रिपोमा माग भन्दा तीन गुणा बढी आवेदन, थोरै ‘रेट अफर’ गर्नेले पनि ७ प्रतिशत

0
Shares

नेपाल राष्ट्र बैंकले निष्कासन गरेको रिपो खरिदका आवेदन दिएका बैंक वित्तीय संस्थाले थोरै अफर गरेको रेट पनि ७ प्रतिशत रहेको छ । बैंकिङ प्रणालीमा तरलता हाहाकार भएको हुनाले सबैले बैंकदर ७ प्रतिशतमा नै अफर गरेका हुन ।

नेपाल राष्ट्र बैंकले बिहीबार १० अर्ब रुपैयाँ बराबरको रिपो निष्कासन गरेको थियो । सो रिपोका लागि १४ बैंक वित्तीय संस्थाले ४३ आवेदन मार्फत ३७ अर्ब १५ करोडको माग गरेका थिए । त्यसमा पनि आवेदकले अफर गरेको रिपो रेट थोरैमा ६.९९०० र धेरैमा पनि ६.९९९० रहेको छ । राष्ट्र बैंकले अधिकतम र न्यूनतम रेटको औसत ६.९९०९ प्रतिशतमा १४ दिनका लागि १० अर्ब रुपैयाँ बरावरको रिपो बिक्री गरेको छ ।

पछिल्लो समयमा बैकिङ प्रणालीमा तरलताको चरम अभाव, कर्जा लगानी योग्य रकम अभाव तथा प्राथमिक पुँजी नपुगेका कारण कर्जा लगानी गर्न नसक्ने लगायतका समस्याहरु देखिएका छन । बैंकहरुले पछिल्ला दिन अन्तर बैंकदर ७ प्रतिशतमा कारोबार गरिरहेका थिए । अन्तर बैंक कारोबारमा सापट दिने भन्दा पनि लिने मात्र संस्था छन् । बैंकहरुले ७ प्रतिशतका दरले अन्तर बैंक सापट नपाएपछि नेपाल राष्ट्रबाट नै विभिन्न मौद्रिक उपकरणहरु प्रयोग गर्दे आएका छन्।

पछिल्ला दिनमा बैंकहरुले नेपाल राष्ट्र बैंकबाट दैनिक ४० देखि ६० अर्बसम्म स्थायी तरलता सुविधा लिने गरेका छन् । बैंकहरुले लिने स्थायी तरलता सुविधा सापट दर पनि ७ प्रतिशत नै छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा मार्फत आर्थिक गतिविधि सुस्त बनाउनका लागि ब्याजदर करिडोरको माथिल्लो सीमा ५ प्रतिशतबाट बढाएर ७ प्रतिशत पु¥याएको छ । त्यसले गर्दा कर्जाको ब्याजदर बढ्ने तथा सर्वसाधारणको दैनिकी महंगो बन्दै गएको छ ।

बैंकहरुमा नयाँ निक्षेप नआउने र दैनिक तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकबाट लिएको सापटबाट नै बैंकहरुले कर्जा लगानी गर्न थालेको बैंकहरुले बताउने गरेका छन् । बैंकहरुले अल्पकालका लागि नेपाल राष्ट्र बैंकबाट लिएको सापटबाट पनि कर्जा लगानी गर्ने क्रम बढेको खण्डमा जोखिम बढ्ने बैंकरहरुको भनाई छ । दैनिक तरलता व्यवस्थापनका लागि प्रयोग गरिने औजारबाट कर्जा लगानी गर्दा आगामी दिनमा झनै समस्या बढ्ने उनीहरुको बुझाइ छ।

नेपाल राष्ट्र बैंकले ब्याजदर बढाएको भएपनि बैंकहरुले कर्जा विस्तारको गतिलाई खासै सुस्त बनाएका छैनन् । बैंकहरुले फागुन महिनाको तेस्रो सातामा मात्र १३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । यो अवधिमा बैंकहरुको औसत कर्जा निक्षेप अनुपात ९० प्रतिशत भन्दा माथि रहेको छ । कर्जा निक्षेप अनुपात नेपाल राष्ट्र बैंक सीमा भन्दा माथि भएपछि बैंकहरुले कर्जा दिने गतिमा सुस्तता अपनाएका छैनन । यसले बैंकिङ प्रणाली कै जोखिम बढाएको देखिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।