अधिकांश बैंकहरू चैतमा निक्षेपको ब्याजदर नबढाउने पक्षमा

0
Shares

बजारमा तरलताको संकट सहज नभए पनि अधिकांश वाणिज्य बैंकहरुले चैत्र महिनाको लागि ब्याजदर नबढाउने पक्षमा रहेका छन् । ब्याज बढाउँदा पनि बैंकहरुमा उल्लेखनीय रुपमा निक्षेप नथपिएकाले बैंकहरु ब्याजदर यथावत राख्ने मुडमा पुगेका हुन् ।

नेपाल बैंकर्स एसोसिएसनले ब्याजदरका सन्दर्भमा आगामी आइतबार निर्णय गर्ने तयारी गरेको छ ।

अहिले एशोसिएसनले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग राय संकलन गरिरहेको रहेको छ । २७ वटै वाणिज्य बैंकका सीइओहरुको राय लिएपछि आइतबार निर्णय हुने बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले जानकारी दिए ।

फागुन महिनाका लागि बैंकहरूले एकवर्षे मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याजदर पुर्याएका थिए । साधारण बचतको ब्याजदर पनि ६.०३ प्रतिशत छ । चैत्रमा पनि यहि ब्याजदर कायम गर्ने मुडमा बैंकहरु रहेका छन् ।

राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले औसत ब्याजदरको तुलनामा बढीमा १० प्रतिशत बिन्दुले ब्याजदर घटाउन वा बढाउन पाउँछन् । सोही निर्देशनअनुसार बैंकहरूले गत कात्तिक र मंसिरमा निक्षेपको ब्याजदर बढाएका थिए । तर पुस र माघमा आपसमा भद्र सहमति गरेर निक्षेपको ब्याजदर स्थीर राखेका बैंकहरुले फागुनमा भने बढाएका थिए ।

एक वाणिज्य बैंकका प्रमुख कार्यकारीका अनुसार प्राय बैंकहरु ब्याजदर नबढाउने पक्षमा रहेका छन् । ‘ब्याजदर बढाउँदा पनि निक्षेप खासै बढ्न सेकेको छैन, त्यसैले ब्याजदर बढाउने सम्भावन न्यून छ, यथावत राख्ने कि घटाउने भन्ने कुरा हो, ब्याजदर घटाउँदा नि राम्रो सन्देश नजाने हुँदा चैत्रका लागि ब्याजदर यथावत नै रहनसक्छ’ ति बैंकरले भने ।

बजारमा तरलताको संकट बढ्दै गएको भए पनि ब्याजदर बढाउँदा पनि निक्षेपमा सुधार नदेखिएकाले अधिकांश बैंकरहरू निक्षेपको ब्याजदर वृद्धि नगर्ने पक्षमा देखिएका हुन् । अहिले बैंकहरुमा निक्षेप नथपिँदा कर्जा प्रवाह पनि ठप्प जस्तै छ । रेमिट्यान्स घट्नेदखि आयात बढ्नेसम्मका कुराले तरलतामा प्रभाव पारेको छ, राष्ट्र बैंकको आयात नियन्त्रण गर्ने नीतिले केहि सुधार भएको पनि एक बैंकरले बताए ।

तर, निक्षेप जुन रुपमा बढ्नुपर्ने हो त्यो हुन सकेको छैन । कर्जा त निक्षेप आए दिने हो नभए कसरी दिने ? अहिले बैंकहरुले राष्ट्र बैंकबाट लिने स्थायी तरलता सुविधाको रकमबाट समेत कर्जा दिने गरेको ति बैंकरले बताए । ‘बैंकहरुले कर्जाका लागि प्रतिबद्धताहरु जनाएका हुन्छन् , नियमित कारोबार गरिरहेकाहरुलाई अप्ठेरो पार्नु पनि भएन नि, त्यसैले एसएलएफको पैसा पनि कर्जाका लागि प्रयोग भएको हुन सक्छ,’ ति बैंकरले भने ।

‘ब्याजदर बढाएर मात्रै समस्या समाधान हुने देखिएन,’ ‘यसले एक–अर्काको निक्षेप खोसिने अवस्था मात्रै आउने भएकाले तरलता व्यवस्थापनका अन्य विकल्प खोज्नुपर्ने बैंकहरुको राय छ । ब्याज बढाएर पनि निक्षेप नबढ्ने देखिएको र यसले कर्जाको आधार दर मात्र बढ्ने भएकाले ऋणीलाई भार पर्ने तर्क केहि बैंकरहरूको छ ।

घट्दो रेमिट्यान्स, सरकारी खर्चमा आएको कमी र बढ्दो कर्जा मागले बैंकहरू तरलता दबाबमा देखिएका हुन् । यसलाई सम्बोधन गर्ने भन्दै राष्ट्र बैंकले केही समय अघिदेखि विलासी वस्तुको आयातमा जाने कर्जामा कडाइ गरेको छ । यसले तरलतामा केहि सुधार आउने अपेक्षा बैंकरहरुको छ ।

बैंकहरूमा तरलता दबाब कायमै रहँदा उनीहरू राष्ट्र बैंकबाट अल्पकालीन स्रोतहरूबाट सापटी लिएर गर्जो टारिरहेका छन् । हालसम्म बैंकहरुले ४५ खर्ब ३४ अर्ब रुपैयाँ बराबरको स्थायी तरलता सुविधा लिएका छन् । बैंकहरूले बिहीबार मात्रै ४१ अर्ब ९० करोड रुपैयाँ यस्तो सापटी लिएका छन् । राष्ट्र बैंकका अनुसार शुक्रबार सम्ममा बैकिङ प्रणालीमा ४८ खर्ब ९० अर्ब निक्षेप रहेको छ भने यस अवधिसम्म ४६ खर्ब ९७ अर्ब कर्जा परिचालन भएको छ । अहिले बैंकहरुको सिडी अनुपात ९०.३८ प्रतिशत छ । तरलता अभाव हुँदा बैंकहरुको अन्तर बैंकदर समेत ७ प्रतिशतकै हाराहारीमा पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।