेको छ । यो अहिले सम्मकै उच्च खरिद बिक्री दर हो ।

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण अमेरिकी डलरको भाउमा बृद्धि भएको हो । कच्चा तेलको मूल्य बढेसँगै अन्र्तराष्ट्रिय बजारमा डलरको माग बढ्ने भएकोले डलरको मूल्य बढ्न गएको राष्ट्र बैंकको भनाई छ ।

रुस र युक्रेन युद्धको असरको कारण भारतीय मुद्रा कमजोर भइरहेको छ। भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुनेगर्छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुँदै गएको हो।

डलर बढ्दा के हुन्छ ? के फाइदा के बेफाइदा ?

डलरको मूल्य वढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा बढ्छ । डलरको भाउ बढेको बेलामा रेमिटेन्स पठाउनेले बढि मूल्य पाउँछन्।
तर, सबै देशमा काम गर्ने कामदारले डलरको मूल्यवृद्धिबाट फाइदा पाउन सक्दैनन् । नेपाली कामदारले स्थानीय मुद्रामा तलब प्राप्त गर्छ र त्यहाँको मुद्रा पनि नेपालको जस्तै डलरसँग अवमूल्यन भएको छ भने कामदारले कुनै लाभ पाउँदैन ।

डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने छ। बस्तु तथा सेवा विक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयसमा समेत सुधार हुने छ। हस्तकला लगायत नेपाली समानका निकासीकर्ताको आम्दानी बढ्छ। तर यतिबोला कोराना भाइरसको त्रासको कारण पर्यटन क्षेत्र प्रभावित भएकाले डलर बढेको लाभ लिन नसक्ने अवस्था छ।

अर्कातर्फ आफ्नो देशको मुद्रा कमजोर हुँदा निर्यात बढाउन सजिलो हुन्छ पहिलेको भन्दा सस्तोमा पाएपछि सामान बढी निर्यात हुने सम्भावना रहन्छ । नेपालको निर्यात आधार अत्यन्तै सानो भएको र माग बढे पनि निर्यात गर्न सक्ने गरी यहाँ पर्याप्त सामान नभएको हुनाले निर्यात बढ्ने सम्भावना छैन।

डलरको मूल्य बढ्दा विदेशी सामान महँगो हुने कारण स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर उत्पादन गर्ने उद्योगलाई फाइदा हुने देखिन्छ । त्यस्ता उद्योगको उत्पादनको मूल्य नबढ्ने हुँदा विदेशीको तुलनामा प्रतिस्पर्धी मूल्य कायम भई बिक्री बढ्न सक्छ । स्वदेशी कच्चा पदार्थ प्रयोग गरी निर्माण हुने सामान निर्यात गर्ने उद्यमीले पनि पहिलेकै लागतमा थप आम्दानी गर्न सक्छन् ।

उपभोग गरिने अधिकांश वस्तु डलरमा भुक्तानी गरेर आयात गरिने हुँदा यहाँ महँगो पर्न जान्छ । जसले गर्दा व्यापारघाटा झन बढेर जान्छ। नेपाली मुद्रासँग भारुको सटही दर १ सय ६० रुपैयाँ यथावत रहेको भए पनि भारुमा सामान आयात गर्दा समेत महँगो पर्ने गर्छ । भारतमा तयार हुने वस्तुको लागि त्यहाँका उद्योगले डलरमा कच्चा पदार्थ आयात गरेका हुन्छन् ।

सरकारले बजेटमा पुँजीगत खर्चको लागि मुख्य स्रोत विदेशी ऋणलाई मानेको हुन्छ । नेपाल राष्ट्र बैंकमा सरकारको नेपाली मुद्रामा खोलिएको खाता हुन्छ । ऋणको किस्ता र ब्याज सरकारले तत्काल डलर किनेर भुक्तानी गर्ने गर्दछ । सरकारले डलर सस्तो भएको समयमा लिएको ऋण तिर्दा बढि भुत्तानी गर्नुपर्ने हुन्छ।

कुनै मुलुकको मुद्रा कमजोर हुँदा त्यहाँ विदेशी लगानी बढ्ने सम्भावना हुन्छ । यस्तै, यहाँ कमाएको मुनाफा अहिले आफ्नो देश फिर्ता लैजाँदा उसलाई घाटा पर्ने भएको हुनाले पुनर्लगानी गर्ने सम्भावना रहन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।