‘काठमाण्डौं अर्गानिक’ ५० जिल्लाका ८ हजार किसानको ‘टेको’

0
Shares

उपभोक्ताहरु सचेत हुँदै गर्दा बजारमा अर्गानिक कृषि उत्पादनको माग दैनिक बढ्न थालेको छ । मानव स्वास्थ्यसँग प्रत्यक्ष रुपमा जोडिएको कारण अर्गानिक तरकारी तथा फलफूलको माग बढेको हो ।

केही वर्ष पहिला सहरियाहरूमा विदेशी खानाको मोह बढ्दो थियो, तर शिक्षा, चेतना र आम्दानीका स्रोतहरु बढ्न थालेपछि अर्गानिक कृषि उत्पादन उपभोग गर्ने मोह बढ्न थालेको छ । यसका साथै व्यवसायिक हिसाबले पनि आर्गनिक व्यवसायले राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय बजारमा समेत प्रशस्त सम्भावनाको ढोका खोलिदिएको छ ।

सहरमा बसेर नेपालमा दुर्गम तथा विभिन्न जिल्लामा उत्पादन भएका स्वादिला तथा गुणस्तरीय खानाको स्वाद लिन पाउँदाको मज्जा नै अर्कै ! त्यसैले पनि आजभोलि कतिपय खाजाघर, होटल, रिसोर्ट, फार्ममा ‘अर्गानिक खानेकुरा’ को प्रयोगलाई विशेष स्थान दिने गरेको पाइन्छ ।

उपभोक्ताको रोजाईमा अग्र्यानिक कृषि उत्पादन रोजाई बढ्न थालेपनि पछिल्लो समयमा यसको व्यवसायिक उत्पादन समेत सुरु हुन थालेका छन् । अर्गानिक उत्पादनलाई व्यवसायिक रुपमा बिक्री वितरण सुरु गरेको ‘काठमाण्डौं अर्गानिक’ ले सहरमा रहेर पनि देशका विभिन्न ५० भन्दा बढी जिल्लामा उत्पादन भएका अर्गानिक खाद्यन्नको स्वाद ग्राहकहरूलाई चखाइरहेको छ । ‘काठमाण्डौं आर्गनिक’ ३७ वर्षीय भुवन केसी र उनकी श्रीमतीले सञ्चालन गरेर किसान तथा उपभोक्तालाई सहज बनाउँदै आएका छन् ।

‘काठमाण्डौं अर्गानिक’ को उदय

भुवन केसीले ‘काठमाण्डौं अर्गानिक भन्दा पहिला टोखामा कृषि फार्म सञ्चालन गर्दै आएका थिए ।

उनले सन् २०१३ बाट २० रोपनी जग्गामा उक्त फार्म सञ्चालन गरेको थिए । तर उक्त कृषि फार्म सञ्चालन गर्दा आफ्नो उत्पादनले बजार नपाउँदा कृषि व्यवसायमा हार समेत खाएका थिए ।

एकचोटी उनले आफ्नो ‘टनेल’ मा गोलभेडा लगाएका थिए । त्यो समयमा अघिल्लो दिन ५० रुपैयाँ किलो गोलभेडा भोलिपल्ट ३० रुपैयाँ २० रुपैयाँ हुँदै प्रतिकेजी १० रुपैयाँसम्म झर्यो । त्यो मूल्यले नाफा त परै जावोस् मेहनत पनि नउठ्ने थियो । “कुहिने डरले भोलि गोलभेँडाको मूल्य बढ्ला कि भनेर राख्न पनि नमिल्ने,” भुवनले भने “राखे पनि मूल्य बढ्ने नबढ्ने निश्चित हुँदैन थियो ।”

किसान आफ्नो उत्पादन भन्दा पनि ग्राहकमा निर्भर रहेको कुरा उनले महसुस गरे । “किसानले उत्पादन गर्दा उसको जति नै लगानी र मेहनत लागोस् तर अन्त्यमा बजारमा बेच्नेले जतिमा किन्छु भन्छन् त्यसमै उत्पादन दिनुपर्छ ।” त्यसपछि यो व्यवसाय गर्न सकिँदैन भन्ने निष्कर्षमा उनी पुगे । तर, फेरि केही गर्न सकिन्छ कि भनेर सधैँ बिक्री गर्ने होलसेल बजार कालिमाटी भन्दा पनि बढी मूल्य पाइने ठाउँमा लैजाने निर्णय गरेको भुवनले गोलभेँडा ५० वटा क्रेटमा राखेर बसमा पोखरा लगायतका ठाउँहरुमा पठाउन थाले । उपत्यका बाहिर पठाउन थालेपनि सधैँभरी त्यो काम पनि सम्भव भएन । भोलि कालिमाटीमा कति मूल्य भन्छन्, कहाँ पठाउने भन्ने टाउको दुखाई सधैँ रह्यो । अझ पठाएको ठाउँमा मूल्य पाइने हो कि नपाइने हो, बढी आयो भनेर फाल्नु पो पर्ने हो, न बिक्री नहुने हो भन्ने तनाब सधैँ हुने उनी बताउँछन् । त्यसपछि उनले आफु मात्र नभई धेरै किसानलाई सहयोग पुग्ने एउटा माध्यमबाट व्यवसाय गर्नबारे सोचे ।

“त्यतिखेर हामीले कसरी धेरै किसानहरुलाई व्यवसायमा लिएर आउन सकिन्छ त भनेर सोच्यौं” केसीले भने “त्यसमा एउटा भनेको धेरै स्टोरहरु ठाउँ ठाउँमा खोल्ने, तर त्यो हाम्रो सानो पूँजीमा सम्भव भएन । रिसर्च गरेर हेर्दा विश्वभरी बढी व्यवसायहरु अनलाइन र इकमर्श तिर गइरहेको देख्यौं ।”

त्यसपछि एकैठाउँमा खोल्ने र सामान घर घरमा पुर्याउने हिसाबले सन् २०१७ मा ५ लाख रुपैयाँ लगानीबाट ‘काठमाण्डौ अर्गानिक’ स्थापना भयो । अहिले यस कम्पनीको कार्यालय चक्रपथ बाँसबारीमा रहेको छ । “स्थापना गर्दा सबैभन्दा बढी जटिल जुम्लाका किसानहरुसँग जोडिएर अर्गानिक सामान ल्याउनुमा थियो,” उनले भने, “सुरुका अवस्थामा यो कम्पनीले कुनै एउटा जिल्लाका चिनजान किसानहरुबाट मात्र अर्गानिक सामाग्री ल्याउने गरेको थियौं ।”

५० भन्दा बढी जिल्लाका ८ हजार किसानको टेको

काठमाण्डौ अर्गानिकले अहिले सहरीयालाई अर्गानिक स्वाद चखाएको मात्र छैन । ५० भन्दा बढी जिल्लाका ८ हजार किसानले उत्पादन गरेको वस्तुलाई बजारसम्म पुर्याएर काठमाण्डौ अर्गानिक किसानको टेको बनेको हो ।

काठमाण्डौं अर्गानिकमा इलामबाट वर्षभरी नौनी घ्यू आउने गरेको छ भने सिजनको समयमा किवी आउने केसीको भनाइ छ । यस्तै धनकुटाबाट एभोकाडो आउँछ भने भने सर्लाही तथा रौतहटबाट सिजनका समयमा आँप आउने गरेको छ । यस्तै अन्य जिल्लाबाट त्यहाँ उत्पादन भएका अर्कानिक वस्तु ल्याउने गरिएको छ ।

यस कम्पनीले विशेष गरेर पहाडी तथा हिमाली भेगका जिल्लाहरुका उत्पादनलाई विशेष जोड दिने गरेको छ । कम्पनीले खाद्यान्न किन्दा कोही किसनाहरुसँग अगाडि नै उत्पादित वस्तु सम्झौता गरेरे किन्ने गरेको र कुनै किसानहरुसँग सिजनल हिसाबले खरिद गर्ने गरेको केसीले बताए ।

अर्गानिक उत्पादनमा समस्या र चुनौति

व्यवसाय अनुसार फरक भएपनि सबैजसो व्यवसायमा आ–आफ्नै किसिमका समस्या र चुनौति हुन्छन् । तर भुवनले व्यवसायमा आइपर्ने र आएका समस्या तथा चुनौतिलाई अवसरका रुपमा लिने गरेका छन् । “चुनौतिको रुपमा हामीले ५० वटा जिल्लाबाट सामान किन्छौं तर अहिलेपनि त्यो सामान राम्रो छ छैन, कसरी उत्पादन भयो भन्ने कुराको ग्यारेन्टी गर्ने प्रणाली छैन । जुन ाँहीै सरकारले गनुपर्ने काम हो,” उनले भने ।

यस्तै उनले नेपालमा कृषि क्षेत्रका लागि ढुवानी खर्च एकदमै बढी भएकाले भारतबाट भन्दा जुम्लाबाट सामान आयात गर्न महंङ्गो पर्ने बताए । सहज रुपमा इन्टरनेट सेवा सर्वसाधरणको पहुँचमा पुगे मात्र इकर्मश व्यवसायलाई थप टेवा पुग्ने उनी बताउँछन् । यस्तै सरकारले अहिलेसम्म इकमर्शका बारेमा चासो नदेखाएको उनको भनाई छ ।

यतिमात्र होइन काठमाण्डौं आर्गनिकले करिब ३ वर्षदेखि केही मात्रामा सामाग्री अमेरिका, अष्ट्रेलिया, यूरोप, दुवईमा पनि निर्यात गर्ने गरेको छ । तर खाद्यान्यमा विभिन्न देशको आ–आफ्नै नियम हुने हुँदा सबैको नियम कानुन अनुसार नमिलाई सामाग्री पठाउन नसकिने उनी बताउँछन् । “नेपालमा सरकारी स्तरबाट सामान कसरी प्रोडक्सन गर्ने, प्रोडक्टलाई कसरी मेन्टेन गर्ने जबसम्म हुँदैन तबसम्म विदेशको स्ट्याण्डर्ड मेन्टेन गर्न सकिँदैन,” उनले भने ।

जागिरे पुष्ठभुमीबाट जन्मिएको व्यापार

नेपालमा सरकारी जागिरलाई सुरक्षित पेसा मान्ने गरिन्छ । नेपाली समाजमा जागिर खायो भने सबैभन्दा उत्तम हुन्छ भन्ने धारणा अझै प्रशस्त भेटिने गर्छन् । तर त्यही जागिरे पृष्ठभुमीबाट जन्मिएका व्यापारी हुन् भुवन केसी । काठमाण्डौं अर्गानिकका सह संस्थापक केसीको हुजुरबुबा र बुबा दुबै सरकारी जागिरे हुन् । उनका हजुरबुबा इन्डियन पुलिस र बुबा नेपाल सरकारको इन्जिनियर हुन् ।

तर तीनै सरकारी पेसाका सन्तती भुवन केसी भने व्यापारमा होमिए । व्यवसायिक पृष्ठभुमी नभएका कारण सुरुको अवस्थामा कसरी गर्ने, कसरी अघि बढ्ने, मानिसहरुसँगको सम्बन्ध विस्तार गर्ने लगायत थुप्रै संघर्ष गर्नुपर्यो । त्यसमा उनलाई परिवारको पनि पूर्ण साथ थियो । भुवनकी श्रीमती पनि काठमाण्डौं अर्गानिकको को फाउन्डर हुन् ।

लगानी र रोजगारी

यो कम्पनी भुवन र उनकी श्रीमतीको सहकार्यमा स्थापना भएको हो । यस कम्पनी ५ लाख रुपैयाँ लगानीमा आज भन्दा करिब ५ वर्ष स्थापना भएको हो । कम्पनीले अहिले सामान्य अवस्थामा मासिक २० लाख रुपैयाँ बराबरको कारोबार गर्दै आएको छ । नेपालीहरुले मनाउने ठूलो चाडपर्व तथा सिजनमा दैनिक एक देखि डेढ लाख रुपैयाँसम्म कारोबार हुने गरेको उनी बताउँछन् ।

यति मात्र होइन यस कम्पनीले ५० भन्दा बढी जिल्लाका ८ हजार जना किसानसँग काम गर्दै आइरहेको छ । कम्पनीको कार्यालयमा १७ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । १७ जना कर्मचारीले मध्ये कोही डेलिभरी, प्याकेजिङ्ग, फिल्ड भिजिट लगायत काम गर्ने गरेका छन् ।

डेलिभरीका लागि कम्पनीको आफ्नै इलेक्ट्रिक स्कुटरहरु रहेका छन् । कम्पनीले कर्मचारीलाई काम गर्ने क्षेत्र अनुसार मासिक १६ हजार रुपैयाँदेखि ३५ हजार रुपैयाँसम्म पारिश्रमिक दिँदै आएको छ ।

डेलिभरी कहाँसम्म हुन्छ ?

काठमाण्डौं आर्गनिकको सेवा काठमाण्डौंमा मात्र सीमित छैन । कम्पनीका ‘को फाउन्डर’ भुवन केसीका अनुसार यो सेवा उपत्यकाका तीनवटै जिल्ला क्रमशः काठमाण्डौं, ललितपुर, भक्तपुर, र उपत्यका बाहिरका एक दर्जन बढी जिल्लाहरु पनि हुने गरेकाे छ ।

धरान, इटहरी, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा, चितवन, पोखरा, बुटवल, भैरहवा, बनेपा, धुलिखेल लगायतका स्थानहरुमा पनि काठमाण्डौं आर्गनिकले डेलीभरी दिने गरेको छ । यी ठाउँहरुमा अर्डर गरेपछि काठमाण्डौंबाट नै सामान डेलिभरी गरेर पठाइन्छ ।

बढ्दो प्रतिस्पर्धा

पछिल्लो समय बजारमा अनलाईन विक्रेताहरुको संख्या बढ्दो छ । त्यसमा पनि सहरी क्षेत्रलाई केन्द्रित गर्दै थुप्रै अर्गानिक उत्पादन बिक्री गर्ने प्रतिस्पर्धी कम्पनी खुलिरहेका छन् । त्यसैले पनि यस व्यवसायमा दैनिक प्रतिस्पर्धा बढ्दै गएको भुवन बताउँछन् ।

प्रतिस्पर्धालाई सकारात्मक रुपमा लिने भन्दै उनी भन्छन्, “नयाँ कम्पनी आउनु राम्रो पनि हो । उपभोक्तालाई पनि अप्सन हुन्छ । अरुले राम्रो गर्यो भने हामीलाई उनीहरु जतिकै राम्रो गर्न मन लाग्छ । हामीलाई हेरेर अरुले पनि राम्रो गर्ने खोजिरहेका हुन्छन्,” भुवनले भने “त्यो हुँदा प्रतिस्पर्धा पनि बढेको छ साथै मार्केट पनि विस्तारै एडभान्स्ड हुँदै गइरहेको छ ।”

केही समयअघि अनलाइन मार्केट के हो, के हो जस्तो हुन्थ्यो । तर अहिले इन्टरनेट पुगेका धेरै ठाउँमा अनलाईन बजारको पनि विस्तार भइरहेको छ । केही वर्षअघि अनलाइनबाट अर्डर गरेको तीन दिनसम्म पनि सामाग्री नपुग्ने स्थितिमा प्रतिस्पर्धाकै कारण अहिले एकैदिनमा डेलिभरी हुन्छ ।

काठमाण्डौं अर्गानिकको फिर्ता गर्ने सेवा

प्रतिस्पर्धा बढ्दै गएपछि व्यवसायीहरुमा कसरी राम्रो सेवा दिने भन्ने हुन्छ । काठमाण्डौं अर्गानिकले पनि सामान मन नपरेको अथवा गुणस्तरहिन भएको अवस्थामा कुहिने र नकुहिने दुईथरी सामाग्री फिर्ता गर्न पाउने व्यवस्था उपलब्ध गराएको छ ।

‘को फाउन्डर’ भुवनका अनुसार तरकारी, फलफुल लगायत कुहिने सामाग्री घरमा लगेको २४ घण्टासम्म चित्त नबुझेको खण्डमा फिर्ता गर्न पाइन्छ । नबिग्रिने तथा नकुहिने सामाग्री एक हप्ताभित्र फिर्ता गर्न पाइन्छ । साथै यो प्रोसेसमा कुनै पनि शुल्क लाग्दैन ।

९० प्रतिशत अर्गानिक सामाग्री नेपाली

काठमाण्डौं अर्गानिकले ९० प्रतिशत नेपालमा विभिन्न जिल्लामा उत्पादन भएका अर्गानिक सामाग्रीको बिक्री वितरण गर्दै आइरहेको छ ।
दश प्रतिशत वस्तु भने नेपालमा उत्पादन नहुने तथा विदेशबाट आयात हुने स्वास्थ्यकर खाद्यान्न रहेका छन् । कम्पनी मार्फत उपभोक्ताले नेपालका विभिन्न जिल्लाका ९०० प्रोडक्ट खरिद गर्न सक्नेछन् ।

अनलाइन डेलीभरी सेवा भएकाले ग्राहकले वेभसाइट, फेसबुक, इन्टाग्राम, गुगल, फोन, ह्वाट्स एप तथा भाइबरबाट पनि अर्डर गर्न सकिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।